पश्चिम नेपालका थारु बस्तीमा अट्वारी पर्वको रौनक
फरकधार / २७ भदौ, २०७८

पश्चिम नेपालका थारु समुदाय अट्वारी पर्व घर घरमा मनाइरहेका छन् ।



धार्मिक एवं सांस्कृतिक महत्व बोकेको अट्वारी पर्वको रौनक थारु बस्तीमा छाएको छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी वर्त बस्ने परम्परा अनुसार थारु समुदायले अट्वारी पर्व मनाइरहेका छन् ।

दुई दिनसम्म मनाइने अट्वारी पर्वमा हिन्दू महिलाको महान चाड हरितालिका तीज पछिको शनिबार मध्यरातिमा दर खाएर थारू समुदायको विधिवत रूपमा सुरुआत हुने गरेको छ । अट्वारी पर्व मनाउनेबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन छ । 



अर्कोथरि मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ ।

भीम नेपालको सुर्खेत जिल्लामा रहेको काक्रेबिहार घुम्न आएका बेला शत्रुबाट राजा दंगिशरण चौधरीमाथि आक्रमण भएको थियो । त्यतिबेला रोटी पकाइरहेका भीमले काम छोडेर भोकभोकै राजा दंगिशरणलाई सहयोग गरेका थिए ।

दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ । 

अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । आइतबार दिनभर व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन् । 

वर्त बसेका व्रतालुहरुले फलफूललगायतका पकुवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ ।

अट्वारीको दोस्रो दिन अर्थात सोमबार बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । 

पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाटआधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रही आएको छ । सोमबार बिहानको भोजनलाई थारु भाषामा ‘फ्राहार’ भनिन्छ । 

अघिल्लो दिन (आइतबार) र दोस्रो दिन (सोमबार) ब्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागी फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीबेटीलाई यसै दिन दिने चलन छ । छोरीचेलीलाई वर्षभरिको सम्झनास्वरूप पठाउने कोसेलीलाई ‘अग्रासन’ भनिन्छ ।

विवाहित छोरीचेलीले दाजुभाइहरूले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकारलगायतका पकवानसहितको कोसेली आउला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । 

वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीहरु पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् । अट्वारी पर्व पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका थारू समुदायले मनाउने गरेका छन् ।

  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार ८:३०:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया