‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने प्रदेश सरकारको निर्णय, मन्त्रीहरुले नै उडाए खिल्ली

प्रदेश २ सरकारले कोरोना महामारी विरुद्धको सचेतना अभियान अन्तर्गत  ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालनमा ल्याउने निर्णय गरेको एक दिन नबित्दै सरकारका मन्त्रीहरुले नै सो अभियानको खिल्ली उडाएका छन् । 

प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशभित्र ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर, उक्त निर्णयको उल्लंघन गर्ने सरकारका मन्त्रीहरुबाटै शुरुवात भएको छ । उनीहरुको यस्तो गतिविधिले अभियान नै असफल हुने सम्भावना बढेको छ । 

भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र अर्थमन्त्री शैलेन्द्र साह लगायतका मन्त्रीहरुले सो अभियानलाई बेवास्ता गर्दै बिना मास्क सार्वजनिक कार्यक्रममा सहभागी भएको देखिएको छ । 

सोमबार प्रदेश सरकारको जनता आवास शिलान्यास कार्यक्रममा भौतिक पुर्वाधार विकासमन्त्री यादव र उनीसँगै सहभागी सरकारका अन्य मन्त्रीहरुले अभियानलाई बेवास्ता गर्दै मास्क नलगाई कार्यक्रमस्थलमा बसिरहे । 

प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसँग कार्यक्रममा मन्त्री र सहभागीहरुले मास्क किन नलगाएको भन्ने प्रश्नमा उनले त्यो कुरा त मन्त्री र सरकारका पदाधिकारीहरुले स्वयंले सोच्नुपर्ने विषय रहेको प्रतिक्रिया दिए । 

‘सार्वजनिक पद धारण गरेका व्यक्तिले आफू र अरुलाई बचाउन आफ्नो  प्रमुख दायित्व ठान्नुपर्दछ । तर, आफै मास्क नलगाउनुको अर्थ उहाँहरुको मूर्खता बाहेक केही होइन,‘ उनले भने । 



भौतिक पूर्वाधार विकासमन्त्री यादवलाई मास्क नलगाएको सम्बन्धमा प्रश्न गर्दा उनले आफू कार्यक्रममा सहभागी रहेको भन्दै सञ्चारकर्मीसँग कुरा गर्न चाहेनन् । 
सोही दिन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई बधाई दिन खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले आयोजना गरेको कार्यक्रममा दुबै मन्त्रीले समेत मास्क लगाएका थिएनन् । 

सार्वजनिक कार्यक्रम मात्र नभई प्रदेश सरकार र मातहतका मन्त्रालय तथा कार्यालयहरूमा मन्त्री देखि कर्मचारीसम्म कसैले पनि आ–आफ्नो कार्यकक्षमा मास्क लगाएको देखिदैन । 



सामाजिक विकास मन्त्रालयका सचिव इमानारायण श्रेष्ठले ‘नो मास्क नो सर्भिस’ अभियान कार्यालयमा सेवा लिन आएका सेवाग्राहीको लागि मात्र नभई मन्त्रीसम्मका लागि सञ्चालन गरिएको बताए । ‘मन्त्रीज्यूहरु आफै मास्क लगाउनु हुन्न भने यसमा केही भन्न सकिदैन,‘उनले भने ।  

कोरोना संक्रमितहरुको संख्यामा कमि आए लगत्तै  सर्वसाधारणले मास्कको प्रयोगमा हेलचक्र्याइँ गर्न थालेपछि प्रदेश सरकारले उक्त अभियान चलाउने निर्णय गरेको थियो । 

बैठकबाट मास्क प्रयोगमा सर्वसाधारणलाई सचेतनाका लागि सञ्चारमाध्यमहरू मार्फत विज्ञापन प्रसारण÷प्रकाशन गराउने निर्णय समेत गरेको थियो ।

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार १५:५९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया