राजर्षि जनक विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यालयमा शिक्षकले लगाए ताला

जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका कोर्स कन्ट्रयाक्ट शिक्षकहरुले विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार​को कार्यालयमा ताला लगाएका छन् । 
 
उपकुलपति प्रा. भरत झाले प्रहरी बोलाएर शिक्षकहरुले लगाएको ताला फोड्न लगाएपछि विश्वविद्यालयको स्थिति केहीबेर तनावग्रस्त बनेको थियो । 

शिक्षकहरुले करार नियुक्तिको माग गर्दै १५ दिनसम्म सांकेतिक आन्दोलन गरे पनि माग पूरा गर्न कुनै चासो नदेखाइएको भन्दै उनीहरुले बुधबार उपकुलपति र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका हुन् ।  

विगत लामो समयदेखि आन्दोलन गर्दासमेत व्यवस्थापन पक्षले माग सम्बोधनका लागि कुनै चासो नदेखाएको शिक्षकहरुले आरोप लगाएका छन् ।

करार नियुक्तिको माग गर्दै गत साउन २४ गतेदेखि २९ गतेसम्म पहिलो चरणमा शरीरमा कालोपट्टी बाँधेर काम गरेका शिक्षकहरुले भदौ ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गरिरहेका छन् । 

आन्दोलनरत शिक्षकहरुको माग व्यवस्थापनले पूरा नगरेपछि भदौ ८ गतेदेखि पठनपाठन ठप्प गरी ३५ जना शिक्षक विश्वविद्यालयको पेपर (कोर्स कन्ट्रयाक्ट शिक्षक संघ)को ब्यानरमा धर्नामा बसेका हुन् ।

स्थापनाकालमै आफूहरुलाई कोर्स कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिए पनि हालसम्म माग सम्बोधन नगर्दा बाध्य भएर आफूहरु आन्दोलनमा उत्रेको  पेपर (कोर्स) कन्ट्रयाक्ट शिक्षक संघका सचिव रविकुमार राजले बताए ।



दुई वर्षदेखि राजर्षि जनक विश्वविद्यालयसँग २६ जनाको दरबन्दी छ । तर, पटक–पटक त्यसमा करार गर्न आग्रह गर्दा सम्बन्धित पक्षले कुनै सुनुवाइ नगरेको उनले बताए ।
 
पदाधिकारीले आफूहरुलाई व्यवस्थापन गर्ने आश्वासन दिए पनि अझै पूरा हुन नसकेको उनले बताए । रजिस्ट्रार यादवले स्थायी नियुक्तिका लागि तयारी गर्न भने पनि उनले अचानक गत वैशाख १३ गते विशेष टिप्पणीका आधारमा फेरि ५ जना कर्मचारीका लागि करार नियुक्तिको प्रक्रिया अगाडि बढाएपछि आफूहरु आन्दोलनमा लागेको उनले जानकारी दिए । 

अहिले क्याम्पसमा २६–२७ जना कर्मचारीको दरबन्दी रहेको तर उनीहरुका लागि आइरहेको रकम विभिन्न सञ्चालन खर्चको नाममा प्रयोग भइरहेको आन्दोलनकारीको आरोप छ । शिक्षकलाई कोर्ष करारमा राखेर १० हजार रुपैयाँ मात्रै दिइरहेकोप्रति उनीहरुले दुःखेसो पोखेका छन् । 



यता, आन्दोलनरत शिक्षकहरुले पुनः तालाबन्दी गरेपछि विश्वविद्यालयका उपकुलपति झाले वार्ताको आश्वासन दिएका छन् ।

  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार १८:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया