कोरोनाकालमा धनुषाका स्थानीय तहले २२ करोड ४ लाख ७६ हजार खर्चे
फरकधार / २८ भदौ, २०७८

कोरोनाकालमा धनुषाका स्थानीय तहहरुले २२ करोडभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । धनुषाका १८ स्थानीय तहहरुले कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनको नाममा सो रकम खर्चेका हुन् । 



जिल्लामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकासहित १८ स्थानीय तह रहेकोमा तिनीहरुले लकडाउन भएपश्चात्मात्र २२ करोड ४ लाख ७६ हजार ३ सय ५५ रुपैयाँ खर्च गरेको पाइएको छ । 

आर्थिक वर्ष २०७६–७७ को चैत देखि असार महिनासम्ममा क्वारेन्टिन खर्च, मास्क, सेनिटाइजर, खाना लागयतका शिर्षकमा यहाँका स्थानीय तहहरुले सो रकम खर्च गरेको महालेखापरीक्षकको ५८औँ प्रतिवेदनमा उल्लेख छ । 

कोरोनाकालमा सबैभन्दा बढी जनकपुरधाम उपमहानगरपालिकाले ३ करोड ५ लाख ७८ हजार ९ सय ३२ रुपैयाँ खर्च गरेको छ । जनकपुरधाम उपमहानगरले राहत वितरणको नाममा १ करोड ४६ लाख १६ हजार ४ सय ५० रुपैयाँ खर्च गरेको छ भने क्वारेन्टिन÷होल्डिङ्ग सेन्टरवापत ६८ लाख ९१ हजार ५ सय ५९ रुपैयाँ खर्चेको छ । 



त्यस्तै, गणेशमान चारनाथ नगरपालिकाले २ करोड ३२ लाख ७२ हजार ६ सय ६४ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, नगराइन नगरपालिकाले १ करोड ७९ लाख ६७ हजार १ सय ९२, सबैला नगरपालिकाले १ करोड ५७ लाख १५ हजार, मिथिला विहारी नगरपालिकाले १ करोड ४० लाख २९ हजार १ सय ३६, लक्ष्मिनिया गाउँपालिकाले १ करोड ३९ लाख ९१ हजार २ सय २ रुपैयाँ कोरोनाको नाममा खर्च गरेको छ । 
हंसपुर नगरपालिकाले २०७६–७७ मा १ करोड २३ लाख ६९ हजार ५ सय २९ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । 

हंसपुर नगरपालिकाले १६ लाखभन्दा बढीको मास्क मात्र खरिद गरेको हो । नगरपालिकाले वैदेही कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग कपडाको मास्क खरिद गर्दा ३ लाख ७२ हजार ९ सय, ऋद्धिसिद्धि ट्रेडर्सबाट कपडाको मास्क खरिद गर्दा ४ लाख ९७ हजार २ सय, कविर जेनरल अर्डर सप्लायर्ससँग ८५ हजार २ सय ५८, आदित्य इन्टरनेशनलसँग के एन ९५ मास्क खरिद वापत १ लाख ५४ हजार ५ सय ६०, वैदेही कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग पिपिई सेट, मास्क सेनिटाइजर खरिद गर्दा ३ लाख ४१ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । 

कमला नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा १ करोड २३ लाख १५ हजार ७ सय ९५ रुपैयाँ कोरोना महामारीमा खर्च गरेको छ । त्यस्तै क्षिरेश्वरनाथ नगरपालिकाले १ करोड १५ लाख ५ सय ५५, विदेह नगरपालिकाले १ करोड १२ लाख ५२ हजार १३, सहिदनगर नगरपालिकाले १ करोड ३ लाख ७८ हजार २३, जनकनन्दिनी गाउँपालिकाले ९६ लाख ७६ हजार ७ सय ८९, धनुषाधाम नगरपालिकाले ९६ लाख १ हजार ४ सय ६२, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले ९४ लाख १९ हजार ७ सय २, धनौजी गाउँपालिकाले ५६ लाख ५० हजार ६ सय, औरही गाउँपालिकाले ५३ लाख ९५ हजार २ सय ५४, मिथिला नगरपालिकाले ५२ लाख ६७ हजार ११ र वटेश्वर गाउँपालिकाले कोरोना महामारीमा २० लाख ९५ हजार ४ सय ९६ रुपैयाँ खर्च गरेको महालेखाको ५८ औँ प्रतिवेदनमा उल्लेख छ ।

नेपाल सरकारले २०७६ साल चैत ११ देखी देशव्यापी रुपमा लकडाउन गरेपछि सबैभन्दा बढी गरिब तथा विपन्न परिवारहरु प्रभावित भएका थिए । दैनिक ज्यालादारीमा काम गर्नेहरु लकडाउनमा घरमै थुनिएपछि उनीहरुलाई खानाको समेत समस्या भएको थियो । 

सो समयमा स्थानीय तहहरुले जनतालाई राहत नदिएको र दिएपनि कमसल सामग्री बाँडेको दिएको कयौँ समाचार बाहिरिएका थिए । तर, कोरोनाकै नाममा पालिकाहरुले यति धेरै रकम खर्च गरेपछि उनीहरुले प्रायः रकम भ्रष्टाचार नै गरेको हुनसक्ने स्थानीयको गुनासो छ ।

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १८:१७:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया