Mon, 19 Nov, 2018


१४ वर्षअघिको असोज २८, जो देवी बिर्सन सक्दिनन्
farakक्षमता  
समिक्षा अधिकारी  |  असोज २७, २०७५

 

२८ असोज । ठ्याक्कै आजकै दिन १४ वर्ष अघि । 

बुटवलकी देवी आचार्य काठमाडौंबाट घर जाँदै थिइन् । संयोग त्यो २८ असोजमा पनि दशैंको माहोलले देशलाई छपक्कै छोपेको थियो । 

घरमा दशैं मनाएर काठमाडौं आएपछि अमेरिका जाने सुरमा थिइन् देवी । ‘अमेरिका भिजिट भिसामा जाने योजना बनाएकी थिएँ,’ देवीले केही दिनअघि काठमाडौंमा सम्झिइन्, ‘दशैं पछि अमेरिका गइन्छ भनेर परिवारसँग दशैं मनाउन बुटवल गएकी थिएँ ।’

देवीले अघिल्लो दिन नै सुमोको टिकट लिएकी थिइन् । विहानै कलङ्कीबाट गाडी चढ्ने भइन् । भनेकै समयमा सुमो छुट्यो ।

जतिजति अगाडि सुमो गयो, त्यति त्यति देवीलाई लाग्यो– अब त घर आइहाल्छ, दशैं परिवारसँग गज्जबले मनाइने भयो ।

मुग्लिङ कट्यो । सुमोको सबैभन्दा अगाडिको सिटमा बसेकी देवीले त्रिशुली पारिको डाँडा हेरेर सोचिन्– अब त आइहाल्यो नि बुटवल ।

‘जहिल्यै त्यस्तो हुन्थ्यो, नारायणगढको पुल कटेपछि अब त घर आइहाल्यो भन्ने लाग्थ्यो,’ देवीले भनिन्, ‘झन्, दाउन्ने कटेपछि त घरकै आँगनमा पुगेजस्तो आभास हुन्थ्यो ।’

सुमो आफ्नै रफ्तारमा गुडिरहेको थियो । कावासोती पुग्नै लागेका थिए, देवी र सुमोका अन्य प्यासेन्जर । 

देवी मनमा दशैं र त्यसपछि तय गर्ने अमेरिकाको भ्रमणका अनेक कुरा मनमा खेलाइरहेकी थिइन् ।

अचानक अगाडि एउटा साइकल आयो । सुमो चालकले ती साइकल सवारलाई बचाउन मज्जैले स्टेयरिङ घुमाए ।

साइकल सवार त बचे, तर सुमो आफैं भने बच्न सकेन । सुमो पर्खालमा नराम्रोसँग ठोक्कियो, अनि बाटोबाट केही तल खस्यो । 

त्यसपछि १४ वर्षअघिको त्यो दिन सम्झिन सक्दिनन् देवी ।

देवी खासमा अमेरिका गएर उतै सेटल हुन चाहन्थिन् । ०३६ सालमा बुटवलमा जन्मिएकी उनले प्लस टुसम्मको अध्ययन उतै गरेकी थिइन् । अनि काठमाडौं हानिएकी थिइन् उनी दिदीहरुसँग बस्दै अमेरिका जाने योजना बनाउन ।

उनका दिदीहरु काठमाडौंमा साइबर क्याफे चलाउँथे । उनले पनि धेरथोर समय साइबर क्याफेलाई दिइन् । 

तर, २८ असोजमा उनी बुटवल जान सवार सुमो पल्टियो । 

सुमो पल्टिएपछिका केही कुरा थाहा छैनन् देवीलाई । तर, उनलाई पछि मानिसहरुले सुनाएका छन् त्यो घटना । 

उनले सुनेकी थिइन्–

सुमो पल्टिएको ठाउँ वरपर खासै धेरै घर थिएनन् । त्यो दिन बाटोमा धेरै गाडीहरु पनि थिएनन् । सुमो पल्टिएपछि साइकलमा आएकी ती बहिनी पनि कतै भागिछिन् ।

अलिक पर एउटा स्कुलमा चाहिँ सुमो पल्टिएको थाहा भएछ । त्यहाँबाट शिक्षकहरु दुर्घटना भएको ठाउँसम्म आइपुगेछन् । अनि दुर्घटनामा परेकाको उद्धार सुरु गरेछन् ।

तर, तिमीलाई उनीहरुले देखेनछन् ।

तिमी गाडीमुनि परेकी रहिछौ । सबैलाई चितवन मेडिकल कलेजमा उपचारका लागि लगे । त्यहाँ पुगेपछि बल्ल सुमोका चालकले भनेछन्– मेरो छेवैमा एकजना बहिनी थिइन् ।

त्यसपछि फेरि मानिसहरु सुमो पल्टिएको ठाउँसम्म हेर्न गए । तिमी अचेत अवस्थामा त्यहाँ रहिछौ । 

दुर्घटना भएको दुई घन्टा पछि तिमीलाई त्यहाँबाट चितवन मेडिकल कलेज नै लगियो । तर, त्यहाँ डाक्टरहरुले तिम्रो उपचार असम्भव भएको बताए । अनि तिमीलाई रिफर गरियो । त्यहाँबाट तिमीलाई ल्याएर वीर अस्पतालमा भर्ना गर्यौँ । 

तर, वीरमा पनि चिकित्सकहरु आएनन् । त्यहाँबाट काठमाडौं मोडल अस्पताल ल्यायौँ । 


मोडेल अस्पतालको बेडमा ब्युँझिइन् देवी ।

सौभाग्य भनौँ कि दुर्भाग्य, आश नगरिएकी देवी ब्युँझिएकी थिइन् तर उनको कम्मरमुनीको भागमा गहिरो चोट थियो । चिकित्सकहरुले नै आश मारिसकेका थिए– अब देवीको कम्मरमुनीको भाग प्यारालाइज्ड भयो, चल्दैन ।

डाक्टर वसन्त पन्तले उनको उपचार गरिरहेका थिए । उनले निक्र्योल निकालिसकेका थिए– देवी अब हिँड्न सक्दिनन् ।

ब्युँझिएको भोलिपल्ट नै डा. पन्तको सल्लाहअनुसार देवीलाई स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र लगियो । 

त्यसपछि पुनस्र्थापना केन्द्रमा बस्न थालिन् उनी । 

देवीले आफ्नो उपचार भइरहेको छ भन्ने भ्रम मनमा पालिरहेकी थिइन् । सबैले उनलाई पनि त्यही भनेका थिए । 

तर, केही दिनमा नै देवीलाई थाहा भयो, उनको खुट्टा चलेन । 

‘डाक्टरले निकै गहिरो चोट लागेको छ विस्तारै ठिक हुन्छौ भनिरहेका थिए,’ देवीको अनुहारमा विष्मय प्रष्ट बुझिन्थ्यो, ‘डाक्टरहरुले दुई–तीन वर्ष पनि लाग्न सक्छ है भनिरहेकाले म छिटो ठिक होस् भन्ने कल्पना गरेर मात्र बसिरहेकी हुन्थेँ ।’

देवीको फिजियो चलिरहेको थियो । एकदिन नर्स मिलीलाई मनको पोयो खोल्दै देवीले सोधिन्– म अब कहिलेदेखि हिँड्न सक्ने हुन्छु होला ?

मिलीले देवीको अनुहारमा हेरिन् । ठूलो साहस बटुलेर भनिन्– तिमी बुझ्ने छौ, यो कुरा तिमीले स्वीकार्नु पर्छ कि अब तिमी हिँड्न सक्ने हुँदिनौँ ।

‘अब तिमी ह्विलचेयरमा सिमित हुनुपर्छ,’ देवीले मिलीका शब्द सम्झिइन्, ‘ह्विल चेयरमा बसेर पनि काम गर्न सकिन्छ, चिन्ता नगर्नू ।’

यी शब्द सुन्दा दुर्घटनापछि दोस्रो पटक चेत शून्य भयो देवीको । ‘मैले चारैतिर अँध्यारो देखेँ,’ देवीले सम्झिइन्, ‘म निकै आक्रामक भएकी थिएँ त्यति बेला ।’

त्यति बेला देवीले वरपर जे भेट्थिन्, त्यो परसम्म फाल्थिन् । उनी चिच्याइन्, रोइन् तर उनको आक्रोश साम्य भएन ।

मिलीका शब्दले देवीलाई बदलिदियो । उनले आफैंलाई उपचार गरिरहेका डाक्टरहरुलाई गाली गर्न थालिन्, उपचार भइरहेको ठाउँबाट तत्काल घर जान चाहिन् । 

तर, नौ महिनासम्म उनको रोदन कसैले सुनेन । सुने पनि उनले भनेअनुसार गर्ने वातावरण थिएन ।

नौ महिनापछि केही सिप नलागेर उनलाई परिवारले घर लगे । 

अब झन् कष्टकर दिन सुरु भए देवीका । उनी डिप्रेसनको शिकार भइन् ।

चार वर्षजति डिप्रेसनको औषधि खाएरै बिताइन् देवीले । अनि विस्तारै उनी दुर्घटनाको ट्रमाबाट बाहिर निस्किइन् ।

तर, देवीका दुःखका दिन सकिएनन् । उल्टै उनलाई कलेजोको संक्रमणले समस्यामा धकेल्यो ।

त्यसको उपचारका लागि उनी फेरि काठमाडौं आउनु पर्ने भयो । 

त्यति बेला काठमाडौं आएपछि फेरि बुटवल फर्किइनन् देवी ।

० 

काठमाडौंमा पहिले रिह्याबमा बस्दा चिनेकी साथी सोनिका फेरि भेटिइनन् । सोनिकाले देवीलाई इन्डिपेडेन्ट लिभिङ सेन्टरद्वारा आयोजित एक कार्यक्रममा लिएर गइन् । त्यहाँ अरु ह्विलचेयर प्रयोगकर्ता पनि थिए ।

देवीले त्यहाँ अनौठो दृश्य देखिन् । आफूले ह्विलचेयर प्रयोग गर्न थालेको दिनदेखि चार वर्षसम्म देवीको अनुहारमा खुसीले छाएको थिएन । तर, त्यो कार्यक्रममा पुग्दा देवीले देखिन्, अरु ह्विलचेयर प्रयोगकर्ता मज्जाले हाँसिरहेका छन्, अनुहारमा दुःखको भाव केही पनि छैन ।

त्यही एउटा दृश्यले देवीको सोच परिवर्तन गरिदियो ।

त्यसपछि देवीले फेरि भविष्यको कल्पना गर्न थालिन्, भविष्यका योजना बनाउन थालिन् ।

‘मेरा खुट्टा पो चल्दैनन्, दिमाग र हात त चल्छ नि भन्ने लाग्न थाल्यो,’ देवीले भनिन्, ‘त्यही दिन कार्यक्रमबाट फर्किएपछि मैले आजको योजना बनाइसकेकी थिएँ ।’

त्यसपछि त्यही इन्डिपेन्डेन्ट लिभिङ सेन्टरसँग आवद्ध भइन् उनी । त्यहाँ ह्विलचेयर प्रयोगकर्ता खेल खेल्थे, अरु कामहरु सहजै गर्थे । देवीले पनि बास्केटबल खेल्न थालिन् । 

अब देवीको दायरा फराकिलो हुँदै गयो । उनी विभिन्न कार्यक्रममा सहभागि हुन थालिन् । बुबाले उनलाई स्कुटर किनिदिए ।

त्यसपछि त देवीले भएभरको आँट जुटाएर राष्ट्रिय अपाङ्ग माहासंघको अधिवेशनबाट सदस्यमा उम्मेदवारी दिने निक्र्योल गरिन् । मनोनयन पनि गरिन् । चुनाव भयो ।

जीवनका सबै निराशालाई जितेर अगाडि बढेकी देवीले निर्वाचनमा जितलाई आफूसाथ पाइन् ।

त्यसपछि अवसरहरुले पछ्याउन थाले देवीलाई ।

अहिले पनि अपाङ्ग महासंघकी सदस्य हुन् । यो उनको दोस्रो कार्यकाल हो । योबीचमा उनले अनेक कार्यक्रममा सहभागि हुने अवसर पाइन्, देशविदेशको सयर गरिन् ।

सबैभन्दा ठूलो त उनको आत्मविश्वास यति बढेको छ कि अब उनी आफूलाई ह्विलचेयर प्रयोगकर्ता हुँ भनेर मनमा सिमित गर्न चाहन्नन् । 

नेपाल स्पाइनल इन्जुरी स्पोट्र्स एसोसियसनको उपाध्यक्ष, अपाङ्ग महासंघको सदस्य, इन्डिपेन्डेन्ट लिभिङ सेन्टरको कोषध्यक्षको भूमिका रहेकी देवी अब थप आफ्नो काम विस्तार गर्न चाहन्छिन् । 

‘केही व्यावसाय सुरु गरौँ कि भन्ने योजनामा छु,’ देवीले भनिन्, ‘प्लस टु पछि अध्ययन रोकियो, त्यसलाई पनि अगाडि बढाउन चाहन्छु ।’

यी त देवीले आफ्ना लागि गर्ने काम भए, समाजमा प्रभाव पार्ने कामको योजना पनि उनले बुनिसकेकी छिन् । त्यो हो– घरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई बाहिर ल्याउन पहल गर्ने ।

आज २८ असोज ।

देवी दुर्घटनामा परेको १४ वर्ष बितिसकेको छ । यी चौध वर्षले देवीमा नयाँ आँट, आत्मविश्वास र जोश उत्पन्न गराइदिएको छ– सजिलो केही पनि हुँदैन, आफूले गर्नुपर्छ ।



समिक्षा अधिकारी

नन–फिक्सनका पुस्तक अध्ययनमा विशेष रुची राख्ने समिक्षा अधिकारी फरक धारका लागि सामाजिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

यो पनि नछुटाउनुहोस्