कर्णालीमा आत्महत्याका घटना डरलाग्दो

आइतबार बेलुका ६ बजे कालीकोटका पलाँता गाउँपालिका–९ थिर्पुमा रहेको कर्णाली नदीमा हामफाल्न गएकी महिला र एक बच्चालाई प्रहरीले उद्धार गरेर आफन्तलाई बुझाएको छ । 

कालीकोट जिल्लाको पलाँता गाउँपालिका–४ छलाहाँ घर भएकी १९ वर्षीया ती युवती बच्चासहित कर्णालीमा हामफाल्न लागेको बेला प्रहरीले उद्धार गरेर परिवारको जिम्मा लगाएको हो । 

गस्तीमा गएको प्रहरी टोली र स्थानीयले कर्णाली नदीमा हामफाल्न गएको अवस्थामा नदी किनाराबाट ती युवती र बच्चालाई उद्धार गरी थिर्पु प्रहरी चौकीले 
आफन्तलाई बुझाएको थियो । 

श्रीमान् वैदेशिक रोजगारीमा रहेका र घरमा सासुसँग झगडा भएको र दिनहु सासुले आफूलाई हिंसा गर्ने गरेको हुदाँ आफू आत्महत्याको लागि बच्चासहित कर्णाली नदीमा हामफाल्न खोजेको ती युवतीले प्रहरीलाई बयान दिएकी छन् । 

त्यस्तै, सोमबार बिहान एक महिला दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । ती २७ वर्षीया युवतीका  पाँच महिनाको छोरा र ६ वर्षकी छोरी गरी दुई सन्तान छन् । 

आइतबार बेलुका हराएकी उनको सोमबार बिहान रुखमा झुण्डिएको अवस्थामा शव भेटियो । प्रहरीका अनुसार उनले के कारणले आत्महत्या गरिन् भन्ने अहिलेसम्म खुलेको छैन ।



कर्णालीमा आत्महत्याका यी प्रतिनिधि घटना हुन् । कर्णालीमा विगतका वर्षभन्दा पछिल्लो समयमा आत्महत्याका घटनामा वद्धि हुँदै आएको छ । 

कर्णालीमा एक वर्षको अवधिका ३६२ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार देशभर ७ हजार ११७ जना आत्महत्या गरेकोमा कर्णालीका ३६२ जनाले आत्महत्या गरेका हुन् । 



पारिवारिक झैझगडा, दुरुत्साहन, व्यक्तिगत तनाव, सामाजिक तथा मानसिक अवस्थाले आत्महत्या गर्नेको संख्या बढ्दै गएको हो । 

कर्णालीमा गत आर्थिक वर्ष २०७७/०७८ मा ३६२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । जसमध्ये ४७ जना बालबालिका थिए । 

कर्णालीमा आर्थिक वर्ष ०७३/७४ मा ७४ जना, ०७४/७५ मा ९१ जना, ०७५/७६ मा ९३ जना र ०७६/७७ मा ११३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क रहेको छ ।
 
आत्महत्या जनस्वास्थ्यका लागि गम्भीर समस्या भएको यसको रोकथामका लागि चुनौती थपिदै गएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य महाशाखाका प्रमुख बृषबहादुर शाहीले बताए । 

‘आर्थिक वर्ष २०७७/०७८ देशभरका ७ हजार ११७ जनाले आत्महत्या गरेका थिए’, उनले भने, ‘त्यसमध्ये कर्णालीका ३६२ जनाले आत्महत्या गरेका छन् । यो स्वास्थ्य चुनौतीको विषय हो ।’

कोरोना भएका व्यक्तिहरुलाई विभेदपूर्ण व्यवहार, आफन्त गुमाएका, दीर्घकालीन रोग लागेका, युद्ध वा हिंसा, आघातजन्य घटना, लाञ्छानामा परेका, एक्लो जीवन बाँचिरहेका व्यक्तिहरुले आत्महत्याको बाटो रोज्ने गरेको कर्णाली प्रदेश अस्पतालका मनोचिकित्सक डा.सुशील समदर्शीले बताए । 

‘आत्महत्या रोकथाम गर्न सकिने समस्या हो’, उनले भने, ‘आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिहरुसँग कुरा गर्दा उनीहरुले आफ्नो भावना अरुले बुझिदिएको महसुस गर्दछन् ।’

कर्णालीमा प्रदेशमा आत्महत्याका घटना बढ्दै गएकोले न्यूनीकरणका लागि सबै जिल्लामा मनोचिकित्सक राख्ने पहल गरिने र त्यसको आवश्यक प्रक्रिया अगाडि बढाइने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए ।

‘तिनै तहका सरकारले कानुनी, नीतिगत तथा कार्यक्रम ल्याएर जोखिममा रहेका व्यक्तिहरुको पहिचान तथा मनोसामाजिक परामर्श दक्ष जनशक्ति व्यवस्था गरेर रोक्न सकिन्छ’, उनले भने, ‘त्यसको पहल गर्न आवश्यक प्रक्रिया प्रदेश सरकारले ल्याउँछ ।’
 

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १४:२६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया