भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रूपमा राना थारु समुदायको भाषालाई नसमेटेको भन्दै सो समुदायले आपत्ति जनाएको छ ।
नेपाल राना थारु महासंघ लगायत राना थारु समुदायसँग सम्बन्धित विभिन्न संघ संस्थाले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो ।
आयोगले कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रैथाने समुदायको पहिचान मेटाउन खोजेको राना थारु समुदायको आरोप छ । कैलाली र कञ्चनपुरमा राना थारु समुदायको झण्डै तीन लाख जनसंख्या छ ।
भाषा आयोगले प्रतिवेदन सच्याएर राना थारु भाषालाई पनि कामकाजी भाषाको रूपमा उल्लेख गर्नुपर्ने महासंघका अध्यक्ष कृपाराम रानाले बताए । आयोगले सुदूरपश्चिम प्रदेशमा डोटेली र थारु भाषालाई सरकारी कार्यालयमा कामकाजी भाषाको रूपमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ।
‘आयोगले डोटेली र थारु भाषालाई कामकाजी भाषा मान्यता दिएकोमा हाम्रो कुनै आपत्ति छैन’, अध्यक्ष रानाले भने, ‘तर, त्योसँगै राना थारु समुदायको भाषा पनि समेटिनु पर्दछ ।’
राना थारु समुदायको पहिचानलाई आयोगले मेटाउन खोजेको भन्दै राना थारु समुदायले आन्दोलन गर्ने निर्णय गरेको छ । आयोगको कदमविरुद्ध सोमबार धनगढीमा प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।
विरोधमा सोमबार धनगढीको ट्राफिक चौराहादेखि पार्कमोडसम्म प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । सुदूरपश्चिम प्रदेशमा डोटयाली, थारु, बैतडेली, अछामी र बझाङ्गी भाषालाई सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गरिएको छ ।
संवैधानिक व्यवस्था अनुसार प्रदेशभित्र बहुसंख्यकले बोल्ने एक वा एकभन्दा बढी वा अन्य राष्ट्रिय भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने प्रावधान छ ।
आयोगले प्रदेशको भाषाको तथ्यांक विश्लेषण गर्दा प्रदेशगत जनसंख्याको एक प्रतिशतभन्दा अधिक वक्ता संख्या भएका भाषाको आधारमा सरकारी कामकाजको सम्भाव्य सूचीमा नेपाली बाहेक अन्य पाँच भाषालाई छनोट गरेको जनाएको छ । कैलाली र कञ्चनपुरका ७ वटा विद्यालयमा राना थारु भाषामा अध्यापन हुँदै आएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश सभामा दर्ता भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेत राना थारुको समावेशिता नरहने गरी व्यवस्था गरिएको भन्दै राना थारु समुदायले विरोध जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।