संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ । एमाले सांसदहरूले आज (शुक्रबार) १ बजेबाट सुरु भएको बैठकको सुरुदेखि नै नाराबाजीसहित प्रदर्शन गरे ।
१८ मिनेट ४५ सेकेन्ड चलेको बैठकको सभामुख अग्निप्रसाद सापकोटाले सुरु गर्नासाथ एमाले सांसदहरू अवरोधका लागि रोस्टम अगाडि पुगेका थिए । तर, एमाले अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य केपी शर्मा ओली भने आफ्नै आशनमा बसिरहेका थिए ।
यसअघि बसेको प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो, दोस्रो र तेस्रो बैठकमा पनि अध्यक्ष ओली आफ्नो आशनबाट उठेका थिएनन् । तर, उनकै दलका सांसदहरू भने आफ्नो आसन छाडेर सभामुखविरुद्ध प्रदर्शन गरिरहेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक संचालन गर्नका लागि आग्रह गरिरहेका थिए । उनले एमाले सांसदहरूलाई आफूले अदालतमा विचाराधीन रहेको मुद्दा भएकाले अहिले जनतासँग सम्बन्धित काम सुरु गर्न सांसदहरूलाई आग्रह गरेका थिए । यद्यपि एमाले सांसदहरूले नाराबाजी रोकेका थिएनन् ।
प्रतिनिधिसभा नियमावली खण्ड ख, ग, घ र ङ को प्रावधानको कार्यान्वयन गर्ने दायित्व रहेको भन्दै सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।
एमाले सांसदहरूले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, विधिको शासन कायम गर, कानुनको सर्वोच्चता कायम गर लगायतका नाराहरू लगाएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।