अन्तर्वार्ता
कसैले कविता यसरी लेख्ने भन्ने नियम भएको किताब दिए धन्य हुने थिएँः नवराज पराजुली
तस्वीरहरु: नवराज पराजुलीकाे फेसबुकबाट ।

 

पहिले स्ल्याम पोएट्रीबाट युवा पुस्ताबीच चिनिएका नवराज पराजुली पछि कविता संग्रह ‘सगरमाथाको गहिराइ’ले पद्मश्री पुरस्कार पाएपछि वृहतरुपमा कविका रुपमा चिनिए । अझै पनि नवराजको लेखनलाई कविता नमान्ने धेरै छन्, उनका रचनालाई भावुकताको पराकाष्ठा मान्नेहरु पनि धेरै छन् । कतिले नवराजको लेखन पढ्दा केही नहुने तर उनको पर्फमेन्स हेर्दा गज्जब लाग्ने प्रतिक्रिया पनि दिन्छन् । प्रतिक्रिया जे भए पनि नवराज लेखनमा रमाइरहेका छन् । तिनै नवराजसँग फरक धारका कमल विष्टले केही अघि भेटेर लामो कुराकानी गरेका थिए । त्यो कुराकानीको सम्पादित अंशः


तपाईंले हात हल्लाइहल्लाइ, अनुहारको भावभङ्गीमा बिगारेर केही वाचन गरिरहेका भिडियो फेसबुक, युट्युबमा प्रशंसित छन् । अर्कोतिर तपाईंको कविता सङ्ग्रहले राम्रो पुरस्कार पनि पायो । तपाईंलाई के लाग्छ, तपाईंका कविता पढेर तपाईंका प्रशंसक बढेका छन् या भिडियो हेरेर मात्र तपाईंले प्रशंसक पाइरहनु भएको छ ?

मेरो कवितालाई मन पराउनेहरु पुस्तक पढेर आएका हुन् या मेरो भिडियो हेरेर भएका हुन् भन्ने कुरालाई म ठ्याक्कै उत्तर दिन सक्दिनँ । तर, साँचो चाहिँ के हो भने मेरो कविता संग्रह ‘सगरमाथाको गहिराइ’ जति अरु कविता संग्रह सायदै बिकेको होलान् । पहिलो संस्करणमा पाँच हजारभन्दा धेरै प्रति छापिएको मेरो संग्रहको दोस्रो संस्मरण बजारमा गएको छ । यसरी धेरै संख्यामा बिक्री भएको कविता संग्रहको लेखक हुँ भन्दा चाहिँ मलाई गर्व हुन्छ । 

फेरि के पनि सत्य हो भने कतिपय मानिसहरु मेरो भिडियो हेरेर पुस्तकसम्म पुगेका छन् । अर्को कुरा, भिडियोको माध्यमले गर्दा पनि मेरा कविता छोटो समयमा धेरै मानिसहरुसम्म पुग्न सफल भयो ।

पढेर होस् या हेरेर, पाठकहरु त मेरै पुस्तकमा त पुगेका होलान् । मलाई के गर्व लाग्छ भने मैले वाचन गरेको ह्याप्पी बर्थ डे भन्ने भिडियो फेसबुबमा ६० लाखभन्दा बढी हेरिएको छ । याे पनि त कविताका लागि राम्रै भयाे नि !



मेरो कविता संग्रहका ३६ कविताका ११ मात्र भिडियो फर्ममा बाहिर आएका छन् । तर, ती भिडियोबाहेकका कवितामा पनि मैले प्रशंसा पाएको छु, प्रतिक्रिया पाएको छु । त्यसैले मलाई लाग्छ, मेरे पुस्तक आफैं पनि पाठकहरुसम्म पुगेको छ, सबै पाठकसम्म पुग्न भिडियोको सहारामात्र लिनु परेको छैन ।

 



तपाईं आफ्नो कविताको भिडियो यतिपटक हेरियो भनेर गर्व गर्दै हुनुहुन्छ । खासमा पर्फमेन्सले प्रशंसक नजिक्याउनु एउटा अभिनेताका लागि राम्रो त पक्कै हो, कविका लागि चाहिँ कति राम्रो रहेछ ?

यसलाई दुई तीन तरिकाबाट हेर्न सकिन्छ । मलाई कविता औषधी हो भन्ने लाग्छ । औषधी शरीरमा जसरी पुगे पनि हुन्छ । हामी बच्चालाई औषधी खुवाउँदा कहिले दुधमा मिसाएर दिन्छौँ, कहिले महमा, कहिले पानीमा मात्र । जसरी दिए पनि त्यसले काम गर्नुपर्छ भन्ने हो । मलाई कविता पनि त्यस्तै लाग्छ । जसरी लिए पनि हुन्छ, सुनेर वा पढेर । कसरी कवितासम्म पाठक पुगे भन्ने कुरा महत्वपूर्ण होइन, कविता पाठकसम्म पुग्यो भने हुन्छ ।

अनि हानी नगर्ने कुनै पनि कुरा जसरी पुगे पनि भयो नि । त्यसले हानी नगरे भयो । मैले पनि कविता भिडियोमा पर्फम गरेर कसैलाई शारीरिक वा मानसिक हानी गरेको छु जस्तो लाग्दैन । 

अर्काे कुरा पहिले हामीसँग मिडियाको पहुँच राम्रो थिएन, पहुँच हुन थाल्दा पनि त्यो निकै महङ्गो थियो । युट्युबजस्ता प्लेटफर्म थिएनन्, कविता गाइए पनि भिडियोमा कैद गर्न सकिन्छ, कविता कन्सर्ट गर्न सकिन्छ भन्ने सोच थिएन । अब आज यो सहज भएको छ, धेरैले यसलाई फलो गर्न थालेका पनि छन् । नेपालमा कविता वाचन गर्ने पहिलो व्यक्ति म होइन नि । त्यसमाथि कविता लेख्नु र कविता वाचन गर्नु परस्पर कुरा हुन् । मैले नयाँ विकासलाई प्रयोग गरेँ, सामाजिक सन्जाल प्रयोग गरेँ । अनि म धेरै मानिससम्म पुगेँ । यसलाई नराम्रो मान्नुको म कुनै अर्थ देख्दिनँ ।

अनि नेपाली कविताको इतिहास हेर्ने हो भने धेरै कविहरुले वाचन शैली मीठो भएर नै प्रख्याती कमाएका पनि छन् । उदाहरणमा भूपी शेरचनलाई नै लिन सकिन्छ । उनको वाचन शैली पनि त्यत्तिकै सशक्त थियो जति उनका कविता छन् । 

हो, तर हामी अहिले कविता गाउन पनि सकिन्छ भन्ने बुझाइमा छैनौँ । यस्तो किन भने कला क्षेत्रमा आएका नयाँनयाँ आयामहरुलाई हामीले स्वीकार गरिसकेका छैनौँ । कविता सुन्दर चिज हो, सुन्दर चिज जसरी जहाँ पुग्दा पनि हुन्छ । 

मेरै हकमा भन्नुपर्दा पनि मलाई पर्फमेन्सले धेरै फाइदा पुर्याएको छ । मैले विभिन्न देश गएर वाचन गर्ने मौका पाएँ, त्यो मेरो कविता पढ्ने शैलीका कारण नै हो । मलाई जहाँ बोलाइयो सबै ठाउँमा कविता पर्फम गर्न बोलाइएको हो, वाचन गर्न होइन । वाचन गरेपनि, पर्फम गरे पनि मैले सुनाउने भनेको कविता नै त हो । त्यसैले जे गरे पनि जसो गरे पनि अडियन्समा कविता पुगेको छ । फेरि मैले पर्फम गरेर कवितालाई विष बनाएको पनि त छैन ।

 

कविता पर्फम गर्नु विष नहुनु हो भन्नुहुन्छ । तर, कविताका गहन पाठक भन्छन्– स्ल्यामवालाहरुले कवितालाई कुरुप बनाए । तपाईंले त स्ल्यामबाटै कवितामा इन्ट्री मार्नुभयो । स्ल्यामवालाहरुलाई कवि नै नठान्नेहरु देख्दा बहुत् रिस उठ्दो हो है ?

मैले सन् २०१४ मा स्ल्याम पोयटका रुपमा उपाधि जितेँ । तर, म स्ल्याम पोयट होइन । कविता र स्ल्यामबीच धेरै फरक छ । मान्छेहरुले आफ्नो कुरा अझ सशक्तरुपमा भन्न सकुन् भनेर स्ल्यामको प्रयोग अमेरिकाबाट सुरु भयो । तर, म त्यसबाट प्रभावित भएर कवितामा आएको होइन । 

हाम्रै पौराणिक समयलाई हेर्दा हामीले भागवत गीता कृष्णले अर्जुनलाई वाचन गरेर सुनाएको, बुद्धले आफ्ना चेलाहरुलाई वाचन गेरेर नै धेरै कुरा सुनाएका हुन् । यही कुरा पुस्तापुस्ताबीच ट्रान्सफर हुँदै आएको छ । पूर्वीय सभ्यतामा कवितालाई वाचन गरेर सुनाउने चलन निकै अघिदेखि सुरु भएको थियो । त्यसैले कविता वाचन गर्नु पनि कुनै नौलो कुरा रहेन ।

अब कुरा आउँछ, ‘गहन’ केलाई भन्ने । मलाई त यो प्रश्नमाथि नै प्रश्न गर्न मन लाग्छ । के कवितामा गह्रौं शब्द, क्लिष्ट र दुरुह शब्द राखे त्यो कविता गहन हुन्छ ? 

मेरो मान्यतामा त कविताले गहन कुरालाई सरल भाषामा अभिव्यक्त गर्न सक्नुपर्छ । 

अब स्ल्यामवालाहरुले कवितालाई कुरुप बनाए भन्ने कुरामा जाऔँ । यो आरोप लगाउँदालगाउँदै पाठकहरु स्ल्यामवालाहरुले कविता सुन्दर बनाएको किन भुल्छन् ? उनीहरुले  नयाँ रुप दिएर कवितालाई नै यो उचाइमा पुराइदिएका हुन् । 

 

तपाईंका अधिकांश कवितामा दुःखका कुरा छन्, गुनासो छन् र भावनात्मक एट्याचमेन्टका कुरा छन् । तर, विचारमा ती कविता कमजोर छन् । दुःखका कुरा, गुनासा र भावनाका कुरा त नेपाली लोकगीत, तिज गीतहरुमा पनि आइरहेका थिए । त्यही कुरा उठाउन फेरि किन कविता लेख्नु पर्यो ?

जब यो संसारमा धेरै दुःख छ, मेरो कवितामा दुःखका कुरा धेरै हुने भइहाल्यो । हाम्रो समाजमा पनि धेरै दुःख छ, रोगले ग्रसित छ हाम्रो समाज । त्यसैले मेरो कवितामा पनि दुःख छ । तर, मेरा सबै कवितामा दुःख मात्र छैन, राजनीति, रोमान्सका कविता पनि मैले लेखेको छु ।

यो कुरामा मेरो ठूलो विमति छ कि एउटा विधाले मान्छेको संवेदना, दुःख, पीडा, गुनासोलाई अभिव्यक्त गरेर सक्छ । सबैभन्दा पहिलो कुरा के भने लोकगीतले रोनाधोनाका कुरा मात्र गरेको हुँदैन । तिजका गीतमा पनि म वेदनाका कुरा मात्र देख्दिनँ । 

अर्को कुरा हाम्रो समाजले विचारलाई फरक तरिकाले बुझ्छ । मैले कवितामा ‘ए राज्य’ लेखेँ भने त्यसलाई मान्छेहरु विचार लेख्यो भन्छन् । कहिलेकांही त विचार केलाई मानिन्छ भन्ने पनि मलाई थाहा हुँदैन । तर, म के कुरामा ढुक्क छु भने एउटै विधाले सबै कुरालाई समेट्न सक्दैन । 

कविता मात्र होइन, कुनै पनि विधाले सबै कुरालाई समेट्न सक्दैन । त्यसैले अर्को एउटा विधामा आएको कुरा अर्को विधामा आउनु हुँदैन भन्ने मलाई लाग्दैन ।

अझ महत्वपूर्ण कुरा के हो भने मलाई कवितामा के लेख्ने के नलेख्ने भन्ने थाहा नै छैन, हुँदैन । ‘सेल्फी’ कविता लेख्दा मधेशको मुद्दामा कविता लेख्दै छु भन्ने मलाई थाहा थिएन । म त मसँग भएको इन्सिपेरेसन र इनर्जीलाई म लेख्छु, अनि कविताको जन्म हुन्छ ।

 

भनिन्छ, कविताका प्रत्येक वाक्य, प्रत्येक शब्दमा दर्शन अडेको हुन्छ । के तपाईंलाई आफ्ना कविताका प्रत्येक शब्द वा वाक्य त्यत्ति नै शक्तिशाली छन् जस्तो लाग्छ ? कि एउटा लामो कथालाई बीचबीचमा भाँचेर कविता बनाएको छु, नेपाली पाठकले पत्याएकै छन् जस्तो लाग्छ ?

मैले जीवनमा धेरै कुराहरु बुझ्न सकेको छैन । तीमध्ये कवितामा दर्शन हुन्छ भन्ने पनि बुझ्न सकेको छैन । अझ कविता लेख्दै गर्दा त म यो कुरा फिटिक्कै जान्दिनँ । कविता लेख्दा कुन शब्द कति बेला हाल्ने, कुन शब्दको प्रयोग गर्ने जस्ता कुरा पनि म बुझ्दिनँ । मलाई धेरै शब्दहरुको प्रयोग गर्न आउँदैन । मेरालागि एउटा कविता लेख्नु भनेको समग्र कविता लेख्नु मात्र हो, कथालाई भाँचेर टुक्राटुक्रामा लेख्नु होइन । 

फेरि मैले बारम्बार भनिरहेको छु, ‘मेरा कविता मैले लेखेका होइनन्, मद्वारा लेखाइएका हुन् ।’

 

हामी लेखनाथ पौड्यालका कविता पढेर हुर्कियौँ, रिमालका कविताबाट सपना देख्न थाल्यौँ, वैरागी काइँलाहरुले हामीलाई कवितामा मात्न सिकाए, भूपीहरुले साँच्चिकैका कवितालाई जिब्रोमा राखिदिए । श्यामल, विमल निभा, भुवन ढुंगानाहरुले कवितालाई अझ सुक्ष्म तरिकाबाट बुझाए । श्रवण मुकारु«ङ, मनु मञ्जिल, भुपिन, सरिता तिवारीहरुले कवितामा प्राण भरिरहेका छन् भनिन्छ । अब कुरो तपाईंमा मोडौँ, तपाईंलाई लाग्छ, नेपाली कवितामा तपाईंले त्यति नै न्याय गर्न सक्नु भएको छ जुन परम्परालाई नेपाली कविताले पछ्याउँदै आएको थियो, कि तपाईंका कविता अनावश्यक लहडका उपज हुन् ? यस्तो प्रश्न किन पनि भने तपाईं आफैंले बारम्बार भन्नुभएको छ– मैले कविता लेख्न जानेको छैन !

मलाई लाग्छ म यो प्रश्नको उत्तर दिने अन्तिम मान्छे हुनुपर्छ । किनकि एउटा कवितालाई कविले कति न्याया गर्यो भने कविले होइन, पाठकले उत्तर दिनुपर्छ ।

म कवितामा आएको ५ वर्ष भयो । मेरो एउटा मात्र पुस्तक प्रकाशित छ, जसमा ३६ कविता छन् । त्यसैले पनि मैले कवितालाई न्याय गरेँ वा गरिनँ भन्ने उत्तर दिन म असमर्थ छु ।

योसँगसँगै हामीले बिर्सन चाहिँ के हुँदैन भने कविता लेख्ने सबैको आआफ्नै फ्लेभर हुन्छ । त्यो फ्लेभर आज नबुझेर धेरै पछि त्यसको प्रभाव थाहा हुनसक्छ । किनकि ६ सय वर्षअगाडि रुमीले लेखेका कविता अहिले हामी खोजीखोजी पढिरहेका छौँ । 

मैले आज सम्म देशभित्र र बाहिर ३३ वटा कन्सर्ट गर्न पाएको छु । ती कार्यक्रमपछि मैले जेजस्तो प्रतिक्रिया पाएको छु, त्यसले मेरो कविताले पनि प्रभाव पारेको छ भनेर बुझेको छु, देखेको छु । त्यसैले मेरा कविताले पनि प्रभाव पारेका छन् जस्तो कहिलेकांही लाग्छ । तर, यही कुराबाट मैले कवितालाई न्याय गर्न सकेँ वा सकिनँ भन्न सक्दिनँ । मेरा अग्रजहरुले गरेकोजस्तो न्याय मैले गरेँ वा गरिनँ पनि भन्न सक्दिनँ ।

फेरि मलाई कवितालाई न्याय गर्न के गर्नुपर्छ, कवितामाथि अन्याय भनेको के हो भन्ने पनि थाहा छैन । म के कुरामा चाहिँ ढुक्क छु भने मेरा कविताले कसैलाई पनि हानी गरेको छैन, कसैमा कुविचार उत्पन्न गराएको छैन । 

मैले कविता वाचन गर्दा मान्छेहरु दर्शकदीर्घामा रोएको पनि मैले देखेको छु । मलाई लाग्दैन ती मानिसहरु मेरो कविता सुन्दा तनाव भएर रोएका हुन् । मेरो कविताले उनीहरुलाई छोयो होला, अनि रोए । मेरो कविताले कसैलाई छोएर रुनु फरक कुरा हो, तर मलाई मेरा कविताले अरु कुनै प्रकारका हानी गरेको छ जस्तो लाग्दैन ।

मलाई केही मान्छेहरुले कविताको ज्ञान नै नभएको मान्छे भनेका पनि छन्, म आफैंले सुनेको पनि छु । यो सत्य हो, मलाई कविताको ज्ञान छैन । मलाई त आफूले जानेको सबैभन्दा सुन्दर कुरा भन्न पाए पुग्छ, त्यही भनिरहेको छु । त्यसका लागि मलाई कविताको कुनै नियम थाहा छैन, त्यसमा मेरो कविताको कुनै दायरा पनि छैन । फेरि मैले कविता लेख्न सिकाउने नियमहरु भएका कुनै पुस्तक पनि त भेटेको छैन । कविता यसरी लेख्ने भन्ने नियम भएको पुस्तक कसैले मलाई दिए म धन्य हुने थिएँ ।


तपाईंको कविता सङ्ग्रह ‘सगरमाथाको गहिराइ’ले प्रतिष्ठित मानिने पद्मश्री पुरस्कार पायो । पुस्तक छापिनुअघि झन् पुरस्कार पाउनुअघि तपाईं आफूलाई कति कवि हुँ भन्ने सोच्नुहुन्थ्यो, कति पर्फमर हुँ भन्ने लाग्थ्यो ? किन ?

मेरो पुस्तक आउनु, पुस्तकले पद्मश्री पुरस्कार पाउनु, मेरा कविता पत्रिकामा छापिनु, म पर्फमर वा कवि हुनुसँग केही पनि लेनादेना छैन । यी कतैबाट पनि एकअर्कासँग रिलेटेड कुरा होइनन्, कतै ठोकिँदैनन् ।

पुरस्कार पाउनुअघि पनि म कविता लेख्थेँ, अहिले पनि लेख्छु । पुरस्कार पाउनुअघि पनि पर्फम गर्थेँ, अहिले पनि गर्छु । मेरो व्यक्तित्व र मेरा कामसँग पुरस्कारको कुनै लेनादेना छैन ।

तर, के चाहिँ सत्य हो भने मैले पर्फम गर्न थालेको ३ वर्ष भयो भने लेख्न थालेको ५ वर्ष । म पर्फम गर्नुभन्दा पहिले नै लेख्थेँ । जब पर्फम गर्न थालेँ, त्यसपछि त नलेखि भएन, पर्फम गर्नका लागि मात्रै भए पनि लेख्न पर्यो । जे होस्, आफूले लेखेको कुरा वाचन गर्दा म छुट्टै अनुभूत गर्छु । यस्तो किन पनि होला भने मलाई शब्द र स्टेज दुवैसँग उत्तिकै प्रेम छ । त्यसैले हुनुपर्छ, मलाई केही कुरा लेख्दा वा पढ्दा त्यो कुरालाई अभिनय गर्न सक्छु वा पर्फम पनि गर्न सक्छु कि सक्दिनँ भन्ने चेतले काम गरेको हुन्छ । 

मलाई माइक समाएर उभिन अत्यन्त धेरै मन पर्छ । कति भने त्यो मन म कवितामा व्यक्त गर्न सक्दिनँ । जब म पर्फम गर्छु र अडियन्ससँग ‘आइ कन्ट्याक्ट’ हुँदा जुन भाइब उत्पन्न हुन्छ, त्यो मलाई साह्रै मिठो लाग्छ । यही आनन्द प्राप्त गर्न म पर्फम गर्छु । पर्फम गर्दा समय बितेको मलाई पत्तो नै हुँदैन ।

आज म एउटा कुरा निसंकोच भन्न सक्छु– पर्फमर नभएर म एउटा लेखक मात्रै भएको भए यो उचाइ पाउने थिइनँ, जुन अहिले छोटो समयमा नै पाएको छु । 

नवराज पराजुलीलाई साहित्यका अन्य विधामा पाठकहरुले पाउलान् कि नपाउलान् ? के तपाईंलाई लाग्छ, तपाईंले पर्फम गरेका कारण कविता मन पराएका मानिसहरुले तपाईंका अन्य रचना, जुन पर्फम गरेर अडियन्ससम्म पुर्याउन सकिँदैन, पढ्लान् ? 

यो प्रश्नमा मेरो धारणा फरक छ । मलाई ‘असम्भव’ भन्ने शब्द एकदमै मन पर्छ । मलाई यो शब्दसँग एकदमै लगाव छ । चुनौतिसँग लड्न मलाई निकै रमाइलो लाग्छ । अनि लाग्छ– जीवनमा असम्भव भन्ने केही छैन ।

३ वर्षअघिसम्म कविता वाचन पनि हुन्छ, कविता कन्सर्ट पनि हुन्छ, कविता कन्सर्टका लागि देश विदेशबाट पनि निम्तो आउला भन्ने मलाई असम्भवप्रायः लाग्थ्यो । तर, आज यी सबै कुरा सम्भव भएका छन् । मैले आफ्ना साथीहरुलाई म कुनै दिन कविता कन्सर्ट गर्छु भनेर भन्दा उनीहरु मलाई जोक गर्ने पनि सीमा हुन्छ नि यार भनेर उडाउँथे । तर, आज यो सम्भव भएको छ । आजसम्म नभएका कुरा भोलि हुँदैन भन्ने हुँदैन । झन् कला क्षेत्रमा त सबै कुरा सम्भव हुन्छन् ।

अर्काे कुरा, साहित्यमा कविता बाहेक अन्य विधामाथि पर्फम गर्न सकिँदैन भन्ने होइन । उदाहरण नै लिन सकिन्छ, केही दिनअघि मात्र मैले रमेश सायनको अठार सय शब्दको निबनध वाचन गरेँ, पर्फम गरेँ । त्यसअघि निबन्ध पर्फम हुँदैन भन्ने थियो । अब मान्छेहरु ‘ए निबन्ध पनि पर्फम हुँदो रहेछ’ भन्न थालेका छन् । मसँग त आख्यान पनि कसरी पर्फम गर्ने भन्ने आइडिया छ । 

मैले अहिलेसम्म कविता, नाटक, निबन्धमा कम गरिसकेको छु । यी बाहेक अन्य विधामा आउँदिन भन्न सक्दिनँ । मलाई फिल्ममा पनि धेरै रुचि छ । कुनै दिन म फिल्म मेकरका रुपमा पनि देखिन सक्छु ।

  • प्रकाशित मिति : असोज २७, २०७५ शनिबार १०:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया