\
बुवा–आमाले कहिल्यै पिट्नु भएको छ ?
मैले जीवनमा कहिल्यै बुवा–आमाको एक चड्कन पनि खाइनँ ।
रिस कत्तिको उठ्छ ?
उठ्दै–उठ्दैन । उठेपछि भयकंर उठ्छ ।
तपाईं कत्तिको रुनु हुन्छ ?
अलि भावुक छु । गीत गाउने मान्छे । रुन आइहाल्छ ।
स्कुल–कलेजमा ‘क्लास बंक’ कत्तिको गर्नु भयो ?
मेरो जीवनमा त्यस्तो कुनै घटना छैन ।
घरबाट भागेर फिल्म हेर्न जानु भयो ?
भागेर त गइनँ । दिदीले माया गरेर लिएर जानु हुन्थ्यो ।
पहिलो प्रेम कति वर्षमा गर्नु भयो ?
पहिलो प्रेम जिन्दगीमा कति वर्षमा भयो होला खोइ ! टिनएजमा होला कि ।
पहिलो चुम्बन कसलाई गर्नु भयो ?
पहिलो चुम्बन मैले मेरो ममीलाई गरेको हुँ । ममीलाई म अत्यन्तै माया गर्छु ।
स्कुल जीवनमा कोही मन परेन ?
त्यतिबेला म त्यस्तो स्वभाव नै नभएको केटी थिएँ ।
स्कुल जीवनको सबैभन्दा ठूलो गल्ती याद छ ?
गल्ती त कुनै याद छैन । सानै उमेरदेखि पैसा जम्मा गर्ने । अरुलाई सहयोग गर्ने । होमवर्क टाइममा गर्ने । आमाले खाजा खान दिएको पैसा दुःखीलाई दिने स्वभावको थिएँ । केही गल्ती त पक्कै भए होलान्, तर ठूला भएनछन् । ठूलाठूला गल्ती गरेको भए त सम्झना आउनु पर्ने हो ।
मन पराएर नपाएको केही चिज छ ?
मलाई जिन्दगीमा योचाहिँ खुब मन पर्यो भन्ने नै भएन । म त गीत मात्रै गाउने हो ‘मन पराएँ माया लाएँ मैले के बिराएँ ।’
जिन्दगीकै ठूलो गल्ती के हो ?
सानोतिनो गल्ती हरेक मान्छेले गर्छ, आफ्नो जिन्दगीमा । गल्तीले नै रहेछ मान्छेलाई सच्याउँदै लैजाने । जन्मँदै पोख्त भएर कोही आउँदैन । जीवनको अन्त्यसम्म सिकाइ चलिरहन्छ । अहिले ठानिएका गल्ती समय बित्दा पाठ हुन्छन् । त्यसैले मैले जीवनमा कुनै पनि कुरालाई गल्तीका रुपमा लिने गरेको छैन ।
सबैभन्दा खुसीको पल ?
छोरी जन्मँदा म सबैभन्दा धेरै खुसी भएको पल हो । त्यो धेरै दुःख पाएको पल पनि थियो । छोरी पनि उस्तै असल छिन् । सबै सुख एकातिर, सन्तान सुख एकातिर राख्दा सन्तान सुखले जित्छ भन्छन् । त्यो हो रहेछ ।
मन पर्ने ठाउँ ?
नेपालको हरेक ठाउँ मन पर्छ । थुप्रै देश पुगियो । नेपालको प्राकृतिक सुन्दरतालाई केहिले जित्न सक्छ जस्तो लागेन ।
फजुल खर्च कत्तिको गर्नु हुन्छ ?
व्यक्तिगत रुपमा फजुल खर्च एकदम कम गर्छु । कहिलेकाहीँ गरियो भने मलाई आत्मग्लानि हुन्छ । यो पैसा बरु गरिबलाई दिन पाएको भए उनीहरुलाई कति धेरै हुन्थ्यो भन्ने टेन्सन भइरहन्छ ।
सास गन्हाउने मान्छेसँग बोल्नु पर्यो भने के गर्नु हुन्छ ?
सास गन्हाउने विभिन्न कारण हुन्छन् । धेरै पटक यस्तो परेको पनि छ । सार्वजनिक रुपमा म उहाँहरुलाई केही भन्दिन । व्यक्तिगत रुपमा सुटुक्क खाना खानु भयो, तपाईंको पेट सञ्चो छ–छैन भनेर सोध्छु । चुइगम दिन्छु ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।