माओवादी सरकार छाडेर सडकमा आउँछ तर, एमसिसी पारित हुँदैन : युवराज दुलाल

बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ एमसिसी पारित नगर्ने नीति माओवादी केन्द्रको रहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका दुलालले बरु सरकार छाडेर सडकमा आउने तर अमेरिकी परियोजना एमसिसी पारित नगर्ने स्पष्ट नीति माओवादीको भएको उल्लेख गरेका छन् । 

यसअघि आजमात्रै एमसिसी परियोजनाकी उपाध्यक्ष फातिमा सुनार नेतृत्वको टोली माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेको थियो ।

खुमलटार भेटपछि सामाजिक सञ्जालमार्फत प्रचण्ड निकट नेता दुलालले भनेका छन्, ‘माओवादी केन्द्रले सरकार बाहिर छँदा पनि एमसिसी यथास्थितिमा पास हुँदैन भनेकै हो, सभामुख महरा र सभामुख सापकोटा मार्फत केपी ओली सरकारको चर्को दवावलाई सामना गरेर रोकेकै हो र अहिले सरकारमा छँदा पनि बृहत राष्ट्रिय सहमति नभई यथास्थितिमा पास गर्न सकिँदैन भनेकै हो ।’

दुलालले अघि भनेका छन्,‘यथास्थिति र राष्ट्रिय सहमति कुटनीति भाषा हुन् । माओवादी राष्ट्रिय सुरक्षामा चुनौतिपूर्ण संशय रहेको एमसिसी पारित गर्ने पक्षमा छैन, माओवादी सरकार छोडेर बरु सडकमा आउँछ तर एमसिसी पारित गर्दैन । स्पष्ट बिचार र राष्ट्रियताको सवालमा विदेशीसामु झुक्न हुँदैन भनेर स्पष्ट धारणा बोकेको पार्टी हो माओवादी ।’

एकातिर एमसिसी परियोजनाको चर्को विरोध भइरहेको छ भने अर्कोतिर एमसिसी प्रतिनिधिमण्डलको टोली नेपाल भ्रमणमा रहेको छ । सुमार नेतृत्वको यो टोलीको नेपाल भ्रमणलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । यद्यपि नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसिसी परियोजना पास नहुने स्पष्ट धारणा सार्वजनिक गरेको छ।





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १२:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया