विचार
सडकले निर्माण गरिरहेको हाम्रो मनोवृत्ति

केही समयअघि सन्धिखर्कमा मोटरसाइकलको पछिल्लो सिटमा बसेर यात्रा गरिरहेको थिएँ । उताबाट सामान्य गतिमा आइरहेको अर्को मोटरसाइकलवाला यात्रुले हाम्रो नजिक आइपुगेपछि गुडाइको गतिमा असामान्य तीव्रता मात्र ल्याएन, उसले हामीलाई धक्का दिने मनसायले नै हामीतिरको किनारामा यसरी जोत्न ल्यायो कि मोटरसाइकल बचाउन हम्मेहम्मे नै भयो । मेरो दाहिने कुहिनामा सामान्य चोट लाग्यो । उसले हामीलाई खाउँलाजस्तो गरी हेरेको र उसको अनुहारमा प्रकट भइरहेको डाहको भाव मेरो मनमा अझै पनि कुँदिएर बसेको छ ।

गत जेठ २९ गते काठमाडौं आइपुगेको थिएँ । माइक्रोबसमा चढ्ने अवसर मिल्यो । उभिएर यात्रा गर्न नपाइने नयाँ नियमले सबै माइक्रोबसका ड्राइभर खलाँसीको हतारमा झनै बढोत्तरी भएको रहेछ । त्यो आत्तुरी, रिस, कुण्ठा र एक प्रकारको क्षोभ म चढेको माइक्रोका ड्राइभर र खलाँसीले पनि लुकाउन सकेका थिएनन् या चाहेका थिएनन् । रत्नपार्क नजिक आइपुग्ने समयमा आखिर उनीहरूले आफ्नो मनोभावलाई एक महिलामाथि थोपरेरै छाडे । 

स्कुटरमाथि सवार अधबैंसे महिलालाई खलाँसीले बेस्सरी गाली गर्यो ‘मर्ने विचार छ कि क्या हो ?’ भन्दै । उसले आफूमाथि दादागिरी चलाएको ती महिलाले नबुझ्ने कुरै थिएन । माइक्रो रोकिएको मौकामा नजिकै आएर उनी पनि बेस्सरी कराइन् । भित्रबाट ड्राइभर र खलाँसी एक मुख भएर कराउने, बाहिर सडकमा एक्ली महिला । अरू कोही बोल्दैन । मलाई खपिसक्नु भएन । मैले झर्कंदै ती दिदीको पक्ष लिएँ । एकछिन गनगन गरेर ड्राइभर र उसको सहयोगी दुवै चुप लागे ।

त्यसको भोलिपल्ट काठमाडौंको जडीबुटी पुलनिर टिप्परले ठक्कर दिएर स्कुटरमा सवार चौबीस वर्षकी अस्मिता भण्डारीलाई मारिदियो । आक्रोशित भीडले टिप्पर जलाइदियो । ड्राइभरचाहिँ भागेर बाँचेको खबर सुनियो । 

त्यसको अझ भोलिपल्ट अर्थात् ३१ जेठको कान्तिपुरमा त्यो समाचारसँगै केही डरलाग्दो तथ्यांक पनि प्रकाशित भयो । पत्रिकाले महानगरीय ट्राफिक महाशाखालाई उद्धृत गर्दै लेख्यो कि यही आर्थिक वर्षमा ट्रिपरकै ठक्करबाट मात्रै सडकमा ३४ जनाको ज्यान गइसकेको छ । अझ अर्को ज्यानै शिथिल बनाउने समाचार के छ भने आर्थिक वर्ष २०७३÷७४ मा ट्रक र टिप्परको ठक्करबाट उपत्यकामा मात्र १४ सय दुर्घटना भएको थियो ।

यी त परिणाम हुन् । यिनको अन्तर्यमा के छ ? हामीले यसको कारणतिर विचार पु¥याउनैपर्ने देखिन्छ । कारण खोतल्न सबैभन्दा पहिला हामीले सडकमा हुर्किरहेको हाम्रो मनोविज्ञानलाई ख्याल गर्नैपर्छ । 



महानगरका गाडीमा यात्रा गर्ने सौभाग्य या दुर्भाग्य मलाई हत्तपत्ति मिल्दैन । चार–पाँच महिनामा एक–दुई दिनका लागि आउँदा कहिले माइक्रो त कहिले अलि मझौला आकारका बसहरूमा यात्रा गर्छु । म देख्छु, एकअर्कालाई धक्कामुक्की गर्ने या अरूको धक्कामुक्की सहने गज्जबको आदत बस्दै छ हामीमा । नैसर्गिक अधिकारमा पर्ने आत्मसम्मान भन्ने चिज त सायद यहाँको धूलोधुँवामा उहिल्यै पुरिएको हो । यतिसम्म देख्न पाइन्छ कि खलाँसीले गर्ने काम यात्रु आफैंले मिलाउनुपर्छ । को कसरी उभिने, को कता फर्कनेजस्ता निर्णय गर्न एकअर्कामा अपरिचित यात्रुहरूले संवाद गरिरहेका सुनिन्छन् । त्यो संवाद सधैं सुमधुर हुँदैन । कहिलेकाहीँ त्यसले झगडाको रूप पनि लिन सक्छ । 

एकपटक एकजना बूढो उमेरका मानिस मेरो छेउमा उभिइरहेका थिए । उनलाई ठाउँ छाडिदिन त कोही तयार भएनन् नै, झर्ने बेलामा हतार हुन्छ भनेर गन्तव्यभन्दा केही वरै माथिबाट झोला निकालेको देखेर गाडीभित्रका अन्य यात्रु कराउन थाले । उनीहरूको समवेत आवाज के थियो भने जहाँ झर्ने हो झोला पनि त्यहीँ नै पुगेपछि निकाल्नू । झोलाले अन्य यात्रुलाई अप्ठेरो बनाउँछ ।



अर्को दृश्य यस्तो छ–
एक ठाउँमा बस करिब एक मिनेट जति रोकिन्छ । यात्रुहरू चढ्छन्, झर्छन् । बस फेरि अगाडि बढ्छ । करिब पचास मिटर पर पुगेपछि एउटी युवतीले बस रोक्न भन्छिन् । खलाँसीले सिटी बजाउँदै ढोकामा हानेर गाडी रोकिदिन्छ । गाडी चलाइरहेको र सहयोगी बनेको मान्छे कोही बोल्दैनन्, तर बसभित्रका केही यात्रु विशेषगरी महिलाहरू ती युवतीमाथि खनिन्छन् । छिनछिनमा गाडी रोक्नुपरेकोमा उनले ठूलै गल्ती गरेको भन्ने उनीहरूको आसय थियो । ‘अघि रोकिँदा झर्नुपर्दैन ?’ भन्दै उनीहरूले तिनलाई हकार्छन्, तर युवती मुस्कुराउँदै झर्छिन् र आफ्नो बाटो लाग्छिन् । यो दृश्यले मलाई बेस्सरी घोच्छ । 

सडकले हाम्रो चिन्तन प्रणालीलाई नै प्रभावमा पारिरहेको तथ्य ढिलोचाँडो त्यसको परिणाम देखा परेपछि नै देखिएला, तर अहिले नै गहिरिएर नियाल्ने हो भने महानगर र त्यसको सडकको मनोविज्ञान ठ्याक्कै मिलेको देख्न सकिन्छ । भित्र उभिनेसम्म ठाउँ नदेख्दानदेख्दै पनि भिडमा हेलिन जानु, अरूलाई धक्का दिनु र आफूले पनि धक्का खानुलाई पनि स्वाभाविक मान्नु, अरूलाई जेसुकै होस् आफूचाहिँ राम्ररी बस्न या उभिन पाए हुन्थ्यो भन्ने गुप्तचाहना राख्नु । दिनदिनैको यो प्रक्रियामा महानगरका आम मान्छे भुक्तभोगी र अभ्यस्त बनिसकेका छन् । 

यही प्रक्रियाले उनीहरूको जीवनमा पनि सामूहिकता होइन व्यक्तिवादी चिन्तनले जरा गाड्दै गएको छ । यो कुराले तत्काल मानिसको प्राण त लिँदैन तर मानसिकतामा समभावको अभाव हुँदै जानेमा कुनै शङ्का गर्ने ठाउँ छैन । यसले समाजलाई लैजाने नकारात्मक दिशातिरको यात्राबारेमा चिन्ता लिने समय सायद ढिलो भइसकेको छ ।

सवारी दुर्घटना दिनदिनै र आमसमस्याजस्तो बन्दै जानुको अर्थ पनि मानिसमा हुर्किएको ‘म’ चिन्तन हो । मै अगाडि, मै जान्ने भन्ने भावनाले हरेक ड्राइभरमा काम गरेकाले यस्तो हुन आएको हो । उनीहरूको मनोवृत्तिलाई चियाउँदा के देखिन्छ भने टिप्पर, ट्रक र ठूला आकारका बसका ड्राइभर आफूलाई सडकका राजा ठान्दछन् । कतिपयले त गाडीमा ‘रोड किङ’ नै लेखेर आफ्नो छुद्रता प्रकट गरेका हुन्छन् । यो कुरा अति सामान्यजस्तो लाग्ला तर यसमा लुकेको मानिसको मनोभावनाले पारेको असर हाम्रो समाजमा देखा परिसकेको छ । उनीहरू माइक्रोबसलगायत साना सवारीसाधनलाई भुसुना ठान्छन् । उनीहरूको जिकिर के हुन्छ भने साना सवारीसाधन आफैं जोगिएर हिँड्नुपर्छ । सतर्क भएर गुड्नुपर्छ । उनीहरूको सुरक्षाको ठेक्का हामीले लिएका छैनौं । 

अनि माइक्रोबसको ड्राइभर दाइ पनि के कम ? उसले पनि यही सोच्छ कि स्कुटीजस्ता दुईपांग्रेहरू यदि ज्यानको माया छ भने हाम्रो दकस मानेर गुड्नुपर्छ । हामीसित काँधमा काँध मिलाएर गुड्न चाहने हो भने जे पनि हुन सक्छ ।

अर्को विडम्बनाको कुरा के छ भने आफूभन्दा बलिया बस, ट्रक, जिप, टिप्पर, ट्र्याक्टर आदिको हेपाइ सहँदासहँदा पल्सरलगायतका हेभी मोटरसाइकल हाँक्ने योङस्टारहरूको मनमा अचम्मको मनोवृत्ति हुर्किंदै छ र तिनले पनि आफूले हेप्ने ठाउँ फेला पारेका छन् । त्यो भनेको पैदलयात्रु हुन् र यदाकदा आफूजस्तै मोटरसाइकलमा सवार मान्छे नै हुन् । पैदलयात्रुलाई सडकमा देख्नासाथ उनीहरूको मनमा रहिबसेको कुण्ठाले शिर उठाउने मौका पाइहाल्छ । सडक छोएर हिँडेको कुनै पैदलयात्री उनीहरूका मानौं दुश्मन नै हुन् । पैदलयात्रुले सडक होइन सडकभन्दा बाहिरको जमिन टेकेर हिँड्नुपर्छ भन्ने उनीहरूको इच्छा धेरै घटनाहरूमा प्रमाणित भएको छ । 

अस्ति भर्खर मात्रै बर्दघाटदेखि त्रिवेणीतर्फ जाने पक्की र राम्रै फराकिलो सडकमा दुईवटा मोटरसाइकल आपसमा ठोकिए । तीनजनाको प्राणपखेरु घटनास्थलमै उड्यो । एकजना सिकिस्त घाइते भएर अस्पतालसम्म पुग्न पाए । उनीहरू सबैको उमेर पच्चीस वर्षमुनिको थियो । उनीहरूको मनोविज्ञान अध्ययन गर्दा के देखिन्छ भने ‘कसले कति धेरै सडक कब्जा गरेर गुड्ने’ भन्ने प्रतिस्पर्धा नै उनीहरूको मृत्युको कारण बनेको थियो । 

यो एउटा उदाहरण मात्र हो । प्रहरी प्रशासनले रोक नलगाउँदासम्म साइलेन्सरमा अतिरिक्त परिमार्जन गराउँदै ठूलो र चर्को आवाजमा मोटरसाइकल गुडाउने प्रतिस्पर्धा पनि कुनै समय युवाहरूमा देखिएको थियो । त्यो पनि सडकमा उनीहरूको ‘तँभन्दा म के कम ?’ भन्ने भावनाको प्रकटीकरण नै थियो ।

विदेशमा कसैले गाडीको ‘हर्न’ अति आवश्यक अवस्थामा मात्रै प्रयोग गर्छन् । अनावश्यक अवस्थामा बजाइएको हर्न कसैलाई गाली गर्नुसरह मानिन्छ । तर नेपालमा पैदलयात्रुलाई या आफूभन्दा सानो वाहनका सवारीलाई तर्साउन र आफ्नो रौब प्रदर्शन गर्न बजाउने गरिन्छ । यो पनि नागरिकको आत्मसम्मानमाथिको प्रहार हो । काठमाडौंमा हर्न निषेध गरेर ढिलै भए पनि राम्रो कामको अभ्यास गरिँदै छ । यो अभ्यास अन्य सहरमा पनि गरिनुपर्छ । 

हामी नेपाली आत्मअनुशासनप्रति बढी नै बेखबर छौं । हाम्रो यही स्वच्छन्दता सडकमा पोखिँदै जाने हो भने दुर्घटनाको दर घट्ने होइन बढ्दै जानेछ । यसतर्फ सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।

  • प्रकाशित मिति : असोज २८, २०७५ आइतबार ११:३२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया