माओवादीको विधान पारित, के छन् स्थायी कमिटी बैठकका निर्णय ?
फरकधार / २९ भदौ, २०७८

नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडााडामा बसेको स्थायी कमिटी बैठकले विधान पारित गरेको हो । 



पार्टी प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारीअनुसार आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो ।

साथै, बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको उनले जानकारी दिए । 

विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको महराले बैठकपछि संचारकर्मीलाई निर्णय सुनाउँदै भने । आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ ।



प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यससम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रुप दिन आग्रह गरिएको बताए । 

‘पार्टीको विधानलाई अन्तिम रुप दिनको निमित्त भाषा सम्पादन गर्ने केही साथीहरुलाई जिम्मेवारी दिइएको थियो । आज अलिकति थपघट भाषामा हेरफेर गर्नुपर्ने आवश्यकता रहेकाले त्यो सक्ने र केही चिज परिमार्जन गर्ने भएमा परिमार्जन गर्ने तर त्यो आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले अनुमोदन गर्ने गरी विधान पास गरियो,’ उनले भने ।

बैठकले विभिन्न ४५ पार्टीबाट विद्रोह गरी आएकाहरूलाई समायोजन गर्नेबारे गठित कार्यदलले बुझाएको प्रतिवेदन पनि पारित गरेको छ । नियुक्त गर्न बाँकी प्रदेश समितिका पदाधिकारीबारे छलफल भए पनि आज कुनै निर्णय नभएको महराले जानकारी दिए ।

मन्त्रिपरिषद् विस्तारबारे भने कुनै छलफल नभएको उनले बताए ।

  • प्रकाशित मिति : भदौ २९, २०७८ मंगलबार २०:३३:२८,   अन्तिम अपडेट : भदौ २९, २०७८ मंगलबार २०:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया