साहित्य सिर्जना गर्ने हो, उत्पादन होइन

चलचित्रका लागि लेख्दा सधैँ एउटै शैली र प्याटर्नको प्रयोग गर्न हुँदैन । अडियन्सले सधैँ एउटै प्याटर्नको गीत सुन्न मन पराउँदैनन् । अडियन्सले के सुन्न खोजिरहेका छन्, त्यो कुरालाई बुझ्ने प्रयास गर्नुपर्छ । त्यसैले, समयसापेक्ष प्याटर्न पनि परिवर्तन गर्दै जानुपर्छ ।

अडियन्सको गीत सुन्ने र छनोट गर्ने शैलीमा पनि दिनदिनै परिवर्तन आइरहेको छ । मैले पछिल्ला १० वर्षमा अडियन्सको गीत सुन्ने बानीको अध्ययन गर्दा नेपाली अडियन्समा दुई–दुई वर्षको अन्तरालमा गीत सुन्ने प्याटर्नमा परिवर्तन आएको पाएको छु । अहिले फल्क प्याटर्नको समय छ । केही समयपछि यो प्याटर्न पनि पुरानो हुनेछ ।

अडियन्सको चाहनाअनुरूप लेख्न सके मात्र चल्छ, नत्र चल्दैन । गीत भनेको जनताको तस्बिर हो । यो कुरालाई गीत लेख्दा सधैँ ध्यान दिनुपर्छ । 

गीत लेखन अरू विधाभन्दा फरक छ । गीत भनेको समाजको तस्बिर हो र गीत लेख्नु भनेको त्यही तस्बिरलाई खिच्नु हो । सबैखाले उमेर, पेसा, र तहतप्काका जनताको रुचि र इच्छालाई समेट्न सक्ने गरी लेख्नु हो । अरू विधामा लेख्दा सबैखाले मान्छेलाई केन्द्रमा राखेर नलेख्दा पनि फरक पर्दैन, तर गीत लेखनको हकमा त्यसो हुँदैन । गीतले सबैलाई समेट्न सक्नुपर्छ ।

उदाहरणका लागि मानी लिऊँ, म एउटा उपन्यास लेख्दैँ छु, त्यस बखत मैले आफ्नो उपन्यासका लक्षित पाठक को हुन् भनेर पहिला निर्क्याेल गरेर मात्र लेखन सुरु गर्छु । तर, चलचित्रका लागि गीत लेख्दाचाहिँ कुनै निश्चित वर्गको पूर्वपहिचान गरी लेख्दिनँ । सकेसम्म सबैलाई समेट्ने चेस्टा मेरो हुन्छ ।

साहित्य भनेको सिर्जना गर्ने हो, उत्पादन होइन । सिर्जनाको सम्बन्ध सृष्टिसँग हुन्छ । सिर्जना भनेको सधैँ शून्यबाट सुरु हुन्छ ।



यदि हामीले पहिले नै भइसकेका, घटिसकेका घटना, लेखिइसकेका विषयवस्तु र जे पहिल्यै छ, त्यसैबाट फेरि सिर्जना गर्छौं भने त्यो उत्पादन हो, तर अलि मिहिनेत गरेर केही नयाँपन ल्याउन सक्यौँ, एउटै कुरालाई फरक–फरक दृष्टिकोणबाट बुझ्ने प्रयत्न गर्याैं, अलि फरक तरिकाले अभिव्यक्त गर्न सक्यौँ भने त्यो सिर्जना हुन्छ ।

बहुसंख्यक साहित्यकार उत्पादन गर्छन् । पहिले नै भनिसकेका, भइसकेका, लेखिसकेका कुराहरूमा अलि भाषा मिलाएर लेखिरहेका हुन्छन् । जसको प्रभव दीर्घकालीन हुँदैन । 



तर, हामीले अलि मिहिनेत गरेर नयाँपन ल्याउन सक्यौँ भने त्यसले अडियन्सलाई छुन्छ, जुन दीर्घकालीन पनि हुन्छ । सबैले हेरिरहेकै कोणबाट लेख्दा त्यसले सबैलाई छुँदैन । हामीले एउटै कुरालाई फरकफरक कोणबाट हेर्न सक्याँै भने मात्र त्यसले सबैलाई छुन्छ र जीवन्त पनि हुन्छ । सबैलाई मेरै लागि लेखेको हो भन्ने अनुभूति गराउन सक्नुपर्छ । 

म उत्पादन गर्दिनँ, सिर्जना गर्छु । हरेक कुरालाई फरक कोणबाट हेर्ने, बुझ्ने, अनि लेख्ने प्रयास गर्छु । सायद मेरा सिर्जनाहरूमा फरकपनको आभाष गरेर नै होला, स्रोताले मेरा सिर्जना मन पराएका । म भन्ने तरिका र विषयवस्तुलाई अभिव्यक्त गर्ने तरिका सिर्जना गर्छु । 

फ्रायडले भने, ‘लोग्ने मान्छेको दिमागमा महिलाको योनी हुन्छ ।’ मैले त्यही कुरालाई अलिक फरक ढंगबाट अभिव्यक्त गरेर ‘लोग्ने मान्छेका आँखा खराब हुन्छन्’ भनेँ । कुरा एउटै हो, तर मैले अलि फरक ढंगले अभिव्यक्त गरेँ, जसले सबैलाई छोयो । हो, त्यसैगरी हामीले हरेक विषयवस्तुलाई फरक ढंगले अभिव्यक्त गर्न सक्नुपर्छ । अनि मात्र त्यसले अरूलाई छुन्छ । 

जुन विषयवस्तुले मान्छेलाई छुन्छ, त्यो नै साहित्य हो । साहित्यले मान्छेलाई छुन सक्नुपर्छ । पढ्दै गर्दा पाठकले त्यो आफ्नै लागि हो भनेर अनुभूति गर्ने साहित्य लेख्न सक्नुपर्छ । 

साहित्य आफ्नो लागि लेखिन्न, जनताका लागि लेखिन्छ । साहित्य भनेको पाठक, स्रोत र दर्शकका लागि लेख्ने हो । साहित्य पढ्दै, सुन्दै, हेर्दै जाँदा कसैले आफूलाई त्यहाँ भेट्न सक्दैन, अनुभूति गर्न सक्दैन भने त्यस्तो साहित्यको मेरो लागि कुनै अर्थ छैन । सिर्जनाले मान्छेलाई तान्न सक्नुपर्छ, झुमाउन सक्नुपर्छ ।

लेख्ने भनेकै समाजका लागि हो । यदि सिर्जनामा अडियन्सले आफूलाई पाउन सक्दैनन्, आफ्नो प्रतिविम्ब त्यहाँ भेट्दैनन् भने त्यसको पनि कुनै अर्थ छैन । मैले पकाएको खाना सबैले खान पाऊन् र मेरा सिर्जना सबै अडियन्ससम्म पुगून् भन्ने मात्र चाहना रहन्छ मेरो । 

मेरा गीतहरू जनबोलीमा झुन्डिरहेका छन् । मेरा गीत पार्टी, विवाहमा, सभा–समारोह र कार्यक्रममा घन्काएर मानिस फनफनी नाचिरहेका छन् । मेरा लागि योभन्दा ठूलो पुरस्कार के हुन सक्छ र ? त्यसमाथि, मैले यो सम्मान गरेर पुरस्कार दिने संस्थाको खोक्रोपनलाई देखिसकेको छु । जसले आफ्नो जीवनको सम्पूर्ण समय साहित्य सिर्जनामा सुम्पेका छन्, उनीहरूले सम्मान पाएका छैनन् । मलाई जीवनभर साहित्य सिर्जनामा समय दिने सर्जकका अगाडि १०/१२ वर्ष मात्र बिताएकाहरूले ‘लाइफ टाइम अवार्ड’ पाएको देख्दा लज्जाबोध हुन्छ ।

फेरि, ती अवार्ड पाउनेले सिर्जना गरेका सिर्जनाबारे कसैलाई पत्तो पनि हुँदैन । ३०/४० वर्षयता हाम्रो समाज साह्रै खुकुलो र बोक्रे भएको छ । असल स्रस्टाहरूमाथि अन्याय भइरहेको छ । मलाई कहिले पनि कथित र पैसाले किनबेच हुने पुरस्कारको मोह जागेन । कसैले सम्मान गरेर पुरस्कार दिएन भनेर गुनासो छैन । मैले पुरस्कार पाए पनि, नपाए पनि मेरो कामलाई सबैले मन पराइरहेकै छन् । मेरो लागि सबैभन्दा ठूलो पुरस्कार यही नै हो । मैले सम्मान पाइएला भनेर कहिल्यै लेखिनँ र लेख्न पनि नपरोस् । मैले अहिलेसम्म एउटा पनि अवार्डको मनोनयनमा आफ्ना सिर्जना दर्ता गराएको छैन ।

जुन विषयवस्तुलाई जनताले मन पराउँछन्, त्यही साहित्य हो । साहित्यलाई पहिले रुवाउन सक्ने हुनुपर्छ भनेर चित्रण गरिन्थ्यो । तर, पछि बिस्तारै नेपाली समाजमा साहित्यको जुन परिभाषा थियो, त्यसमा परिवर्तन आएको छ ।

साहित्य भनेको दुःख मात्र होइन । साहित्यले मान्छेको सबैखाले भावलाई समेट्न सक्नुपर्छ । गीतले मान्छेलाई हासाउन, रुवाउन, नचाउन सक्नुपर्छ, फगत् रुवाउने मात्र होइन । 

मैले लेखेका अधिकांश कथा, उपन्यासमा महिला जागरण र सशक्तीकरणका कुरालाई स्थान दिएको छु । म महिला पात्रलाई अन्त्यमा नायिका बनाउँछु । मेरो कथामा ९० प्रतिशत मुख्य पात्र महिला हुन्छन् ।

मेरो कथाका हरेक पात्रले अन्त्यमा विद्रोह गर्छन् । बन्दुकले ड्याङ–ड्याङ हानेर नहिँडे पनि आफ्नै तरिकाले विद्रोह गर्छन् । सहेर बस्दैनन् । बदला लिएरै छाड्छन् ।

म समाजमा घटित र घट्न सक्ने कुरालाई आफ्नो सिर्जनामा अभिव्यक्त गर्ने प्रायस गर्छु । त्यसमाथि, मैले समाजमै घटित घटनाउपर नै ज्यादा लेखेको छु । काल्पनिक कुराभन्दा पनि समाजकै कुरा, विषय, घटना, परिवेशलाई पृष्ठभूमि बनाएर लेख्छु ।

म अखबार धेरै पढ्छु । अखबार पढ्दा–पढ्दै केही त्यस्तो रोचक घटना, मान्छेले पाएको पीडा, संघर्षले छोयो भने म तिनै कुराहरूलाई आफ्नो सिर्जनाको पात्र र विषयवस्तु बनाएर लेख्छु । वास्तविक कुरा, समाजमै भएका कुरालाई नै साहित्यमा उतार्ने प्रयास गर्छु । 

हामी भनेका एउटा माध्यम मात्रै हौँ । म सन्देशवाहकको रूपमा काम गर्छु । म कुनै पनि कथा, उपन्यास, कविता, गीतको खाका घरका चार दिवारभित्र बसेर लेख्दिनँ ।

मलाई यो विधा सजिला, त्यो विधा गाह्रो भन्ने लाग्दैन । मलाई एउटा परिवेश र विषयवस्तुमा पुगेर त्यसैमा लीन हुन भने केही समय लग्छ । तर, जब म पात्र र परिवेषमा डुब्छु, त्यसपछि म जुन पनि विधामा लेख्छु, त्यसैमा चुर्लुम्मै डुबेर लेख्छु । म केही समयमै त्यसमा अभ्यस्त हुन सक्छु । 

हरेक गायकको आ–आफ्नै गाउने शैली र स्वरको बनावट हुन्छ । म ती सबै कुरालाई बुझेर गीत लेख्छु । र, समयको माग हेरेर पनि गीत लेख्छु । म गीत लेख्दा लय पनि त्यतिवेलै बनाउँछु । मुख्य रूपमा म लयलाई पनि ध्यान दिएर गीत लेख्छु । म गीत र लयको सिर्जना सँगसँगै गर्छु । 

म कहिले पनि एउटै ठाउँमा बसेर लेख्दिनँ । जहाँ शब्द फुर्यो, लेख्ने मुड लाग्यो, त्यहीँ बसेर लेख्न सुरु गरिहाल्छु । बाटोमा हिँड्दा होस् या खाना खाँदा, मेरो लेख्ने मुड चल्यो र शब्द फुरिहाल्यो भने त्यहीँ नै नोट गरिहाल्छु । मलाई कुनै घटनाले तत्कालै छोयो भने पनि म त्यसैलाई आफ्नो लेखनको विषयवस्तु बनाएर लेख्न थालिहाल्छु ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७५ शनिबार ६:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया