गाउँको परिवेश । संयुक्त परिवार । उस्तै उमेरका धेरै केटाकेटी । चलचित्र निर्देशक दीपा बस्नेतको बाल्यकाल रमाइलोसँग बित्यो । बाबु आमा दुबै जना शिक्षण पेशामा । भौतिक रुपमा उनका बाबु आमाले बाल्यकालमा उति धेरै समय दिन पाएनन् । उनको बाल्यकालको धेरै समय हजुरबुवा हजुरआमाको वरिपरी बित्यो ।
बुटवलको देवदहमा हुर्केकी बस्नेतलाई जीवनका हर कुरा हजुरआमाले सिकाइन् । घरमा छोरीहरु धेरै । दिदी बहिनीसँगै पढ्ने, लड्ने, हाँस्ने रुने सबै चल्यो । उनी कहिले भैंसी चराउन जान्थिन् । कहिले दिदी बहिनीसँग मिलेर जंगलमा बाख्रा चराउन जान्थिन् । घाँस र दाउराका भारी आफूभन्दा ठूला बोकेर फर्किन्थिन् ।
त्यो समय छोरीलाई पनि शिक्षा दिनुपर्छ भनेर भर्खर चेतना विस्तार हुँदै थियो । दीपाका बुवाआमा दुबैजना शिक्षणमा भएकाले उनको घरमा शैक्षिक वातावरण थियो । तर उनकै उमेरका गाउँका सबै दिदीबहिनी स्कुल जाँदैनथे । दीपा भने स्कुल जान्थिन् । उनको ध्यान पढाइमा कम, घरमा भएकी हजुरआमामा धेरै हुन्थ्यो । पढाइमा भन्दा धेरै उनको मन हजुरआमाले सिकाउने काममा रमाउँथ्यो ।
खोलामा भैंसीले आहाल खेलेको हेरेर खुसी हुन्थ्यो । पढाइको भन्दा हलुङ्गो हुन्थ्यो दाउराको भारी । दीपाले पनि यो समय हजुरआमा सिकाएका धेरै घरका काम सिकिन् । यिनै कामहरुमा रमाइन । बाल्यकालको त्यो क्षण सम्झँदा दीपाका आँखामा अहिले पनि रोमान्चकता छाउँछ ।
सपनाको एउटै गन्तव्य बनेन
एसएलसी पास गरेपछि भने दीपाको प्राथमिकतामा पढाइ पर्याे। उनी आफैंलाई लाग्यो पढ्नु पर्ने रहेछ । पढाइमा मन गयो । उनका धेरै संगी साथीले यही समय भविष्यका सपना बनाए । सपना अनुसारको अध्ययन थाले । ठाउँ छनौट गरे । तर, दीपाले भविष्यका लागि भनेर कुनै स्पेशल सपना बनाउन सकिनन् । गुरुहरुले प्रश्न गर्थे, ‘भविष्यमा के बन्ने दीपा ?’ उनी जवाफमा भन्थिन्, ‘म यहि बन्छु भन्ने छैन । तर जे बन्छु अब्बल बन्छु ।’ दीपा हरेक काम मन लगाएर गर्थिन । जुन बेला जे गर्ने हो त्यसैमा ध्यान दिन्थिन् । हरेक काममा उनको सुष्म सिकाइ हुन्थ्यो । उनको यो बानी जीवनकालमा निक्कै सहयोगी बन्यो ।
बेलाबेला आँखामा सपना बस्दै नबसेको भने होइन । जीवनको एउटा कालखण्डमा दीपाको मन गायनमा गएर बसेको थियो । ५ कक्षा पढ्दा नै स्कुलले उनको एल्बम निकालिदिएको थियो । गायिका बन्ने सपना भने उनले लामै समय देखिन । जीवनको अर्को खण्डमा पुगेपछि उनले गायनको सपना पनि देख्न छोडिन । उनलाई लाग्यो ‘गायिका बन्न त ठूलो त्याग चाहिने रहेछ ।’ पारिवारिक रुपमा उनको गायनको सपनामाथि आर्थिक लगानी गर्ने अवस्था थिएन ।
त्यतिबेलाको अवस्थामा उनले डाक्टर बन्छु भन्दा खर्च गर्न परिवार तयार थियो । तर, कलाकार बन्छु भन्दा लगानी गर्न उनको परिवार तयार थिएन । कारण कलाकारितामा उज्यालो भविष्यको जग बसिसकेको थिएन । हरेक आमाबाबुले छोराछोरीको भविष्यको सुरक्षा हेर्छ । गायन त्यतिबेलासम्म सुरक्षित क्षेत्र बनिसकेको थिएन । यहीबाट छुट्यो दीपाको गायिका बन्ने सपना ।
त्यसपछि योगा मास्टर
प्लस टु पढ्दाताका दीपाले योगा सिकिन । सानै उमेरमा योगा मास्टर भइन् । योगा सिकाउन नेपाल र भारतका विभिन्न स्थानमा गइन । सानी बच्चीले सिकाएको योगा त्यो समय निक्कै चर्चामा रह्यो । योगा मास्टर हुँदा दीपाले आफ्नो सम्पूर्ण ध्यान त्यसैमा लगाइन् । नाम कमाइन् । पैसा पनि राम्रो कमाइन् । देश विदेशको यात्रा गर्न पाइन् । यो प्रसिद्धिसँगै पढाइ बिचमै छुट्यो ।
सिकाउँदै जाँदा दीपा नाम चलेकी योगा मास्टर बनिन् । उनले नाम चलेका मान्छेलाई योगा सिकाउँन थालिन् । उनीहरुको चालचलन हेर्थिन् । आफूले योगा सिकाउँदै गरेका चेलाहरुको पोजिसन हेर्थिन् । ठूलो पोस्टमा हुन्थे । त्यसबेला दीपालाई लाग्थ्यो ‘मेरो पनि आफ्नै कार्ड होस् । त्यो कार्डमा मेरो नाम होस् । नामसँगै केहि पद होस् ।’ त्यसपछि दीपालाई लाग्यो मैले पढ्नु पनि पर्छ ।
पढ्नुपर्छ भन्ने हुटहुटी मनमा चल्दा दीपा पूर्ण योगा मास्टरका रुपमा तपोवनमा योगा सिकाउँथिन् । कलेजमा गएर पढ्ने वातावरण थिएन । उनले प्राइभेट फर्म भरिन् । वर्षभरी योगा सिकाउने दीपा परीक्षा नजिकिएको एक महिना भने पढाइका लागि छुट्टाउँथिन् । परीक्षा दिन्थिन् । यसरी नै दीपाले स्नातक तहको पढाई सकिन् ।
योगासँगै थिएटर
योगा सिकाउँदै गर्दा दीपाको यात्रा रंगमञ्चमा पनि मिसियो । त्यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा दीपाले थुप्रै नाटकमा धेरै खाले भूमिका निर्वाह गरिन् । थुप्रै सडक नाटक लिएर विभिन्न स्थानमा पुगिन् । रंगमञ्चको यहि यात्रामा भेटिए जीवनसाथी बस्नेत । जीवनसाथी र दीपा दुबैलाई त्यो समय थिएटरमा केहि गर्नुपर्छ भन्ने थियो । यहि केहि गर्नुपर्छ भन्ने मन एकअर्कासँग साटियो । उनीहरुले बिहे गरे । बिहे गरेपछि दीपा फिल्म पढ्न थालिन् ।
दीपाको बिहेताका नेपालमा भर्खर फिल्म कलेज सुरु भएका थिए । स्नातक सकेर बसेकी दीपाले पढाई पूरा गर्ने इच्छा देखाइन् । दीपाको मनमा त फिल्म थिएन । जीवनसाथीले सायद उनका सम्भावना देखेका थिए । उनले फिलम पढ्न सुझाए । सानैदेखि फिल्ममा बन्देज जस्तै थियो दीपाको घरमा । टेलिभिजन हेर्ने परम्परा पनि थिएन । गाना बजाउनाले मान्छे बिग्रन्छ भन्ने सोच थियो परिवारमा । यहि मान्यताको वरिपरी हुर्किएकी दीपा आफैं पनि ‘साइकोलोजी’की विद्यार्थी । उनलाई लागेको थियो ‘फिल्म अध्ययनमा कसरी जानु ?’
सल्लाह गर्दै जाँदा उनलाई पनि लाग्यो जीवन सिक्ने कुरा हो । पढ्दै गएपछि सबै ठीक हुन्छ । फिल्म अध्ययन सुरु गरिन् । फिल्म अध्ययनसँगै दीपाको सपना फेरियो । फिल्म अध्ययन सुरु गरेपछि दीपाले योगा सिकाउने काम छोडिन् । थिएटर पनि छोडिदिइन् । झण्डै भूमिगत भएर अध्ययन गरिन् । फिल्म अध्ययन थालेपछि मात्रै हो दीपाले फिल्म हेर्न थालेको । यो समय उनले संसारभरीका फिल्म हेरिन् । फिल्ममा रस बस्दै गयो । अन्ततः उनको सपनााको बाटो फेरियो ।
विस्तारै फिल्मबाट निर्देशनमा दीपाको मन गयो । यो समय जीवनसाथीले उनलाई हरेक पटक उपहारमा फिल्मका किताब दिन्थे । फिल्मका चक्का दिन्थे । दीपाले निर्देशनका लागि चाहिने चिजहरु खोज्न थालिन् । अध्ययन गर्न थालिन् । योगा मास्टर दीपा यो बिचमा योगा मास्टर बनिन् । पत्रकार बनिन् । अब फिल्म गर्न सकिन्छ भन्ने भएपछि फिल्म निर्देशनमा आइन् ।
बिहे गरेको सात वर्षमा पृथ्वीको जन्म
बिहे गरेको सात वर्ष अध्ययन र सुरक्षित भविष्यको संघर्षमै बित्यो । बच्चाको बारेमा न जीवनसाथीले सोचे । न दीपालेनै सोच्न भ्याइन । तर, उनीहरुका आफन्तले भने बारमबार प्रश्न गरिरहन्थे ‘बच्चा कहिले ?’ विशेष गरेर उनकी आमा र दिदीबहिनीहरुले नै यो प्रश्न धेरै गर्थे । दीपा–जीवनसाथीको भने एउटा फिल्म नगरी बच्चा नजन्माउने सल्लाह थियो । जीवनको संघर्ष त जीवन रहेसम्म रहिरहन्छ । आमा बन्नुअघि फिल्म क्षेत्रमा स्थापित हुने दीपाको चाहाना थियो ।
दीपाले पहिलोपटक चलचित्र ‘अन्तराल’ निर्देशन गरिन् । चलचित्र प्रदर्शनको तयारीमा थियो । प्रचारमा थिइन् दीपा । चलचित्रको प्रचारका क्रममा देश दौडाहामा उनीसँगै थिए चलचित्रका अन्य कलाकार । पूर्वी तराईमा पुगेपछि दीपामा प्रेग्नेन्सी सिम्टमहरु देखा परे । झापामा थाहा भयो आमा बन्दै छु भनेर । त्यतिबेला दीपालाई निक्कै गाह्रो भएको थियो । दीपाले यो खुशी टिममा बाढ्न सकिनन् । पहिलोपटक आमा बन्दै गरेकी उनलाई लाज भयो । सुरुवाती केहिदिनका खुसी भित्रभित्रै एक्लै मनाइन् दीपाले ।
यात्रामा थिइन् । दीपाको मनमा डर पनि थियो । उनलाई लाग्थ्यो, ‘सुरुवाती दिनमै यसरी यात्रामा हिँड्दा मेरो बच्चालाई केहि हुने हो की ?’ त्यसको केहिदिनमा जीवनसाथीलाई फोन गरेर भनिन्, ‘बधाई छ हामी आमा–बाबु बन्ने भयौं ।’ सँगै उनले सुनाएकी थिइन डरको कुरा । जीवनसाथीले नआत्तिन भने । उनी चलचित्रको प्रचार सकेर काठमाडौं फर्किन् ।
गर्भवती अवस्थामा दीपाले सक्रिय जीवन बिताइन । चलचित्रको प्रचार । कार्यक्रम । उनलाई शारीरिक रुपमा त्यत्ति थकान पनि भएन । बान्ता हुनेबाहेक अन्य केहि अप्ठ्यारा देखा परेनन् । उनले खुशीका साथ गर्भवती अवस्थाका ७ महिना पार गरिन् ।
सुत्केरी हुन गाउँ
अरु सुरक्षाका लागि शहर रोज्छन । स्वास्थ्यका हिसाबले शहर सुरक्षित लाग्छ । सुदुर गाउँबाट पनि अन्तिममा बिरामी देशका ठूला शहरमा रिफर हुन्छन् । दीपाले भने सुत्केरी हुन गाउँ (सप्तरी) जाने निधो गरिन् । कारण यहाँ श्रीमान् श्रीमती मात्रै बस्थे । अभिभावक थिएनन् । दीपालाई लाग्यो ‘अस्पताल भन्दा भोग्नेका अनुभव र परिवारको साथ ठूलो हो ।’
गाउँ गएपछि सोचेको जस्तो सजिलो भएन । अस्पताल जाने एम्बुलेन्स समेत चल्ने अवस्था थिएन गाउँमा । मधेस आन्दोलन चर्किरहेको थियो । राजनीतिक अवस्था पनि गन्जागोल थियो । गाउँ गएपछिका दुई महिना उनले रेगुलर चेकअप पनि गराउन पाइनन् । घरदेखि अस्पतालसम्मको यात्रामा नै समस्या भयो ।
खड्किरहने त्यो अभाव
डाक्टरले दिएको डेलिभरी डेटभन्दा १५ दिन अघिनै दीपालाई सुत्केरी ब्यथाले च्याप्यो । जीवनसाथी काठमाडौंमा थिए । दीपाले फोन गरेर घर आउनु भनिन् । जीवनसाथी १० दिनपछि घर जाने तयारीमा थिए । आन्दोलनका कारण तत्काल घर जान सकेनन् । छोरो जन्मिएको दुईदिनपछि मात्रै जीवनसाथी घर पुगे ।
सुत्केरी ब्यथाले च्यापेपछि दीपा सुरुमा राजविराज अस्पताल पुगिन । त्यहाँको अवस्था हेर्न सकिने थिएन । बिरामीको अवस्था, आन्दोलनकारीले तोडफोड गरेका । अस्पतालमा बेड थिएन । अस्पताल प्रशासनले चौरमा बस्न भन्यो । यो सबै देखेर दीपाको मन आत्तियो । उनले ससुरालाई भनिन्, ‘मलाई घोपा अस्पताल (बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) लैजानु ।’ एम्बुलेन्स बुक गरेर भित्री बाटो घोपा अस्पताल पुगिन् । मुख्य सडक आन्दोलनकारीको कब्जामा थियो । त्यो समय मानसिक रुपमा भोगेको पीडा ब्यक्त गर्ने कुनै शब्द छैनन् दीपासँग ।
गर्भ बसेपछि नै दीपाको चाहाना थियो ‘मेरी छोरी होस् ।’ दीपाको यो चाहाना पूरा भएन । घोपा अस्पताल पुगेको छोटो समयमा नै दीपा पहिलोपटक आमा भइन् । नर्मल डेलिभरी मार्फत दीपाले छोरो जन्माइन् । ‘जन्मिएपछि छोराछोरी भन्दा पनि मेरो बच्चा भन्ने हुँदो रहेछ’, दीपाले आफ्नो अनुभव सुनाइन् । यो समय दीपाले जीवनलाई निक्कै सम्झना गरिन । आन्दोलनका कारण श्रीमान् आउन पाएनन् भन्ने मात्रै भयो उनलाई । गाउँघरका मानिससँग उतिसाह्रो चिनजान थिएन । सासु ससुरापनि कहिलेकाँहि भेटेका । यसैले पनि उनले जीवनसाथीलाई निक्कै सम्झना गरिन् ।
श्रीमान् साथमा नहुँदा उनलाई निक्कै डर पनि लाग्यो । यो समय उनका ससुराले साथीको भूमिका निर्बाह गरे । ससुरा कम, साथी बेसी भएर सहयोग गरे । दीपा आफ्ना ससुराको त्यो प्रेम कहिल्यै भुल्न सक्दिनन् । उनका श्रीमान् छोरो जन्मिएको दुईदिनपछि मात्रै घर पुगे । आमा बनेपछि पहिलोपटक श्रीमानलाई देख्दा दीपाले आफूलाई सम्हाल्न सकिनन् । डाँको छोडेर रोएकी थिइन् । उनीसँगै जीवनसाथीले पनि हिक्का छोडेका थिए । त्यो पीडा अहिले पनि दीपाको मनमा गडेर बसेको छ ।
आँखै नहरी छोरो रोएपछि...
पहिलो बच्चा । कसरी केयर गर्नु पर्छ थाहा थिएन । दीपा छोरालाई दूध ख्वाउँथिन् । दूध पनि बच्चालाई पुग्ने आयो आएन थाहा हुँदैनथ्यो । उनको छोरो आँखै नहेरी रुन्थ्यो । बच्चाको पेट भरिएन भन्ने हेक्का कसैलाई भएन । सबैले लागू पन्छाउन लागे । फुकफाक गर्न लागे । तर बच्चाको रुने क्रम रोकिएन । रुने क्रम नरोकिएपछि बच्चालाई ज्वरो आयो । दीपा अत्तालिन ।
घोपा अस्पतालमा उनका भाइ डाक्टर थिए । फोन गरेर समस्या सुनाइन् । उनका भाइले बच्चाको ज्वरो चेक गर्न सुझाए । बच्चालाई १ सय १ ज्वरो आएको थियो । उनका भाइले ‘एम्बुलेन्स रेडी राख्नु, दुई घण्टापछि ज्वरो चेक गर्नु’ भनेर सुझाए । दुई घण्टापछि नाप्दा ज्वरो बढेर १ सय २ भएको थियो । १ सय ४ डिग्रीमा बच्चा फ्रिज हुन्छ भनेर उनका भाइले सुनाउँथे । त्यसपछि उनी पुनः अस्पताल पुगिन् । बच्चाको होलबडी चेकअप भयो । सबै रिपोर्ट नर्मल आयो । त्यसपछि पत्ता लाग्यो बच्चा पेट नभरिएर रोएको रहेछ । दीपाले गाली खाइन् । गाली पनि मीठो हुँदो रहेछ भन्ने उनले आमा भएपछि मात्रै थाहा पाइन् । उनको मन अमिलो पनि भयो । उनलाई लाग्यो ‘आमा त भएँ बच्चाको भोक पनि थाहा पाइनँ ।’
३ महिनापछि काममा
सुत्केरी भएको ३ महिनापछि दीपा कामा फर्किन । फिल्म प्रोडक्सन हाउस थियो । कार्यक्रमहरु हुन्थे । भिडियो एडिटिङको काम । दीपा छोरो बोकेरै अफिस आउँथिन् । छोरो बोकेरै कार्यक्रममा जान्थिन् । उनले त्यतिबेलै थाहा पाएकी हुन् ‘बच्चा भारी हुँदैन रहेछन् ।’ दीपालाई बच्चाले कहिले डिस्टर्भ गरेन । उनलाई बच्चाले झन बलियो बनाएको महसुस हुन्थ्यो । उनी आमा भएपछि परिपक्व भइन् ।
आमा बन्नुअघि दीपालाई आफू अल्लारे रहेछु भन्ने पनि छोरो जन्मिएपछि नै थाहा भयो । उनले काममा दिनुपर्ने जति ध्यान दिन सकेकी रहिनछन् । यो बुझ्न पनि उनले आमा बन्नु पर्यो । छोरो जन्मिएपछि भने दीपालाई जिन्दगीको एउटा लक्ष्य पूरा भएको महसुस भयो । ‘उसको लागि पनि काम गर्नु छ भन्ने हुँदो रहेछ । मलाई पनि यस्तै भयो’, दीपाले सुनाइन् ।
छोरो हुर्किदै गयो । छोराले हरेक दिन गर्ने क्रियाकलाप बढ्दै गए । दीपामा पनि एक्साइटमेन्ट बढ्दै गयो । छोराले गर्ने हरेक क्रियाकलाप भिडियोमा कैद गर्न थालिन् । आफ्नो बच्चा हुर्कदै जाँदा दीपाको खुुसीको दायरा पनि बढ्दै गयो ।
त्यो पहिलो बिछोड
छोरो हुर्कदै गयो । स्कुल जाने उमेरको भयो । पहिलो पटक छोरालाई स्कुल छोड्दा दीपाको मन मात्रै होइन । आँखा पनि बगे । उनलाई त्यसबेला लागेको थियो ‘अब मेरो छोरो म बाट टाढा हुने क्रम यहिबाट सुरु भयो ।’ बच्चा त बच्चा भैहाल्यो । आमा छोड्दा रुनु स्वभाविक हो । यो क्रम निक्कै निक्कैदिनसम्म चल्यो । बानी पर्न झण्डै १० दिन लाग्यो ।
छोरा कुट्दै, रुँदै
ठूलो छोराको नाम पृथ्वी । पृथ्वी नै छोरी भएर जन्मियोस भन्ने दीपाको चाहाना थियो । तर भएन । छोरो ४ वर्षको पुग्दै थियो । दीपालाई लाग्यो ‘छोरालाई साथी चाहिन्छ ।’ उनी पुनः आमा बन्ने भइन् । दोस्रो पटक गर्भवती भएपछि दीपाले प्राथना नै गरेकी थिइन्, ‘मेरो छोरी जन्मियोस्’ भनेर । धेरै ठाउँमा देख्दा उनले छोरा भन्दा छोरी सेन्सेटिभ देखेकी थिइन् । आफ्नै परिवारको पनि यस्तै अनुभव थियो । दोस्रो पटक पनि उनको छोरो नै जन्मियो ।
आफ्नो बच्चा जन्मिएपछि संसारकै सुन्दर हुन्छ । दीपालाई पनि लाग्छ । तर छोरीको अभाव उनको मनमा खड्किरहन्छ । दुईभाइ छोरालाई हेर्छिन् । मनमा आउँछ ‘मेरो किन छोरी भएन ?’ मन बुझाउँछिन ‘मेरो भाग्यमा छोरी थिएन ।’ दुई भाई छोरा हुर्किदै छन् । उनका छोराहरु ८ र ४ वर्षका भए । उस्तै उस्तै उमेरका दुई बच्चा हुर्काउन गाह्रो छ । चकचक गर्छन् । कहिलेकाहिँ हात उठाउनु पर्छ । पिटेपछि छोरा रुन्छन् । छोरासँगै रुन्छिन् दीपा पनि ।
आफूले पिट्दा ठीकै लागेपनि बच्चालाई बाबुले पिटेको पनि आमाको मनले हेर्न सक्दो रहेनछ । दीपासँग पनि यस्तै अनुभव छ । एकपटकको कुरा हो ठूलो छोराले दीपालाई निक्कै पिरे । छोराको हेन्डराइटिङ सुधार्ने समय थियो त्यो । दीपाले छोरो पढाउन श्रीमानलाई जिम्मा लगाइन् । छोरालाई उनका श्रीमानले शब्दैपिच्छे पिटे ।
त्यसपछि दीपाले कहिल्यै श्रीमानलाई पढाउन दिएकी छैनन् । उनी आफैं पढाउँछिन् । दीपाले बच्चा हुर्किने समयमा काम छोडेर घरमै बसिन् । दीपाले छोरा छोडेर काममा निस्कन थालेको एक महिना पनि भएको छैन । उनले पढाइसँगै घरायसी काम पनि सिकाइरहेकी छन् । छोरालाई लिएर दीपाका ठूला सपना छैनन् । उनलाई लाग्छ ‘मेरो छोराहरुले कसैलाई हर्ट नगरोस् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।