नेपाल भ्रमणमा रहेकी फातिमालाई एमाले अध्यक्ष ओलीको जवाफ– एमसिसीका विषयमा सरकार स्पष्ट छैन

नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फातिमा सुमारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकार स्पष्ट नभएको बताएका छन् । 

नेपाल आएकै दिन ओलीलाई भेट्न बालकोट पुगेकी फातिमालाई सरकारले स्पष्ट धारणा बनाएपछि मात्र एमालेले धारणा बनाउने जानकारी दिए । 

भेटवार्तामा सहभागी एक एमाले नेताका अनुसार फातिमाले सुरुमा नै एमसिसीका विषयमा एमालेको धारणा जान्न चाहेकी थिइन् । 

‘पहिला नेपाल सरकारले एमसिसीका विषयमा आफ्नो धारणा बनाउनु पर्छ । सरकारको धारणा स्पष्ट छैन । सरकारले स्पष्ट धारणा बनाएपछि मात्र हामी आफ्नो धारणा बनाउँछौ र सार्वजनिक गर्छौं,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने । 

एमसिसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सलाई समेत साथमा लिएर ओली निवास पुगेकी फातिमाले एमसिसीलाई नेपालको संसदले अनुमोदन गरोस् भन्ने अमेरिकी चाहना रहेको बताइन् । ‘हामी चाहन्छौं यस प्रक्रियामा एमालेले सरकारलाई सहयोग गरोस्,’ फातिमाले ओलीलाई भनिन् । 

ओलीले सरकारको नेतृत्व गर्दा अमेरिकी ५० करोड डलरको सहयोग कार्यक्रमा एमसिसी संसदबाट पास गर्ने प्रयास गरेका थिए । तर नेकपा माओवादी केन्द्र र सभामुखका कारण एमसिसी संसदमा प्रस्तुत हुन सकेको थिएन । माओवादी केन्द्रले एमसिसीको विरोध गर्दै आएको छ । 



सरकारबाट बाहिरिए पछि नेकपा एमालेले एमसिसीका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । एमालेका नेता भीम रावलले भने सुरु देखि नै एमसिसीको विरोध गर्दै आएका छन् । अहिले सरकारमा माओवादी केन्द्र पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीलाई संसदबाट पास गराउने पक्षमा छन् भने माओवादी केन्द्र अझै यसको विरोधमा छ । यहीबीचमा एमसिसीकी उपाध्यक्ष फातिमाले नेपाल भ्रमणमा आएकी हुन् । 



  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार १५:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया