कालिञ्चोक गाई फार्मका प्रमुख खड्काले उपसेनानीलाई अध्यक्ष बनाएर २० लाख लिएपछि...

कालिञ्चोक काउफार्म एन्ड रिसर्च सेन्टरका प्रमुख रामकुमार खड्काले स्थानीय विष्णु तामाङसँग २० लाख रुपैँया लिएर १० वर्ष बित्न लाग्दा पनि फिर्ता नगरेको पाइएको छ । 

खड्काले नेपाली सेनाको मानार्थ उपसेनानी समेत रहेका तामाङसँग कामदारलाई दिन भन्दै २० लाख रुपैयाँ २०६७ असोज महिनामा सापटी लिएका थिए । तीन महिनामा फिर्ता गर्छु भनेका खड्काले १० वर्ष बित्दा पनि उक्त रकम तामाङलाई फिर्ता गरेका छैनन् । 

‘म नेपाली सेनाको अवकासप्राप्त उपसेनानी हुँ । गाउँमा नै बस्छु । खासमा मलाई खड्का सरले तीन महिनामा पैसा फिर्ता गर्छु भनेपछि २०६७ असोजमा २० लाख रुपैँया दिएँ,’उनले फरकधारसँग भने,‘तर, अहिलेसम्म न साँवा पाए न व्याज । दिन्छु भनेको १० वर्ष बित्न लाग्यो ।’ 
  
फार्मका प्रमुख खड्काले उल्टै लप्टन तामाङलाई गाई फार्म सञ्चालक समितिका अध्यक्ष बनाई दिएर पैसा तिर्न आनाकानी गरिरहेको तथ्य खुल्न आएको छ ।  

‘म सिधा कुरा मात्रै बुझ्छु । मलाई अध्यक्ष बनाइ दिने प्रस्ताव गरियो । मैले भइहाल्छ भने । अहिले सञ्चालक समितिको अध्यक्ष पद बोक्नु न टोक्नु भएको छ’, उनले फरकधारसँग भने,‘म एक हिसावले फँसेको छु । आफ्नै ५ रोपनी जग्गा फँसेको छ । त्यो माथि २० लाख रुपैयाँ । आश गर्दा गर्दै १० वर्ष हुनलाग्यो ।’  

गाई फार्मका बारे उनलाई खासै जानकारी छैन । उनल काम पनि गरेका छैनन् । उनले थप, ‘मैरै नेतृत्वमा गाउँका दाजुभाइले जग्गाको मन्जुरी नाम दिएका हुन् ।’ अहिले आफैलाई खड्काले अफ्ठेरोमा पारेको उनको आरोप छ ।  

गाई फार्म सञ्चालक समितिको अध्यक्ष बनाएकै कराण अहिलेसम्म पैसा नदिएको हुन सक्ने उनको अनुमान छ । यस विषयमा धेरै पटक कुरा भएपनि अहिलेसम्म कुनै रकम नपाएको उनको भनाई छ ।  



तामाङसँग लिएको २० लाख रुपैयाँको विषयमा खड्का खासै खुल्न चाहेनन् । ‘यो अच्चमको कुरो आयो । मैले कहाँबाट लिनु,’ उनले भने,‘उहाँ फार्मभित्रको मान्छे हो । यो गाउँले कुरा हो । हावाको भरमा भन्न मिल्दैन ।’

भीमेश्वर नगरपालिका–८ भित्र गाई फार्म छ । वडा अध्यक्ष नकुल केसीले आफ्नो वडामा भएको गाई फार्म स्थापना भएको एक दशक नाघेपनि भूकम्प, कोरोना जस्ता विपत्तिले प्रभावित पारेको बताए ।  



‘खासमा चीनबाट गाई ल्याउने योजना सुनाएका थिए । सम्भवत असोज कार्तिकमा हुन्छ होला,’वडा अध्यक्ष केसीले फरकधारसँग भने,‘फार्मका लागि  क–कस्ले कति जग्गा दियो थाहा भएन । सम्बन्धित निकायले हामीलाई डाटा पनि दिएको छैन ।’

रिर्सच सेन्टर भएकाले अहिले केही संख्यामा बाख्रा पालिको छ । वरपर अलि अलि घाँस लगाइएको वडा अध्यक्षले जानकारी दिए । 

अहिलेसम्म स्थानीयले दिएको जग्गाको कुनै पनि सेवा सुविधा र सेयरको प्रमाण पत्र समेत नपाएको गुनासो रहेको छ । तर वडा अध्यक्ष केसीले भने जग्गा बिक्री गरेर स्थानीयले पैसा लिएको दावी गरे । यी भनाइका कारण पनि गाई फार्म सञ्चालकसँग वडा अध्यक्ष केसीको मिलेमतो रहेको शंकास्थानीयले गरेका छन् । 

अर्का स्थानीय तथा नेपाली सेनामा कार्यरत यादव तामाङले गाउँलेले रोजगार र पैसा पाउने आसमा जग्गा दिएको बताए । भीमेश्वर नगरपालिका–८ को यार्साका स्थानीयले बुझेरै जग्गा नदिएको यादवको भनाइ छ ।  

‘गाई फार्मको नाममा झुक्याएर जग्गा लिएको हो । शेयर पनि पाउने, जागिर पनि पाउने, पैसा पनि पाउने भएपछि स्थानीय फँसेका हुन्,’ यादवले फरकधारसँग कुराकानी गर्दै भने,‘जहाँ जगंल थियो । अथाह ठूल्ठूला सल्लाको रुख थियो । त्यो सल्लाको रुख गाई गोठ मात्रै बनाएर सकिएको छैन । त्यो काठ तस्करी भएको छ ।’ 

स्थानीय जनप्रतिनिधि, जिल्ला तहका नेता र वन कार्यालय प्रमुखहरुको समेत मिलेमतोमा सामुदायिक वन फडाँनी गरिएको उनको आरोप छ । 

आफ्नो गाउँको विकासको लागि स्थानीयले जग्गा दिन सहमत भएका थिए । अहिले गाई फार्म अलपत्र छाडेर स्थानीयलाई नै अन्योलमा पारेको अर्का स्थानीय खेम मोक्तानको भनाइ छ । ‘यो प्रोजेक्टको सूरुवातमा नै मैले विरोध गरेको थिए । जग्गा हडप्ने उदेश्यले गरिएको यो योजना स्थानीयको लागि प्रभावकारी छैन । लाभदायक हुँदैन भनेको थिए,’ नेकपा एमालेका नेता मानबहादुर केसीले भने, ‘जब जंगलमा डोजर चल्यो । मलाई चित्त बुझेन । यसपछि मैले ७ दिनसम्म डोजरको चाबी लिएर राखे । तर, मलाई विकास विरोधि भनियो ।’ 

अहिले १० वर्ष बित्न लाग्दा पनि सुरक्षाका लागि भोटे कुकुर र केही संख्यामा बाख्रा फार्ममा पालिएको उनको भनाई छ । गाई फार्मको ५१ र ४९ प्रतिशतले सेयर  बाढिने सम्झौता गरेको केसीले जानकारी दिए ।

स्थानीय जनतालाई सेयर र रोजगारी दिने विषय स्थानीय मितेरी सामुदायिक वन, ढाँडे सिंगदेवी सामुदायिक वन र बोत्ले सेतीदेवी सामुदायिक वनको माइन्युटमा लेखिएको सुरक्षित रहेको केसीको भनाइ छ ।

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १९:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया