देखेको त्यो काठमाडौं, भोगेको यो काठमाडौं

शरीरको केन्द्र मुटु । देशको केन्द्र काठमाडौं । आफ्नै शरीरको हिफाजत गरेर मुटु जोगाएझैं जोगाउन सकेनौं हामीले काठमाडौंको सुन्दरतालाई । यही काठमाडौंको लैनचौरमा छुट्यो बालापन । असन, ठमेल, न्युरोड गर्दागर्दै बित्यो तन्नेरी वय । उसैगरी छुटेर गए काठमाडौंका शान्त, शीतल र मुलायम दृश्यहरु । 

अहिले सम्झँदा कथाजस्तो जस्तो लाग्छ । त्यसबेला भनिन्थ्यो, ‘काठमाडौंमा घर भन्दा धेरै मठमन्दिरहरु छन् । मानिसभन्दा धेरै देवीदेवताहरु छन् ।’ काठमाडौंको आकाशबाट नियाल्दा हरिया फाँट देखिन्थे । कतैकतै देखिने बस्ती पनि कलात्मक देखिन्थे । नेवारी शैलीका मठमन्दिर, बौद्ध र स्तुप देखिन्थे । हेर्दाहेर्दै काठमाडौं कंक्रिटको जंगलमा परिणत भयो । 

काठमाडौंले आफ्नो स्वरुप फेरेको धेरै भएको छैन । करिब ३० वर्षको समयमा काठमाडौंको स्वरुप फेरियो । यो ३० वर्षमा काठमाडौं मात्रै होइन, नेपाली समाज नै धेरै परिवर्तन भएको छ । त्यसअघि लगभग २÷४ सय वर्षसम्म पनि नेपाली समाज उस्तै तरिकाबाट अगाडि बढ्यो । आमनेपालीको जनजीवन पनि उस्तै प्रकारले चल्यो, उल्लेखनीय परिवर्तन खासै भएन । उस्तै शैलीमा बाँचिरहेका केही नेपाली काठमाडौंमा थिए । र, छन् पनि । 

भक्तपुर, खोकनाको जनजीवन तीन सय वर्षअघिको र ३० वर्षअघिको लगभग उस्तै थियो । कुटोकोदाली, पानीपँधेरोको दैनिकी खासै परिवर्तनशील थिएन । २०÷२५ वर्षमा अकल्पनीय रुपमा परिवर्तन भयो । बितेका २५ वर्षमा पुराना चिजहरु नदेखिने हिसाबले मेटिए । 

विकासका नाममा भौतिक संरचना निर्माण भए । बाटो, पुल निर्माण भयो । संरचना निर्माण गर्दा हामीले प्राकृतिक सौन्दर्य जोगाउन सकेनौं । म हुर्किएको काठमाडौं शान्त थियो । त्यहाँ प्रदूषण थिएन । भीड थिएन । त्यतिबेला एउटै घटनाको वर्षौंसम्म चर्चा हुन्थ्यो । काठमाडौंमा दुर्घटना र अपराध दर निकै कम थियो । मान्छेलाई मान्छेको भर थियो । मान्छेका साथी मान्छे नै हुन्थे । मान्छेसँग मान्छे डराउँथे पनि । अहिले ती सबै कुरा ‘दन्त्यकथा’ जस्तै भएर गए । 

काठमाडौंको आफ्नै जीवनशैली थियो । विशेष गरेर नेवार समुदायको जीवनशैली नै यो ठाउँको विशेषता हो भन्ने मलाई लाग्छ । नेवार समुदायको परम्परागत रहनसहन यहाँको आकर्षण थियो । जुन बिस्तारै फेरिँदै र हराउँदै गयो । त्यतिबेला सबैभन्दा अग्लो घर भनेको पाँच तलाको थियो । इन्द्रचोकको त्यो घर पनि अग्लो मात्रै थियो, तर फराकिलो थिएन । अहिले त्यस्तो घर टोलटोलमा छन् । काठमाडौं छोटो समयमै अकल्पनीय ढंगमा परिवर्तन भयो । 



पहिलाको वातावरण नै एकदम राम्रो भन्न त मिल्दैन । तर पनि धेरै कुरा राम्रा थिए । म हुर्केको काठमाडौंमा गाउँकै जस्तो सामाजिक परिवेश थियो । त्यतिबेला कुन मान्छे कुन टोलको भन्ने थाहा हुन्थ्यो । म न्युरोड जाँदा ‘यो लैनचौरको केटा’ भन्थे । भक्तपुरको मान्छे यता आउँदा हामी परैबाट चिन्थ्यौं ।



मैले जान्दादेखि म बसेको एरिया लैनचौर नै हो । यो ठाउँ सबै खाली थियो । लैनचौरको मुख्य बाटोमा चिनियाँ नागरिकले सानो खाजा पसल खोलेका थिए । त्यहाँ उनीहरु थुक्पा, नुडललगायतका खाजाका परिकार बेच्थे । त्यो बेला एक प्लेट थुक्पाको डेढ रुपैयाँ पथ्र्यो । हामी ३/४ जना मिलेर डेढ/डेढ रुपैयाँ संकलन गथ्र्यौं र थुक्पा खान जान्थ्यौं । त्यो खुसी अर्कै थियो । अहिले यहाँ ठूलाठूला भवन र पाँचतारे होटल बनेका छन् ।  

१७/१८ वर्षको हुँदा ठमेल भर्खर टुरिस्ट एरिया भनेर विकसित हुँदै थियो । २/४ वटा होटल टुरिस्ट लक्षित खोलिएका थिए । त्यहाँ टुरिस्ट मात्रै देखिन्थे । यहाँका मानिसहरुको होटलमा जाने, बस्ने खाने चलन थिएन । अहिले हरेक ठाउँमा केही संख्यामा नेपाली भेटिन्छन् । काठमाडौंको स्वरुपसँगै नेपालीको जीवनस्तर पनि फेरिएको छ । 

कुनै बेला यो काठमाडौंमा मान्छेको चहलपहल देखेपछि विहानको १० बज्यो भन्ने थाहा हुन्थ्यो । त्यतिबेला अहिले गाडीको जामजस्तै मान्छेका टाउका देखिन्थे । उनीहरु सबै हिँडेर अफिस जान्थे । हिँडेरै फर्किन्थे । त्यतिबेला अहिले जस्तो चोकचोकमा पत्रिका पसल थिएनन् । पत्रिका किन्न न्युरोड नै जानु पथ्र्यो । मानिसहरु अफिस छुट्टी भएपछि न्युरोड जान्थे र पत्रिका, पुस्तक किनेर ल्याउँथे । पत्रिकाको महत्व पनि उस्तै थियो । अहिले हरेक चोकमा २÷३ वटा पत्रिका पसल छन् । पत्रिकाको महत्व छैन । त्यो बेलाको सवारी साधन साइकल । मानिसहरु साइकलमा हिँड्थे । कलेज सुरु गर्दासम्म काठमाडौंमा कसको मोटरसाइकल छ भन्ने सबैलाई थाहा हुन्थ्यो । अहिले एउटै घरमा कसको कस्तो सवारी साधन छ, थाहा हुँदैन । 

छोटो समयमा काठमाडौंले ठूलो ‘वियोग’ बेहोर्नुपर्यो । अन्य विकसित मुलुकहरुले विकास निर्माणको योजना बनाउँदा अगाडिको सय वर्षलाई हेरेर बनाउँछन् । जसले गर्दा कयौं वर्ष पहिले भएका विकास निर्माणका संरचनाले पनि असर गरेको छैन । हाम्रो देशमा २५ वर्षको अवधिलाई मात्रै दृष्टिगत गरेर दूरदर्शिता राखेको भए यो हविगत हुने थिएन । केही भवनहरु आकर्षक होलान्, केही स्थानचाहिँ जान लायक होलान् । समग्रमा काठमाडौं कुरुप बन्यो । बस्ती विस्तार गर्दा अन्धाधुन्ध गरियो । कुनै योजना बनाइएन, अब सबथोक अनियन्त्रित भइसकेको छ । अहिले चाहेर पनि यहाँका कतिपय बाटो फराकिलो बनाउन सक्ने अवस्था छैन । यहाँको बाटोले धान्न नसक्ने गरी सवारी साधन बढेका छन् । धुवाँ, धुलोले यहाँका मानिसहरु निसास्सिएका छन् । काठमाडौं बाहिरका सहर तुलनात्मक रुपमा व्यवस्थित देखिन्छन् । काठमाडौं न पूर्ण रुपमा विकसित सहर रह्यो न पहिलाको जस्तो सुन्दर रह्यो । 

देशका विभिन्न गाउँबाट विद्यार्थी आउँथे । त्यो समय उनीहरु काठमाडौंको खूब तारिफ गर्थे । वाग्मतीमा पौडी खेल्थे । लुगा धुन्थे । काठमाडौंको सुन्दरतालाई आत्मसाथ गर्थे । विभिन्न अवसर र अध्ययनका लागि मानिसहरु काठमाडौं आउने क्रम त रोकिएको छैन, तर अहिले आउनेहरुले काठमाडौंको तारिफ गरेको सुनिँदैन । उनीहरु यहाँको भीड, धुवाँ र धुलोमा सास फेर्नै गाह्रो मान्छन् । बानी पर्न लामो समय लाग्छ । वाग्मती नजिकै पुग्दा नाक थुनेर हिँड्छन् । यही वाग्मतीमा हामीले कुनै दिन पौडी खेलेका थियौं भन्दा अहिलेको पुस्तालाई आश्चर्य लाग्छ । 

त्यो समय काठमाडौंमा तरकारी फल्थ्यो । विषादी नहालेको तरकारी खान्थे यहाँका मानिस । अहिले जस्तो तरकारी पसल पनि थिएन । तरकारी बजार असनमा थियो । किसानले खर्पनमा बोकेर आउँदाआउँदै भेटियो भने मात्रै हो, नजिकै किन्ने । यहाँ थुप्रै खाले कीराफट्यांग्रा देखिन्थे । चराचुरुङ्गी देखिन्थे । त्यो काठमाडौं मानिसहरु मात्रै होइन पशुपन्छीका लागि पनि बस्न योग्य थियो । 

धेरै कुरा मासिँदै गए पनि यहाँका सांस्कृतिक धरोहरले काठमाडौंको सुन्दरता बचाउँदै आएको थियो । त्यो पनि भूकम्पपछि क्षतविक्षत भयो । केही सौन्दर्य काठमाडौं वरिपरि भएका डाँडाकाँडाले जोगाएको छ । वरिपरिका डाँडा पनि पहिला जस्तो प्राकृतिक छैनन् । विभिन्न नाममा यहाँका ककनी, शिवपुर, नागार्जुन, नगरकोटलगायतका स्थानको सौन्दर्य खोसिँदैछ । बाँकी रहेको यहाँको सौन्दर्य जोगाउन सके त राम्रै हुन्थ्यो । 

सबैभन्दा दुःखको कुरा काठमाडौंलाई सुधार्ने सम्भावना पनि छैन । शहरीकरणका सुविधाले गाउँका मानिसहरुलाई आकर्षण ग¥यो । यहाँको जनसंख्या ह्वात्तै बढ्यो । खासमा शहरीकरण आकर्षण र विकर्षण दुवै रहेछ । 

प्रस्तुति : राधिका अधिकारी
 

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार २०:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया