हाइवे कथा
कानेपोखरीको स्वादिलो खीर, बेच्नेलाई भने पीरैपीर
फरकधार / २५ भदौ, २०७८

पूर्वपश्चिम राजमार्ग, चारैतिर घनाजंगल । जंगलको बिचमा छ कानेपोखरी बजार । बजारमा ३० देखि ४० वटा घर छन् । ती सबै घर पसलले भरिएका छन् । पसलमध्ये अधिकांशमा त होटल नै छन् । 



होटलमा अन्यत्र जस्तै थोक्पा, चाउमिन, मोःमो, समोसा चनाचिउरा पाइन्छ । पूर्वपश्चिम जोड्ने मुख्य हाइवे भएकाले थरीथरीका माछामासु र मदिरा नपाउने कुरै भएन।तर कानेपोखरीको खास परिचय भने खीरसँग जोडिन्छ । कानेपोखरीको खीर नचाख्ने यो बाटो प्रयोग गरेर हिँडिरहने कमै होलान् । 

त्यसैले खीरका पारखीहरु मोरङको कानेपोखरीमा रोकिएर खीर नखाइकन जाँदै जाँदैनन् । कानेपोखरीमा झोडा फाँडेर जब मान्छेहरु बस्न थाले त्यही बेलाबाट छाप्रामा होटल पनि खुले ।
 
पूर्वपश्चिम सडक मात्रै भएर होइन मोरङको पुरानो सदरमुकाम रंगेली र पुरानो बजार लेटाङ पनि यहीबाट छुटिने भएकाले कानेपोखरीमा बटुवाको चहलपहल पहिलेदेखि नै थियो ।
  
दोबाटो भएकाले बाटो हिँड्नेहरु रोकिएर चियाखाजा खान्थे । अहिले जस्तो अनेक प्रकारका खाजा थिएनन् । त्यसैले त्यही बेलाबाट यहाँका होटलमा नेपाली परिकार खीर पनि पाक्न थाल्यो । यो ३० को दशकको कुरा हो । 

त्यो बेला खीर बेच्नेहरु धेरैले होटल छाडे । ६५ वर्षीया हेमकुमारी खरेल भने अहिले पनि खीर बेचिरहेकी छन्, कानेपोखरी बजारमा । 



उनले कानेपोखरीमा खीर बेच्न थालेको ५० सालदेखि हो । अलि तल बयरवन बजारबाट उनी ५० सालमा होटल गर्न कानेपोखरी आइन् ।
 
सानो छाप्रोमा होटल थालेदेखि खीर नपाकेको कुनै दिन छैन, हेमकुमारीको होटलमा । 
निरन्तर खीर बेच्ने अब उनीमात्रै छन् । अरुले बेलामौका खीर बेच्छन् । तर तीन छोरीकी आमा हेमकुमारी भने अझै खीर बेच्नमै रमाइरहेकी छन् ।
 
उनकोमा खीर खान सुनसरी मोरङबाट मात्रै आँउदैनन् । उनका ग्राहक नजिकका भन्दा टाढाका बढी छन् । भारतको दार्जिलिङ, सिक्किम, असाम, मेघालयबाटसमेत आउने यात्रु समेत उनकोमा खीर खान बस्छन्।

धरान विराटनगरबाट मात्रै होइन काठमाडौं पोखरादेखि आउने यात्रु पनि उनले पकाएको खीर सम्झेर आउँछन् ।

उनले सुनाइन् ‘मान्छेहरु मीठो मानेर खान्छन् त्यही भएर नाफा कम भए पनि पकाउन छाडेकी छैन ।’

उमेरमा तपार्इंलाई देखेकाहरु सम्झेर पनि आँउछन् होला नि ! ठट्यौली पारामा सोधेको प्रश्नको जवाफमा हेमकुमारीले भने हाँस्दै भनिन्, ‘मलाई सम्झिनेहरुको त हातपाउ गलिसके अब खीर सम्झेर मात्रै आँउछन् होला ।’ त्यसपछि धेरैबेर हाँसिन् उनी...।

उनकाअनुसार खीरमा अहिले नाफा कम छ । पहिलेजस्तो खीरका पारखीहरु अचेल कम आउँछन् । खीरका साथै अन्य परिकार पनि पाक्छन् । 

चाउमिन, मोःमो चाउचाउमा फाइदा छ । होटलमा अहिले खीरभन्दा चाउमिन, मोःमो नै बढी बिक्छ। 

आजकाल त पिज्जा, बर्गर रे उनले भनिन्, ‘नेपाली खाना त मान्छेले बिर्सिइसके। तर पनि मैले भने खीर छाडेकी छैन ।’

उनले होटल सुरु गर्दा एक रुपैयाँमा तीन लिटर दूध पाइन्थ्यो । उनी अढाई रुपैयाँमा एक प्लेट खीर बेच्थिन् । दिनमै उनले ५० लिटर दूधको खीर बेच्दा नाफा प्रशस्तै थियो, उमेरको कुरा सुनाइन्, हेमकमुमारीले । 

उनले होटल सुरु गर्दा काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, इलाम, पशुपतिनगर जाने नाइट बसको बिहानको खाजा खाने ‘जक्सन’ थियो कानेपोखरी । 

गाडीबाट हुरुरुरु मान्छेहरु आँउथे, खीर खान्थे जान्थे । दिनमा पाँच पटकसम्म खीर पकाँउथिन्, उनी ।

बाटो चिल्लो भयो । गाडीहरु सुविधा सम्पन्न भए । अहिले खाजा खाने बेलामा त मान्छेहरु घरैमा पुग्छन् । त्यसैले कानेपोखरीमा रोकिँदैनन् नाइटबस । हेमकुमारीले अचेलको कुरा गरिन् ।
 
नाइट बसमा धेरै मान्छे त हिँड्नै छाडे । कानेपोखरीको खीर पनि कम बिक्न थाल्यो । आप्mनै गाडी भएकाहरुलाई मात्रै हो कानेपोखरीको खीरले तान्ने । 

अचेल एक लिटर दूधको मूल्य ७० रुपैयाँ पुगेको छ । प्लेटको १ सय रुपैयाँ लिएर खीर बेच्छिन् । खीरसँगै आलु र चना पनि हुन्छ । 

औंला भाँच्दै हिसाब सोधिन के नाफा होला त ? उनकोमा अहिले १० लिटर दूधको खीर पाक्छ ।

कहिले सबै बिकिसक्छ । कहिले फाल्नु पनि पर्छ । उनले खीर बेच्दाको पीर सुनाइन् । ‘पहिलो जस्तो शुद्ध दूध पनि आउँदैन । लोकल गाई र भैंसीको दूध अर्र्कै हुन्थ्यो । विकासे गाईको दूधै पातलो’, उनले सुनाइन् । 

कानेपोखरीमा मोरङको बयरवन क्षेत्र र लेटाङ नगरपालिका क्षेत्रबाट दूध आउँछ । गाई भैंसी पाल्ने किसानको कमि नभएका कारण कानेपोखरीमा दूधको कहिल्यै अभाव हुँदैन ।

गुलियो खीर अमिलो पीर

गुलियो र स्वादिलो खीर बेच्ने हेमकुमारीको कथा भने रमाइलो छैन । गाँउमा जग्गा जमिन थिएन ।
 
लाउनखान समस्या भएपछि परिवारले नमान्दा नमान्दै पनि होटल गर्न आउने निधो गरिन्, हेमकुमारीले । उ बेला होटल व्यवसाय गर्नु समाजले राम्रो मान्दैनथियो । 

उनले सुनाइन्, ‘महिलाले हाँसेको बोलेको समाजले पचाउँदैन थियो। होटलमा नहाँसे, नबोले खानेकुरा बिक्दैन ।’

समाजले जे भनोस् भनोस् भनेर उनले होटल गर्ने निधो गरिन् । १८ हजारमा उनले ऐलानीमा रहेको छाप्रो किनिन् । 

छोरासँग किनेको छाप्रोको दाम आमालाई फेरि थप्नु प¥यो । उनले भनिन्, ‘होटल राम्रोसँग चलेपछि आमाले आएर बेच्दिन भनिन् । सारै झगडा गरेपछि आमालाई थप ५ हजार दिए ।’

उनका तीन छोरी थिए । छोरीहरुले साथ सहयोग गरे । फरासिली हेमकुमारीले ग्राहकको मन जितिन् । ग्राहक बढ्दै गएपछि बयरवन जाने बाटोमा रहेको होटल पूर्वपश्चिम सडकमा सारिन् । 

त्यहाँको छाप्रो किनेर उनले राम्रै संरचना बनाइन् । तर उनीसँग जग्गा धनीपूर्जा थिएन र छैन । 

२८ सालमा झोडा फाँडेर बसेको बस्तीको जग्गाको धनीपूर्जा कानेपोखरी बजारमा बस्ने कसैसँग छैन । जग्गापास नभए पनि किनबेच हुन्थ्यो । पूराना मान्छेहरु जग्गा बेच्थे नयाँ आउँथे । उनले पनि त्यसै गरिन् । 

उनी बसेको जग्गाको कर गाउँपालिकालाई तिर्छिन् । तर उनको जग्गाधनी पूर्जा छैन । उनले भनिन्, ‘धेरैपटक बनेका सुकुम्बासी आयोगले धनीपूर्जा दिने भनेर नामपनि टिपेर गए ।’ तर आयोग बन्यो सुबिधा खाए । तर हेमकुमारीले लालपूर्जा पाइनन् । 

यसपटक भने उनलाई जग्गाधनी पूर्जा पाइन्छ भन्ने लागेको थियो । गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान गर्न बनेको उच्चस्तरीय आयोगले नामावली संकलन गर्‍याे । उनले नाम टिपाइन् । जग्गाको नापजाँच पनि भयो । तर हेमकुमारीले धनीपूर्जा नपाउँदै आयोग विघटन भयो ।
 
उनलाई किन आयोग विघटन गरियो भन्ने थाहा छैन । मात्र उनलाई ओली सरकारले जग्गा दिन लागेको थियो भन्ने थाहा छ । उनले अघिअघि बनेका आयोग भन्दा यो आयोगसँग भर लागेको थियो । 

किन त ? 

‘यसपालि त जग्गा नै नापिएको थियो । अलिअलि पैसा लिएर जग्गाधनीपूर्जा बनाइदिने भनिएको थियो’, उनले उत्तर फर्काइन् । 

हेमकुमारीले उनको होटलमा पुगेकाहरुको भोक मेटाइन । जग्गा आफ्नो नभएको दुःख नेता देखि प्रशासकसम्मलाई बिसाइन् । 

हेमकुमारी जग्गाको पूर्जा बन्ने आशामा कागज बोकेर प्रशासन धाइन् । अनेकौं आश्वासन पाइन् । दशकौं बित्यो । तर उनको जग्गाको मालिक हुने सपना पूरा भएको छैन। 
 

  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १४:१०:०,   अन्तिम अपडेट : भदौ २५, २०७८ शुक्रबार १४:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया