अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा कतारबाट काठमाडौं आउँदै छन्।
नेपालमा एमसिसी परियोजना कार्यान्वयन गर्ने या नगर्ने भन्ने विषयमा चर्को विवाद भइरहेका बेला उपाध्यक्ष सुमारले नेपाल भ्रमण गर्न लागेकी हुन्।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि भन्दै चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) मा द्विपक्षीय सम्झौता भएको थियो।
सम्झाैतापछि एमसिसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । अमेरिकी सरकारका तर्फबाट एमसिसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको हो ।
सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने ५० अर्ब सहयोगलाई नेपालका राजनीतिक दलहरू नै विभाजित अवस्थामा छन्।
यद्यपि उनीहरू एमसिसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिन नेपाल आउन लागेका हुन्।
परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएको छ ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।