नेपाली सीमा रक्षक : उपमहानगरबासी आधारभूत सेवाबाट बञ्चित

साउनको पहिलो साता थियो । धनगढी उपमहानगरपालिका–१९ का जागुराम चौधरीकी श्रीमतीलाई हनहनी ज्वरो आयो । कोरोना महामारीमा आएको ज्वरोले उनी आत्तिए । ज्वरो आए पनि अस्पताल लैजान सक्ने बाटो थिएन । किनकि जागुरामको घर नजिक बग्ने मोहना नदीमा पानीको बहाब धेरै थियो । बाहिर भीषण पानी परिरहेकाले डुंगा सञ्चालन हुने अवस्था पनि थिएन । 

नदीमा पानीको बहाब कम भए मात्र डुङ्गा सञ्चालन हुन्छ । ‘नदीमा पानी धेरै बढेको थियो । मैले चाहेर पनि अस्पताल लैजान सक्ने अवस्था थिएन’, जागुरामले भने, ‘नेपाल आउ बाटो थिएन । भारत जाउ सुरक्षाकर्मीको किचकिच ।’ त्यसपछि उनको एक मात्र विकल्प थियो घरायसी जडिबुटी । उनले दुई दिनसम्म पानी पट्टी र घरलु जडिबुटी गरे । दुई दिनपछि विस्तारै उनको श्रीमतीको ज्वरो घट्दै गयो ।

मोहना पारी बस्नेहरुका लागि यो प्रतिनिधिमूलक मात्र हो । यस्ता घटना कति भोगे भोगे स्थानीयले । कैलालीको धनगढी उपमहानगरपालिका–१९ को लग्गाभग्गा र आँखा काटे दुईवटा बस्ती छन् । ती बस्तीमा ४० घरपरिवार बसोबास गर्छन् । जुन मोहनापारी छन् । मोहनापारी हुँदा उनीहरु विकासबाट वञ्चित हुनुपरेको छ । वर्षायाममा स्वास्थ्यदेखि सरकारी कामकाजसम्ममा बञ्चित हुनुपरेको छ । वर्षका चार महिना परिवारका कोही सदस्य बिरामी परे उपचारै नपाउने अवस्था छ।

अन्य समयमा जेनतेन समस्या टरे पनि वर्षायाममा समस्या हुने गरेको स्थानीय रामबक्स रानाले बताए । उनले भने, ‘सामान्य बिरामीमा त सहेर बस्न सकिन्छ । जटिल भए खोला पार गर्न सकिँदैन भारतीय सुरक्षाकर्मीको किचकिच सहँदै जानुपर्छ ।’ भारततर्फ पनि नजिकै अस्पताल छैन । 

‘मोहनामा पुल बन्छ त भनेका छन् । तर, थाहा छैन कहिले दिन्छन्’, रामबाक्स भने, ‘भारतबाट जाऊँ भारतीय सुरक्षाकर्मीको अपशब्द सुन्नुपर्छ । यहाँबाट जाऊँ नदी छ । आश्वासनमात्र पाइन्छ, मुक्ति दिने कोही भेटिदैनन् ।’ मोहनावारी दशकौ‌ं अगाडि त्यहाँ धनगढी उपमहानगर– ९ बाट गएर बसेका हुन् । ‘सुरु–सुरुमा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले हामीलाई यहाँ बस्न दिँदैन थिए । हामीले जसोतसो गरी यहीँ घर बनाई खेती गरेर आफ्नो जमिनको रक्षा गरेका छौँ’, स्थानीय हंशराम रानाले भने, ‘अहिले सुरक्षाकर्मीले त्यति दुःख दिँदैनन्। तर कहिलेकाहिँ धम्की आउन भने छोडेको छैन ।’



उनले आफूहरू यहाँ बसोबास नगरेको भए भारतले कब्जा गरिसक्ने बताउँछन् । उनले भने, ‘उनीहरु नेपाल–भारतको सीमा यही नदीले छुट्याएको ठान्छन् । तर यो नदीले धार परिवर्तन गर्दा नेपालको बस्ती बढी कटान हुँदै गयो । यो जमिनमा हामी नबसेको भए भारतले आफ्नो भनी दाबी गर्ने थियो ।’ 

उनले भारतीय सुरक्षाकर्मीहरूले नजिकै सुरक्षा पोष्ट खडा गरेको भए पनि नेपाली सीमा सुरक्षा बलले भने कुनै पोष्ट राख्न नसकेको प्रति गुनासो गरे । 



उनले भने, ‘भारतीयहरूले पोष्ट नै राखेका छन् तर, हाम्रा सुरक्षाकर्मी कहिलेकाहीँ मात्र गस्तीमा आउने गर्छन् । अन्य समय हामी असुरक्षित महसुस गर्छौँ ।’ सरकारले यही एउटा सुरक्षा पोष्ट निर्माण गर्नुपर्ने माग उनीहरुको छ ।

उनले आफूहरू वर्षाँैदेखि सोही बस्तीमा बस्दै आए पनि लालपुर्जा पाउन नसकेकोे गुनासो समेत गरे । 

‘यी सबै जग्गालाई ऐलानी भनिएको छ । मोहना पारीको बस्ती भारतीय बजारमा निर्भर छ । दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार सुडा, चन्दनख चौक जानुपर्छ । उक्त बजार पुग्न दुधवा टाइगर रिजर्भ पार गर्नुपर्छ । ‘सुडा यहाँबाट सात किमि टाढा छ, तीन किमि त जंगलै–जंगल हिँड्नुपर्छ’, स्थानीय ठगनीदेवी रानाले भनिन्, ‘फेरि जंगली जनावरको उस्तै डर हुन्छ ।’

धनगढी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहागरपालिका हो। उपमहानगरबासी भएर पनि उनीहरुले खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा, बाटोघाटो जस्ता सुविधा पाएका छैनन् । 

‘यो ठाउँमा बसोबास गरेको दशकौं भइसक्यो, सरकारले केही दिएको छैन’, स्थानीय जुदराम रानाले भने, ‘यो ऐलानी क्षेत्र हो । वर्षौअघि बालुवा नै बालुवा थियो । अहिले खनजोत गरी खेती गर्ने खालको भएको छ ।’ जुदरामका अनुसार एउटा परिवारले डेढ बिघाका दरले उपभोग गरिरहेका छन् ।

‘गाउँमा विद्यालय छैन, भारत पढ्न पठाउन टाढा छ, नेपालतिर नदी पार गर्नै समस्या’, उनी भन्छन्, ‘मोहना नदीमा झोलुंगे पुल बनाइदिए बालबालिकाले स्कुल पढ्न पाउने थिए ।’ 

यस क्षेत्रमा बलौटे जमिन भएकाले उब्जनी पनि राम्रो हुँदैन । जसले गर्दा यहाँका बासिन्दा भारतमै मजदुरी गर्न जाने गरेका छन् । ‘बालबालिका पनि घरायसी काम गर्न भारत जान्छन्’, स्थानीय जोखोन राना सुनाउँछन् । 

उनीहरूले उपभोग गरिरहेको जमिन पनि आफ्नो नाममा छैन । वर्षौं हुँदा पनि लालपुर्जा नपाएको उनीहरूको गुनासो छ । खरले छाएका कच्ची घरमा बस्ने लग्गाभग्गाबासीहरु मुख्य आयोस्रोत पनि कृषि नै हो । 

उनीहरु खेती किसानी गरेर नै आफ्नो जिविकोपार्जन गर्ने गरेका छन् । कतिपयले बालबालिकाहरु पढाउनकै लागि मोहनवारी कोठाभाडा समेत लिएका छन् ।

लग्गाभग्गा पारी भारतीय जंगल, वारी मोहना नदीकोे बीचमा रहेको छ । यो बस्तीमा बस्नेहरुका लागि आफ्नो देश बिरानो लाग्छ । आफ्नो देश नेपाल आउन उनीहरुले पैसा तिर्नुपर्ने बाध्यता छ । 

स्थानीयहरु मोहना नदी पार गर्न वर्षायाममा डुङ्गा र हिउँदयाममा काठे पुल तर्न पैसा तिर्छन् । वर्षामा सो बस्तीका मानिसले सरकारी सेवा लिनका लागि डुङ्गा प्रयोग गर्नुपर्छ भने अन्य समय स्थानीय ठेकेदारले बनाएको काठेपुल पार गरी आउनुपर्ने गर्छन् ।

नदीमा डुङगा चलाउँदै आएका रामकुमार चौधरीले विद्यार्थीहरूलाई ओहोरदोहोर गर्नु परेको खण्डमा निःशुल्क र अन्यबाट डुङ्गामा सवार गरेको ५० रुपैयाँ लिने गरेको बताए । 

उनले भने, ‘यही मोहना नदीका विभिन्न ठाउँमा पुल नहुँदा मानिसहरूले डुङ्गाको सहारामा वारपार गर्नुपर्ने बाध्यता छ ।’ उनले धनगढी उपमहानगरपालिकाले आह्वान गरेको टेन्डरबाटै सो नदीमा डुङगा  चलाउने गरेका हुन् ।

भन्नलाई उमहानगरबासी भने पनि गाउँपालिकाको जस्तो विकास पनि छैन् । दुई दशकपछि नदी पारीको बस्तीमा विद्युतका पोलहरू पुगेका छन् तर, बस्तीमा खानेपानी र शौचालयको प्रबन्ध छैन । 

धनगढी उपमहानगरपालिका–१९, आइगाउँ बस्दै आएका तिलक चौधरीले मोहनापारी रहेको जनआधारभूत विद्यालयको जग्गा लिजमा लिएर केरा खेती गर्छन् । 

तीन वर्षअघिदेखि केरा खेती सुरु गरेका उनले मोहना नदीको धार परिवर्तनले जग्गा कटानको समस्या भोग्दै आएका छन् । 

‘तीन बिघा जग्गामा केरा खेती गर्दै आइरहेको छु । २०७७ मा मोहना नदीले धार परिवर्तन गर्दा आधा जग्गा कटान भयो’, उनले भने, ‘अहिले पनि नदीले धार परिवर्तन गरिरहेको छ । फेरि कटान गरे केरा खेती नै छोड्नुपर्ने अवस्था आउन सक्छ ।’

डेढ बिघा जग्गामा रोपिएको केराका बोट देखाउँदै उनले भने, ‘विद्यालयसँग वार्षिक एक लाख रुपैयाँमा जग्गा लिजमा लिएको हुँ । अहिले यी बोटमा ३२ सय केराका घरी छन् । नदीले केही असर नगरे लगानी असुल गर्न सकिन्छ ।’ 

उनले केरा खेतीमा आठ लाखभन्दा बढी रकम खर्च गरिसकेको बताए । धनगढी उपमहानगरपालिका–१९ बेहुलियाका जोखराम चौधरीले मोहनापारी १० कठ्ठा जग्गामा धान र मम्फली खेती गरेका छन् । 

नदीको धार परिवर्तन हेर्दा उनलाई पनि आफूले खेती गर्दै आएको जग्गा कुन दिन नदीले कटान गर्छ भन्ने चिन्ताले पिरोलिरहन्छ । 

उनले भने, ‘नदी विगतमा बेहुलिया बस्तीतिर पस्थ्यो । डुबानको समस्या त्यहाँ झेल्नुपर्ने थियो । सो बस्ती नजिक कुश खेती गरेपनि नदीले धार परिवर्तन गर्दै गएको छ । यसले दुई बस्ती कटानको उच्च जोखिममा रहेको छ ।’ 

स्थानीय सरकारको पहुँचभन्दा बाहिर रहेकोले नदी कटान रोक्न संघीय सरकारबाटै वृहत् तटबन्धनको कार्यक्रम ल्याउनुपर्ने स्थानीयको भनाइ छ ।

वस्ती जोड्न पुलको पहल भएको छ : वडा अध्यक्ष

स्थानीय जनप्रतिनिधिहरुले पनि मोहना पारीको वस्तीलाई व्यस्थित गर्न सकेको छैनन् । आफ्नो देशका नागरिकहरु समस्यामा पर्दा पनि बेवास्ता गरेको देखिएको हो । 

धनगढी उपमहानगरपालिका–१९ का अध्यक्ष तिलुराम चौधरीले दुई बस्तीलाई अन्य बस्तीसँग जोड्नका लागि पुलको व्यवस्था गर्न स्थानीय सरकारको बजेट अपुग हुने बताए । 

पुलका लागि प्रदेश र संघीय सरकारसंग कुरा भएको उल्लेख गरे । उनले भने, ‘पुलको व्यवस्था गरिदिन भनी प्रतिनिधिसभा सदस्य नारदमुनि रानालाई पटक–पटक आग्रह गरेका छौँ ।’ 

उनले संघीय सरकारबाटै सो नदीमा पुल निर्माणका लागि योजना अघि बढाउनुपर्ने प्रतिक्रिया दिए । मोहनामा पुल परेमा वारीपारि सहजै रुपमा आउन र जान सहज हुने स्थानीहरुको विश्वास रहेको छ ।

  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १३:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया