यो ‘हाइब्रिड’ भाषाको समय हो !
उदय प्रकाश
फरकधार / २९ भदौ, २०७८

हिन्दी भाषाबाट खतरा कसलाई छ ? अहिले यो प्रश्न निकै महत्वपूर्ण हुन पुगेको छ । लोकप्रिय भाषामा भन्ने हो भने पुरानो भनाइ याद गर्नुपर्ने छ– खरबुजालाई चक्कुबाट खतरा छ कि, चक्कुलाई खरबुजाबाट ? वास्तवमा मानव सभ्यताको हरेक पाइलामा दुई चिज सधैं रहन्छ । पहिलो, व्यवस्था र अर्को, व्यवस्थित । भाषा र समाज दुवैमा यो कुरा एकै प्रकारले लागू हुन्छ । र, जुन व्यवस्थाअन्तर्गत हामी नागरिक छौं, ठीक सोही समानान्तर रुपमा हामी भाषाको व्यवस्थाद्वारा अनुशासित छौं । प्रश्न यो छ कि, खतरा कसलाई छ ? नागरिक समाजबाट राजनीतिक व्यवस्थालाई खतरा छ या राजनीतिक व्यवस्थाबाट नागरिक समाजलाई ? अर्थात्, भाषाको जुन व्यवस्था छ– त्यसबाट भाषाको व्यवहार गर्नेलाई खतरा छ कि जुन भाषाको हामी व्यवहार गरिरहेका छौं त्यसलाई खतरा छ ? 



उसो त, हिन्दी निर्माण भएको निकै पछिमात्रै हो र मूल रुपमा यसको जुन स्वभाव छ– युरोपियन या पर्सियनसँग मिल्छ । यो पनि मानिन्छ कि, जबदेखि हाम्रो पश्चिमसँग सम्पर्क भयो तबदेखि नै यहाँको संस्कृतिमा गम्भीर प्रभाव पर्यो । पछि त हामी सीधै इङ्ल्यान्डको उपनिवेश नै भयौं, त्यसपछि उसको स्वभाव पनि हामीमा सर्यो । आज हामी ग्लोबल भएका छौं, त्यसको असर निरन्तर चलिरहेको छ । समयसँगै भाषा परिवर्तन भइरहन्छ । पाली कुनै समय एक सशक्त भाषा थियो, तर आज त्यसको कति असर बाँकी छ ? र, अहिले त हाइब्रिडको समय आएको छ । आज हामी अखबारको भाषा हेरौं त, के त्यो त्यही हो जुन आजभन्दा २० वर्षअघि थियो ? एकातिरबाट हेर्दा हिन्दीलाई कुनै खतरा छैन, हिन्दी निरन्तर अघि बढिरहेको छ । हिन्दीलाई बनाउन र बढाउन जसको योगदान रह्यो, ती कारकहरुलाई सबैले चिन्छन् । यसमा सिनेमा, मनोरञ्जन, रंगमञ्चको ठूलो योगदान रहेको छ । 

हिन्दीलाई विमर्शको भाषा बनाउन जुन अभिजात्यवाद आउनुपर्छ, त्यो अहिले छैन । यहाँनिर पनि एउटा समस्या छ कि, हिन्दी भाषा कुनै अभिजात्य हुन सक्दैन । ग्रामीण परिवेशमा त तपाईं भन्न सक्नुहुन्छ– केही परिवार शिक्षित भए र ग्रामीण अभिजात्य खडा भए । तर, तपाईंले बृहत् स्तरमा हेर्नुभयो भने, यो महानगरमा को अभिजात्य छ र ! जो हिन्दी बोलेर अंग्रेजी अभिजात्यसँग प्रतिस्पर्धा गर्न सक्छ ? 

हिन्दी अहिले कहीँ न कहीँ दुई–चार स्तरमा जुधिरहेको छ । जो अंग्रेजीको प्रोफेसर छ ऊ हिन्दीको पक्ष लिइरहेको देख्छु अनि जो हिन्दीको लेखक छ, उसले अंग्रेजीको वकालत गरिरहेको म देख्छु । जीवन यापन या जागिरका लागि अथवा सामाजिक प्रतिष्ठाका निम्ति कहीँ न कहीँ अंग्रेजी ठूलो माध्यम बनेको छ । एउटा अर्को खतरा पनि छ, हिन्दीमा जब तपाईं आउनु हुन्छ तब अनेक विवादमा फस्नु हुन्छ । बाँकी अन्य बजारबाट हिन्दीलाई कुनै खतरा छैन । बजारकै कारण यो भाषाको जन्म भयो । यसको जुन बहुलता बन्यो, शब्द भण्डार बन्यो, यसको व्याकरण जसरी शिथिल भयो र यसको दायरा जसरी बढ्यो– यी सबैमा बजारको भूमिका महत्वपूर्ण रह्यो । 



भक्तिकालमा भारतमा जुन आन्दोलन भयो, के दामोदरनजस्ता लेखकहरूले पनि यो बजार आएसँगै भएको देखे । बजार आयो र सार्की, दमाई, सिकर्मीलगायत सबैलाई लाग्यो– आफूले एक विकल्प पाएको । र, सामन्ती व्यवस्था तोडेर उनीहरुले एकप्रकारको स्वतन्त्रता र साहसको परिचय दिन सकेको महसुस गरे । साथै, हामीले के पनि भुल्नु हुँदैन भने– भक्तिकालको हाम्रो साहित्य सबैभन्दा समृद्ध छ । अहिले पनि मलाई बजार र सरकारमा कुनै एक चयन गर्नुपर्यो भने म बजार नै छान्छु । किनकि, बजारसम्म मेरो पहुँच छ । 

हामीले केही चिजमा ध्यान दिनुपर्छ, जस्तो ः केन्द्रीय हिन्दी निर्देशनालय छ । त्यसले हिन्दीमा एकरूपताका लागि प्रयास गरिरहेको छ, तर यो कुरा रचनामा लागू हुन सक्दैन । किनभने, रचना कुनै पनि प्रशासनिक कार्यका लागि गरिँदैन, रचनाले त आफ्नो समयको यथार्थ र परिवर्तनलाई प्रकट गर्छ । अहिले व्यवहारको स्तरमा हेर्ने हो भने, हिन्दी बोल्ने निकै छन् । तर, तिनलाई निर्देशनालय, आयोगको नीतिमा बाँध्न सम्भव छैन । 

शुद्ध हिन्दी बोल्ने साहित्यकारले त्यस्तो लोकप्रियता कमाएका छैनन् जस्तो गुलजार या नसिरुद्दीन शाहजस्ता हिन्दी बोल्नेले कमाए । केही कारण अवश्य छ, जनताबाट काटिएको सीमित वर्गको भाषा पनि छ । यी आफ्नो स्वभावैले अभिजात्य होइनन् । यहाँनिर के भन्नै पर्ने हुन्छ भने, जबसम्म देशको सांस्कृतिकता, सामाजिक, आर्थिक स्थिति सुध्रँदैन तबसम्म ठूलो स्तरमा भाषाको गरिबी यसैगरी कायम रहन्छ । र, हिन्दी गरिब, अनपढहरूको भाषा बनिरहन्छ । 

प्रदेश या देश जब समृद्ध बन्छ तब त्यसको भाषा पनि सशक्त हुन्छ । कुनै समय रुसमा फ्रेन्च भाषा बोल्नेलाई अभिजात्य मानिन्थ्यो । र, रसियन भाषा बोल्नेलाई गवाँर ठानिन्थ्यो । तर, जब रुस समृद्ध हुँदै गयो तब रसियन भाषाले यथोचित सम्मान पाउन थाल्यो । 

भाषाप्रति आफ्नो स्वभावमा उदारता जरुरी हुन्छ । हिन्दीका साथै क्षेत्रीय भाषाहरूको पनि आफ्नै स्वरुप छ । म जहाँ जन्मिएँ, छत्तीसगढको सीमामा हामी सबै बहुभाषी थियौं । पिता बघेली बोल्थे, माता भोजपुरी र गाउँका बच्चाहरु छत्तीसगढी– तीनवटा भाषा एकैसाथ परिवारमा आयो । म स्कुल गएँ, खडी भाषा बोल्न सिकेँ, यो मेरो आर्जित भाषा थियो । ध्यान दिनु के पर्छ भने, स्कुल या शिक्षाका माध्यमबाट तपाईं एक अभिजात्य वर्ग तयार पार्न सक्नु हुन्छ । तर, ठूलो संख्यामा सिनेमा या लोकरञ्जन, विज्ञापनसम्म त्यसलाई कसरी लैजानु हुन्छ ? अहिले त हाइब्रिड जमाना छ । शोध गर्नुपर्छ, मोबाइल चार्ज गर्नुपर्छ, इएमआई जम्मा गर्नुपर्छ भने अंग्रेजी माध्यम नै चाहियो । 

खतरा भाषालाई छैन, भाषा त बहिरहेको नदी हो । त्यसलाई रोक्न खोज्यो भने समाप्त हुन्छ । तीन–तीन लाख आवादी भएको समुदायको भाषामा लेख्ने लेखक सारा संसारका लागि महान् लेखक भएका छन्, तर ७० करोडभन्दा बढी मानिसले बोल्ने हिन्दी भाषामा हामी अर्को एक टैगोर पैदा गर्न सकिरहेका छैनौं, अब हामीले यसबारे सोच्नुपर्छ । यहाँ आपसमा मारकाट किन यति ज्यादा छ ? धर्मवीर भारतीले विमल मित्रसँग भनेका थिए– फोहोरमा ढुंगा फाल्दा त्यो फोहोर उछिट्टिएर माथि आउँछ, तर यदि त्यो ठूलो तलाउ छ भने त्यसमा ढुंगा फाल्दा ठूल्ठूला वृत्त बन्छ । त्यसकारण तलाउ ठूलो हुनु जरुरी छ र भारत त एक ठूलो तलाउ नै हो ।

(उदय प्रकाश भारतका प्रसिद्ध साहित्यकार हुन् । हिन्दुस्तान टाइम्सबाट अनूदित तथा सम्पादित ।)   
 
 

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १२:४६:५,   अन्तिम अपडेट : भदौ २९, २०७८ मंगलबार १२:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया