प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले ‘संसदीय मर्यादा कामय गर’ भन्दै विरोध प्रदर्शन गरेका थिए ।
सभामुखको भूमिकाप्रति प्रश्न गर्दै एमाले सांसदहरूले यसअघिको बैठक पनि अवरुद्ध गरेका थिए । आजका लागि बोलाइएको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक संचालन गर्नका लागि आग्रह गरिरहेका छन् । उनले एमाले सांसदहरूलाई आफूले अदालतमा विचाराधीन रहेको मुद्दा भएकाले अहिले जनतासँग सम्बन्धित काम सुरु गर्न सांसदहरूलाई आग्रह गरेका थिए । यद्यपि एमाले सांसदहरूले नाराबाजी रोकेका थिएनन् ।
प्रतिनिधिसभा नियमावली खण्ड ख, ग, घ र ङ को प्रावधानको कार्यान्वयन गर्ने दायित्व रहेको भन्दै सांसदहरूको ध्यानाकर्षण गराएका थिए । एमाले सांसदहरूले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, विधिको शासन कायम गर, कानुनको सर्वोच्चता कायम गर लगायतका नाराहरू लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।