एमसिसीको विरोधमा प्रदर्शन, २५ जना पक्राउ

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन संसद् भवनतर्फ जाँदै गर्दा प्रहरीले बल प्रयोग गरेको छ । 

कालो कपडामा हजारौँको संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको हो । संसद् भवनतिर जान लागेका २५ जनाभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हेमराज थापा, पुण्य गौतम, राजेन्द्र ताम्राकार, सोम शर्मालगायत प्रदर्शनकारीलाई पक्राउ गरेको हो । 

त्यस्तै, प्रहरीको लाठी प्रहारबाट ज्ञानेन्द्र शाहीलगायत एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । ‘देशका योद्धा नो एमसिसी’ नारा लेखिएको कालो टिसर्ट लगाएर हजारौँको संख्यामा भेला भएका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । 

लामो समयदेखि चर्चामा रहेको एमसिसीलाई संसदबाट अनुमोदन गराउनकै लागि भन्दै यसकी उपाध्यक्ष नेपाल आएकी छिन् । एमसिसी उपाध्यक्ष फातिमा सुमारले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि संसदीय समितिका प्रतिनिधिसँग भेटघाट गरेकी छिन् । 

उनले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवलगायत नेतासँग भेटघाट गरेकी हुन् ।

यस्तै, उनले आज अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेट गरेर एमसिसीबारे निकास चाँडो दिन अनुरोध गरेकी छिन् । एमसिसी लागू गर्न नहुने भन्दै देशैभर विरोध प्रदर्शन भइरहेको छ । यसविरुद्ध विशेषगरी काठमाडौंमा दिनहुँजसो विरोध प्रदर्शन भइरहेको छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १६:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया