ब्रिक्सको १३औं सम्मेलन, अध्यक्ष भारतसँग चीनको कुरा मिल्ला ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भर्चुअल माध्यमबाट ब्रिक्स देशहरुको १३औं सम्मेलनको अध्यक्षता गर्ने भएका छन् । सम्मलेनमा ब्राजिल, रुस, चीन, भारत र दक्षिण अफ्रिका (ब्रिक्स देश) सहभागी हुनेछन् । भारतले २०२१ का लागि ब्रिक्सको अध्यक्षता गर्न लागेको हो ।

बैठकमा ब्राजिली राष्ट्रपति जायर बोलसोनारो, रुसका भ्लादिमिर पुटिन, चीनका सी चिनफिङ  दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसा उपस्थित हुनेछन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, न्यु डेभलपमेन्ट बैंकका अध्यक्ष माकरस ट्रायजो, ब्रिक्स बिजनेस काउन्सिलका अध्यक्ष ओमकार कुँवर र ब्रिक्स विमेन्स बिजनेस अलायन्सकी अध्यक्ष डा. संगीता रेड्डी पनि राष्ट्रप्रमुखहरुसामु आ–आफ्ना भूमिकामा सहभागी हुनेछन् । उनीहरुले वर्षभरिमा गरेका कामकारवाहीको बेहोरा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

भारतले ब्रिक्सको अध्यक्षता गर्न लागेको यो तेस्रो पटक हो । यसअघि २०१२ र २०१६ मा भारत अध्यक्ष भइसकेको छ । कोरोना महामारीका बीच २०२० मा ब्रिक्स सम्मेलन रुसको अध्यक्षतामा आयोजना गरिएको थियो ।

यस पटकको शिखर सम्मेलनको विषय ‘अन्तरब्रिक्स निरन्तरता, एकजुटता र सहमतिका लागि सहयोग’ भन्ने रहेको छ । अध्यक्षको नाताले भारतले आफ्नो कार्यकालको चार प्रमुख प्राथमिक क्षेत्रको खाका तयार पारेको छ । यसमा ‘बहुस्तरीय प्रणाली, आतंकवादविरुद्ध संघर्ष, सतत विकास लक्ष्य प्राप्तिका लागि डिजिटल र प्रौद्योगिकीय उपायहरुको उपयोग तथा नागरिकहरुबीच मेलमिलाप बढाउनु’ रहेका छन् ।

यसका साथै, कोरोना महामारीको दुष्प्रभाव तथा मौजुदा विश्व र क्षेत्रीय मुद्दामा पनि विचार आदान–प्रदान हुने छ । प्रधानमन्त्री मोदीले दोस्रो पटक ब्रिक्सको अध्यक्षता गर्न लागेका हुन् । यसअघि २०१६ मा गोवा शिखर सम्मेलनको अध्यक्षता गरेका थिए ।
भारतले अध्यक्षता गर्न लागेको यो वर्ष ब्रिक्स स्थापनाको १५औं वर्ष पनि मनाइने छ । शिखर सम्मेलन विषयवस्तुमै परिलक्षित हुने अपेक्षा गरिएको छ ।

यस पटकको मूल मुद्दा



यो समय सारा विश्व नै आतंकवादबाट पीडित छ । संसारभर भइरहेका र हुन लागेका कतिपय सम्मेलन यसै विषयमा केन्द्रित हुँदै आएका छन् । ब्रिक्सले पनि यो पटक विशेष गरी अफगानिस्तानमाथि तालिबानी कब्जाका कारण बदलिएको परिस्थितिबारे बृहत् चर्चा गर्ने भारतको विदेश मन्त्रालयले बताएको छ ।

उसो त ब्रिक्सका सदस्य भारत र चीनबीच पनि सम्बन्ध सुमधुर छैन । भारतले चीनमा बनेका कतिपय एपका साथै अन्य सामानमा प्रतिबन्ध लगाएको छ । ब्रिक्समा यी दुई मुलुकबीच जारी विवादबारे पनि कुराकानी हुन सक्ने बताइएको छ ।
 



  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १५:४०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया