सैनिक रिझाउने प्रधानसेनापतिको योजना– स्वास्थ्य सेवा विस्तारदेखि घर बनाउन २५ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण दिनेसम्म

नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले वहालवाल र अवकासप्राप्त सैनिक रिझाउन बिभिन्न योजना सार्वजनिक गरेका छन् । 

बिहीबार प्रधानसेनापतिको शपथ लिएका शर्माले शुक्रबार आफ्ना योजना सार्वजनिक गरेका हुन् । प्रधानसेनापतिले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा विशेष योजना ल्याएका छन् । 

शिक्षा क्षेत्रमा प्रधान सेनापति छात्रवृत्ति र कल्याणकारी छात्रवृत्ति (स्वदेश)को लागि आफ्नै व्यवस्थापनमा अध्ययन गरिरहेका हिताधिकारीहरुका एक जना सन्ततीलाई छात्रवृत्ति प्रदान गरिने छ । कक्षा ६ देखि १२ सम्म अध्ययन गर्न वार्षिक २० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने छ । 

२०७९ वैशाखको शैक्षिक सत्र देखि कक्षा ४ र ५ मा अध्ययन गरिरहेका हिताधिकारीका सन्ततीलाई समेत बार्षिक २० हजार रुपैयाँ प्रदान गरिने प्रधानसेनापति शर्माले सार्वजनिक गरेको योजनामा छ ।  

त्यसैगरी लुम्बिनी प्रदेशको उपयुक्त स्थानमा सैनिक महाविद्यालय स्थापना गरी शैक्षिक सत्र २०८० बाट संचालन गरिने समेत उनको योजना रहेको छ ।

स्वास्थ्य क्षेत्रमा सेवा बिस्तार गरिने उनले जनाएका छन् । लुम्बिनी प्रदेशमा २५ शैयाको फिल्ड अस्पताल स्थापना गरी सेना दिवस २०७९ बाट सञ्चालन गर्ने प्रधानसेनापति शर्माको योजना छ । 



वीरेन्द्र अस्पतालमा मुटुरोग निदान र उपचारको लागि ‘क्याथ ल्याब’को स्थापना गर्ने योजना उनले ल्याएका छन् । साथै त्रि–चन्द्र मिलिटरी अस्पतालको सुविधा विस्तार गरिनुका साथै वीरेन्द्र अस्पताल र उपत्यका बाहिर अक्सिजन प्लाण्टको स्थापना गर्ने उनले सुनाए ।  

प्रधानसेनापति शर्माले कल्याणकारी निवृत्तिभरणमा पुनरावलोकन गरेका छन् । ६० बर्ष उमेर पुगेका भूतपूर्व सैनिक तथा पारिवारिक नीवृत्तिभरणमा रहेकाहरुलाई वार्षिक रुपमा ५ हजार रुपैयाँ बृद्धि गरी २०७८ असोज १ गतेदेखि बार्षिक १२ हजार रुपैयाँ उपलब्ध गराउइने छ । 



त्यसैगरी विगतको द्वन्दमा विरगति प्राप्त गर्ने तथा कर्तव्यपालनाको सिलसिलामा मृत्यु हुने सकलदर्जाका परिवारलाई दिइँदै आइएको निवृत्तिभरणमा पनि उनले पुनरावलोकन गरेका छन् । 

द्वन्द्वका बेला मृत्यु भएका सेना जो पारिवारिक निवृत्तिभरणमा रहेका करिब ८०० जना एकल महिलाहरुलाई  निवृत्तिभरण रकममा मासिक ५ सय रुपैयाँका दरले थप गरी ३ हजार ५ सय रुपैयाँ पुर्याइएको छ । साथै द्वन्दमा घाईते तथा अपाङ्गता भएका सकलदर्जाहरुलाई चारपाङ्ग्रे स्कुटर उपलब्ध गराइनेछ ।

प्रधानसेनापतिले सार्वजनिकग रेको योजनामा दश वर्ष वा सो भन्दा बढी सेवा अवधि पुरा गरेका सकलदर्जाहरुलाई आवास निर्माणको लागि २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण व्याजदरमा आवास कर्जा उपलब्ध गराउने उल्लेख छ ।  

त्यसैगरी कल्याणकारी यातायात सुविधा प्रदान गर्न वहालवाला सकलदर्जाहरुलाई बर्षमा १ पटक घर विदा जाँदा निःशुल्क यातायात सुविधा उपलब्ध गराईनेछ । सकलदर्जाको लागि परिवार आवास तथा ‘ट्रान्जिट एकुमोडेसन’ को बिस्तार गर्ने योजना उनको छ । 

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १९:२४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया