कोइराला परिवारको विरासतको रुपमा रहेको मोरङमा नेपाली कांग्रेसको अधिवेशन सुरु हुन सकेको छैन । प्रदेशका १३२ वटा वडामा अधिवेशन सम्पन्न हुँदा प्रदेशको राजधानीसमेत रहेको मोरङमा भने अधिवेशन कहिले हुने टुंगो छैन ।
मोरङबाट कोइराला परिवारका शेखर कोइराला सभापतिको दौडमा छन् । तर, मोरङको क्रियाशील सदस्यता टुंगो लागेर नआएका कारण अधिवेशन अन्योलमा परेको जिल्ला सचिव नागेश कोइरालाले बताए ।
मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ र निर्वाचन क्षेत्र नम्बर ४ मा देखिएको विवादका कारण क्रियाशील सदस्यता टुंगो लागेर नआएको हो ।
‘अहिले तत्काल कार्यतालिकाअनुसार निर्वाचन हुन नसक्दा अन्योलता देखिएको छ,’ सचिव कोइरालाले भने, ‘यो लामो समयसम्म रहन सक्ने देखिन्न, सम्भवतः शुक्रबार रातिसम्ममा नामावली आउँछ ।’
शुक्रबार रातिसम्ममा क्रियाशीलको सूची आएमा असोज १ गतेसम्ममा वडाको अधिवेशन गर्न सकिने कोइरालाले बताए ।
नेपाली कांग्रेस मोरङले नवीकरण गर्नुपर्ने १६ हजार २ सय ७७ र नयाँ क्रियाशील सदस्यताका लागि १४ हजार २ सय ५५ जनाको नामावली पठाएको थियो ।
मोरङमा कुल ३० हजार ५ सय ३२ जनाको नाम अहिले सूचीमा रहेको छ । अहिले भएको नामावलीमा केन्द्रको निर्णय आउँदासम्म केही हेरफेर हुनसक्ने भएकाले अहिलेको तथ्यांकमा तल–माथि पर्नसक्ने जनाइएको छ ।
सभापतिमा ६ जना आकांक्षी
नेपाली कांग्रेसको मोरङ सभापतिमा अहिलेसम्म ५ जनाले दाबी गर्दै आएका छन् । चुनाव दुईपक्षीय हुने भए पनि अहिलेसम्म ५ जनाले सभापतिमा दाबी गर्दै आएका छन् ।
दाबी गर्दै आएकामा अहिलेका सभापति डिकबहादुर लिम्बू, दिलीप गच्छदार, गोपालमान सिंह, यदुकुमार विष्ट र मदन संग्रौला छन् । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीसमेत सभापतिको लाइनमा छन् ।
सभापतिको अकांक्षा राख्ने ६ जना भए पनि लाइनका हिसाबले डिकबहादुर लिम्बू र दिलीप गच्छदार या रमेशजंगका बीचमा प्रतिस्पर्धा हुने देखिन्छ ।
डिकबहादुर लिम्बू पौडेल–कोइराला लाइनबाट सभापतिको दौडमा छन् भने दिलीप या रमेशजंगमध्ये एकजना देउवा लाइनबाट सभापतिमा भिड्नेछन् ।
सभापतिको उम्मेदवारका आकांक्षी रमेशजंग रायमाझीले देउवा लाइनबाट दिलीप र आफूमध्ये एकजना सभापतिको उम्मेद्वार बन्ने बताए ।
‘हामी सहमतिमै सभापति लड्छौँ,’ उनले भने,‘हाम्रो कोइराला लाइनसँग सीधा फाइट छ, त्यही भएर हामी एक भएर आउँछौँ ।’
कोइराला परिवारको विरासत मानिएको मोरङमा यसअघिका अधिवेशन उनीहरुको पक्षमा आउन सकेको छैन । अहिले पनि कमजोर अवस्था त देखिन्न तर कडा प्रतिष्पर्धा हुने पक्का छ ।
उपभापतिमा पनि सर्वसम्मतको संभावना कमजोर देखिएको छ । उपसभापतिमा भक्तिनाथ माझी, मोदराज घिमिरे, नागेश कोइराला, गोपालबहादुर थापा र सुबोध कुमारसिंह चर्चामा छन् ।
त्यस्तै, सचिवमा शिव ढकाल, ललित श्रेष्ठ, सत्यनारायण माझी र बाबुराजा कोइरालाको नाम चर्चामा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।