मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिङ्ग बोर्ड हटाउने अभियानकर्मी पक्राउ
फरकधार / २९ भदौ, २०७८

सप्तरीमा मन्दिर परिसरबाट मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिङ्ग बोर्ड हटाउने एक महिला अभियानकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।



पक्राउ पर्नेमा राष्ट्रिय एकता अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

हनुमानगर कंकालिनी नगरपालिकास्थित हनुमान मन्दिर प्राङ्गणमा लगाईएको मुख्यमन्त्रीको तस्बिर अंकित स्वच्छता अभियानको होर्डिङ्ग बोर्डहरु अभियानकर्मी साहलगायतका केही युवाहरुले हटाएको खबर पाएपछि प्रहरीको टोली त्यहाँ पुगेर साहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकी साहमाथि कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।



यता, होर्डिङ्ग बोर्ड हटाउने अभियानकर्मीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिने मधेश अधिकार संघर्ष समिति (मास) का संयोजक सरोज मिश्रले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् । 

प्रहरीको उक्त कार्यको भत्सर्ना गर्दै उनले पक्राउ गरिएका अभियन्ता साहलाई अविलम्ब रिहा गर्न माग गरेका हुन् ।

उनले प्रश्न गर्दै भनेका छन्,'के प्रदेश २ भरी यो भ्रष्ट सरकारले सड़क तताउन नै खोजेको हो ?' 

'मठ मन्दिर एवं विभिन्न धार्मिकस्थलसँगै चोक चौहारामा यस्तो पोस्टर लगाएर वातावरण प्रदुषित र अशोभनीय बनाउनेमाथि कारबाही गर्नुको साटो अभियानकर्मीलाई नियन्त्रणमा लिनु अदुरदर्शी र संकीर्ण सोंचको उजागर गर्छ', उनले भने । 

मिश्रले सरकारले आफ्नो यो गलत कदमलाई अविलम्ब सच्याई सुनिता साहलाई रिहा नगरे आफूहरु बाध्य भएर कड़ा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् । 

करिब एक महिना अगाडि जनकपुरधामस्थिथ जानकी मन्दिरमा लगाइएको मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिङ्ग बोर्डहरु पनि केहि युवाहरुले हटाएका थिए ।

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार ७:५८:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया