संखुवासभा सामूहिक हत्याकाण्ड : रगत पोतिएको​ सर्टले पुर्यायो आरोपितसम्म​, सर्टलाई केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइयो
फरकधार / २६ भदौ, २०७८

संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या आरोपमा प्रहरीले आफन्त लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
लोकबहादुरको घरबाट रगत लागेको कपडा बरामद भएपछि प्रहरीले उनी विरुद्ध दुई दिनदेखि अनुसन्धान गरिरहेको थियो । 



अनुसन्धानको क्रममा लोकबहादुरले शनिवार बिहान २ बजे मात्र हत्या आफूले गरेको स्वीकार गरेका थिए । त्यसपछि उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय संखुवासभा लगिएको छ । 

लोकबहादुरले घटना भएको दिन लगाएको सर्टमा रगतको टाटा देखिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । तर उनी मानसिक बिरामी भएको बताइएको छ । 

उनको सर्टमा लागेको रगत परीक्षण गर्न सर्टलाई केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी पठाइएको छ । 



सर्टमा भएको रगतको परीक्षणको रिपाेर्ट र घटनामा प्रयोग भएको हतियार बरामद भएपछि मात्र उनलाई सार्वजनिक गरिने प्रहरीले जनाएको छ । 

१ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले हत्यामा संलग्न भएको आरोपमा  एक जनालाई पक्राउ गरिएको पुष्टि गरे । 

‘थप अनुसन्धान भइरहेको छ, सम्पूर्ण प्रक्रिया पुरा गरेर र घटनामा प्रयोग भएको हतियारका साथै थप प्रमाण सङ्कलन गरेर अभियुक्त चाडै सार्वजनिक गर्ने तयारी गरेका छौ’ उनले भने । 

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।

मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ । प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ 
पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ । मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ । 

घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ । कार्कीले सुरुमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि क्रमशः पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १२:५१:३८,   अन्तिम अपडेट : भदौ २६, २०७८ शनिबार १२:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया