नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूसँग ‘बन्दुक खोइ ?’ भनेर नसोध्न पत्रकारहरूलाई आग्रह गरेका छन् । कहिलेकाहीं पत्रकारहरूले तपाईंहरूको बन्दुक खै ? भनेर सोध्ने गरेको उल्लेख गर्दै विप्लवले त्यसबारे नसोध्न आग्रह गरेका हुन् ।
काठमाडौंमा अमेरिकी परियोजना एमसिसीविरुद्ध आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले यस्तो आग्रह गरेका हुन् । सम्बोधनको क्रममा विप्लवले भने, ‘हामीसँग आधुनिक बन्दुक छैन । अहिले पत्रकार बन्धुहरू यसो गयो कि सोधिहाल्नुहुन्छ । वार्तामा त आउनुभयो तर तपाईंहरूको बन्दुक खै ? भनेर । बन्दुकको कुरा नगर्नुस् ।’
आफूहरूसँग जनता र नौजवान रहेको भाषण पानीमा भिज्दै गर्दा विप्लवले भने, ‘हामीसँग नौजवानहरू छन् । हामीलाई जनताको माया छ । जनताको तागत कुनै पनि बन्दुक र गोलीभन्दा बलियो हुन्छ । हाम्रो विजय, हामी सफल भएर आयौं यसको कारण के हो भने हामी जनताको बीचमा आएका छौं ।’
साथै, उनले एमसिसी परियोजना जबरजस्त आउन नदिने घोषणा पनि गरे । उनले भने, ‘फेरि पनि म भन्छु एमसिसी सम्झौता जबरजस्त लादिँदै छ । माथिदेखि तलसम्म हामीले पढ्यौं । हामीले प्रतिवन्ध भएको बेलामा पनि एमसिसी विरुद्ध लड्यौं । प्रतिबन्ध हुँदा पनि हामीले यसविरुद्ध लड्यौं ।’
प्रतिवन्धसँग आफूहरू नझुकेको भन्दै राज्यसँग नयाँ प्रक्रियामा ३ बुँदे सहमति भएर जनताको बीचमा आइपुगेको बताए । उनले घोषणा गरे, ‘हामी हाम्रो वचनमा प्रतिवद्ध छौं । हामीले जनतालाई ढाँटेका छैनौं ।’ साथै, उनले आफूहरूकाे आवाज सत्यको भएको भन्दै व्यक्तिगत रुपमा कुनै स्वार्थ नभएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।