तीन दिनअघि (२७ भदौ) मा आफू ‘एक्लिँदै गएको महसुस’ गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ३० भदौमा ‘देशकै एक नम्बरको पार्टी माओवादी’ रहेको दाबी गरे । केही समयअघि असफलताको दोष अरुलाई भन्दा पनि आफैंलाई दिनुपर्ने उनैले बताएका थिए । प्रचण्डको यस्ता अभिव्यक्तिले उनको ‘एक्लोपन’ र ‘अस्थिर’ मनोविज्ञानको खुलासा गर्छ । त्यतिमात्र होइन, उनी जहिले पनि भीड वा नेता–कार्यकर्ताको ध्यान आफूतर्फ खिचियोस् भन्ने चाहन्छन् । र, भीडको सतही चाहना अनुरुपका अभिव्यक्ति दिन्छन् ।
दशक लामो सशस्त्र द्वन्द्वको पृष्ठभूमिबाट स्थापित भएका प्रचण्ड माओवादी पार्टी र आफूलाई केन्द्रमा राखेर गरिने सार्वजनिक समारोहका भाषणहरूमा निकै उत्तेजित हुन्छन् । सोही उत्तेजनाको परकम्पस्वरुप उनी कहिले माओवादीलाई आगोसँग तुलना गर्छन् त कहिले एक्लिँदै जाने भय मनभरि पाल्छन् ।
यही सिलसिलामा गत ९ साउनमा प्रचण्डले आफ्नो मनको भारी केही नेता–कार्यकर्ताका अघिल्तिर बिसाए । उनका अनुसार आफू पाँच दलीय गठबन्धनको सरकार बनेपछिका केही दिन निकै तनावमा थिए । आफ्ना पार्टीका ४९ जना नै सांसदलाई मन्त्री पद चाहिएको भन्दै प्रचण्डले खुमलटारमा नेताहरु मन्त्री माग्दै आफूकहाँ आउने गरेको तीतो ओकलेका थिए । त्यतिबेलै एकजना स्थायी कमिटी सदस्यले उनको भनाइप्रति असन्तुष्टि राख्दै फरकधारसँग भनेका थिए, ‘हाम्रा अध्यक्ष बूढा कहिलेकाहीँ बोल्न नपर्ने कुरा बोलिहाल्नुहुन्छ र आलोचित बन्नुहुन्छ । पेटमा कुरै राख्न सक्दैनन् क्या !’
केपी शर्मा ओलीलाई विस्थापित गराएर सर्वोच्चको परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मुख्य योजनाकारमध्येका एक हुन, प्रचण्ड । तर, देउवालाई प्रधानमन्त्री बनाएसँगै उनको तनाव झनै बढेको छ । जसको दृष्टान्त उनी आफैं विभिन्न सभासमारोहमा प्रस्तुत गरिरहेका हुन्छन् ।
२९ भदौमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवा संसद्मा उभिएर विश्वासको मत मागिरहँदा प्रचण्डले ओलीतर्फ इंगित गर्दै माओवादीलाई ‘आगो’ को उपमा दिए । उनले चुनौतीको भाषा प्रयोग गर्दै भनेका थिए, ‘माओवादी भनेको आगो हो, यससँग नखेल्नुस् । यसलाई हेप्न र अपमानित गर्न थाल्नु भयो भने आगो फेरि सल्किन सक्छ ।’
किन यति धेरै विवादित अभिव्यक्ति ?
राजनीतिक विश्लेषकहरु प्रचण्डले सधैं भीडलाई केन्द्रमा राखेर उत्तेजित भाषण गर्ने तर्क गर्छन् । उनी भीडको आँखा आफूतर्फ सोझियोस् भन्ने मनोविज्ञानबाट निर्देशित छन् । कतिपय मनोविश्लेषकहरु यसलाई ‘एटेन्सन सिकर’ मान्छन् । जुन एकप्रकारको रोग नै हो ।
प्रचण्डलाई बुझ्नै समस्या परेको बताउँदै राजनीतिक विश्लेषक श्याम श्रेष्ठ प्रचण्डले आफूअगाडिको भीड हेरेर बोल्ने गरेको बताउँछन् । फरकधारसँगको कुराकानीमा श्रेष्ठ भन्छन्, ‘प्रचण्डलाई बुझ्नै समस्या भइसक्यो । के बोल्नुपर्छ त्यो बोल्ने मान्छे होइन । भीड हेरेर बोल्ने मान्छे हो । भीड कस्तो देखिन्छ त्यो अनुसार उनी बोल्छन् ।’
उनीमात्र होइन अर्का राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ पनि जे भन्दा आफ्ना समर्थकहरु उत्साहित हुन्छन् त्यही प्रचण्डले बोल्ने गरेको तर्क गर्छन् । ‘प्रचण्डको विशेषता नै हो । आफूले जे भन्दा समर्थकहरु उत्साहित हुन्छन त्यही भन्छन्,’ आहुतिले भने ।
प्रचण्डको समस्या के हो ?
यी दुई राजनीतिक विश्लेषकले भनेजस्तै प्रचण्डमा आफ्नै प्रकारका समस्या छन् । प्रचण्ड कहिले आफू आगो भएको बताउँछन त कहिले एक्लिँदै गएकोदेखि माओवादी पार्टी अझै देशको एक नम्बर भएको घोषणासम्म गर्न भ्याउँछन् ।
माओवादी नेताहरुलाई पनि प्रचण्डका यस्ताखालका विवादित अभिव्यक्ति मन परिरहेको हुँदैन । पछिल्लो पटक सबै सांसदलाई मन्त्री पद चाहिएको सार्वजनिक अभिव्यक्तिपछि त खुमलटारमा केही नेताले सचिवालयका सदस्यमार्फत् त्यस्तो नबोल्न अध्यक्षसमक्ष सुझाव पठाएका थिए ।
प्रचण्ड यति धेरै अस्थिर भई राजनीतिक सभासमारोहमा देखिनुले विभिन्न समस्या आइरहने माओवादीका दोस्रो तहका नेताहरुको स्वीकारोक्ति छ ।
किन यति धेरै स्खलित छन्, प्रचण्ड ?
१) एकपछि अर्को राजनीतिक हार
०६४ सालको पहिलो संविधानसभाको चुनावमा देशभरबाट वातावरण बनाएर संसदीय अभ्यासमा छिरेका प्रचण्ड त्यसपछि निरन्तर कमजोर हुँदै गएका छन् । आफूलाई जनयुद्धको बेलादेखि नै साथ दिँदै आएका सहयात्रीहरुले उनलाई क्रमशः छाड्दै गएका छन् ।
एक दशकसम्ममा माओवादी यति कमजोर भयो कि ०७४ सालको स्थानीय चुनावमा तेस्रो स्थानमा पुग्यो । त्यसपछि हतारहतार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धन गरेर चुनावमा गएका प्रचण्ड फेरि शक्तिकेन्द्रमा घुम्न थाले ।
तर, उनको यो घुमाइ लामो समय टिकेन ।
झापा आन्दोलनदेखि नै आन्तरिक राजनीतिमा खारिँदै आएका ओलीले एकपछि अर्को निर्णय एक्लै गरेपछि प्रचण्डको प्रभावकारिता खोसिन थाल्यो । अन्ततः यी दुई नेताको मिलन पनि खेर गयो ।
फेरि माओवादी ब्युँताउँदै अघि बढ्ने सोच बनाएका प्रचण्डलाई पछिल्लो समय माओवादीका भेट्रान नेताहरुले साथ नदिएपछि भने झनै कमजोर हुँदै जाँदा अस्थिर अभिव्यक्तिको सहारा लिन थालेका छन् ।
२) पारिवारिक तनाव
जनयुद्धको बेला अध्यक्ष प्रचण्ड पूरै परिवारका साथ भूमिगत थिए । पछिल्ला केही वर्षदेखि पत्नी सीताको स्वास्थ्यवस्था र पुत्र प्रकाश दाहाललाई गुमाउन पर्नुले पनि प्रचण्डलाई निकै तनाव दिएको छ । आफ्ना साथ नछाड्ने प्रण गरेका निकटस्थले साथ छाडिरहँदा पारिवारिक रुपमा पनि प्रचण्ड सन्तुष्ट हुन सकेका छैनन् ।
सिंगापुरदेखि भारतसम्मका विभिन्न अस्पतालदेखि मुगुको तातोपानीसम्म पुर्याउँदा पनि पत्नी सीताको स्वास्थ्य नसुध्रिएपछि प्रचण्डमा उत्साह कम हुँदै गएको विश्लेषण पनि हुन्छ, बेला बेलामा । गत चुनावकै दौरानमा पुत्रवियोगको पीडा बिर्सन नसक्ने घाउको रुपमा प्रचण्डको मनमा गाडिएको छ । जसले उनलाई बलियो बनाउन अझै समस्या ल्याइरहेको देखिन्छ । उनीसँग निकट रहेर राजनीति गरिरहेकाहरु प्रचण्ड भित्री रुपमा निकै भावुकखालको भएकाले सानै असफलतामा पनि चाँडै निराश हुने बताउँछन् ।
३) चीनसँगको सम्बन्ध
अध्यक्ष प्रचण्डले आफू कम्युनिस्ट पार्टीको नेता बताइरहँदा कतै न कतैबाट चिनियाँ राजनीतिसँग पनि जोडिरहेका हुन्छन् । चीनले लिने नीति र त्यहाँको पार्टी सञ्चालनका विधिबारे नेपालमा चर्चा भइरहन्छन् । चीनको नीतिकै कारण त्यो देश अहिले सफल भइरहेको छ । तर, आफ्नो नीतिले सफलता पाउन नसक्दा प्रचण्डमा निराशा जागेको देखिन्छ ।
चीनले आफू उदारवादी नीति लिएर अघि बढेको घोषणा गर्न छाडेको छैन । प्रचण्डमा भने त्यो कुराले वेचैनी बढाएको देखिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीजति पनि आफ्नो पार्टी उदार हुन नसकेको बोध प्रचण्डले गरेका छन् । आफ्नो पार्टी सत्तामा हुँदा पनि जनताका काम राम्ररी हुन नसकेको यथार्थको बोध उनलाई छ ।
‘प्रचण्डमा कुनै सिद्धान्त नै भएन, बोलीको ठेगान छैन’
विश्लेषक श्रेष्ठ भीडलाई हेरेर आफ्ना अभिव्यक्ति प्रस्तुत गर्ने प्रचण्डको पुरानै शैली भएको बताउँछन् । उनी भन्छन्, ‘यसो भीड हेरेर के भन्दाचाहिँ आफूतिर भीड आकर्षित हुन्छ र माहोल तात्छ भनेर उनले बोलिरहेका हुन्छन् । कुनै महत्वपूर्ण विषयमा, सिद्धान्त वा विचारबाट गाइडेड भएर बोलिरहेका हुँदैनन् । उनको पहिल्यैदेखिको स्वभाव हो यो । यो कुनै नौलो कुरा होइन ।’
प्रचण्डको लाइन क्लियर नै भएको बताउँदै उनी थप्छन्, ‘उनी(प्रचण्ड) आफ्नो लाइनमा क्लियर नै छन् । उनको सेन्टरमा देशभन्दा पनि आफैं हुने गर्छ । हि इज भेरी क्लियर । तर, उनी भीड हेरेर बोल्छन् क्या ! उनी भीड हेरेर बिहान एउटा बेलुका अर्को बोलिदिन्छन् । उनी मान्छे त्यस्तै हुन् ।’
अर्का विश्लेषक आहुति पनि ‘आफूले जे भन्दा समर्थकहरु उत्साहित हुन्छन् प्रचण्डले त्यही भन्छन्’ भन्ने तर्क गर्छन् । उनी भन्छन्, ‘मुख्य कुराचाहिँ पार्टीलाई अघि बढाउने विचार उनीसँग भएन । पुरानो कुरा गरेर पार्टी चल्दैन, नयाँ के गर्ने भन्ने ज्ञान उनमा छैन । यो कुरा उनले आफैंले स्वीकारेका छन् ।’
कम्युनिस्ट पार्टी वा राजनीतिक पार्टी कार्यदिशाका आधारमा अघि बढ्नुपर्ने बताउँदै प्रचण्डमा ढोँग ज्यादा भएको आहुतिको मूल्यांकन छ । ‘कम्युनिस्ट पार्टी वा राजनीतिक पार्टी कार्यदिशाको आधारमा अघि बढ्ने हो । कार्यदिशा ठीक भयो भने अरु पद्धति र प्रक्रिया पनि मिलाउँदै जान सकिन्छ ।’ आहुतिले थपे, ‘कसरी अघि बढ्ने भन्ने कुरा नै क्लियर नभएपछि, ढोँग गर्नुपरेको छ क्रान्तिकारी बनेर । प्रचण्डभित्र गुदी छैन । गुदी नभएपछि हप्काउनुपर्ने, दच्काउनपर्ने हुन्छ । सीधै बुर्जुवा पार्टी हो भनेर जसको शक्ति उसकै भक्ति भनेर कांग्रेस र ओलीले जस्तो भन्नुपर्यो ।’
आफैं समाधान गर्न नसकेपछि प्रचण्डको भाषण
जतिबेला सत्ता वा पार्टीमा पद भागबण्डाको कुरा अघि आउँछ, त्यतिबेला प्रचण्ड निकै तनावमा हुन्छन् । देउवा नेतृत्वको सरकार विस्तारमा पनि आफ्ना सबै सांसदलाई मन्त्री बन्नुपरेको उनले बताएका थिए । आहुति भने पार्टीभित्र आएको अन्तर्विरोधलाई हल गर्नका लागि प्रचण्डले यस्तो टिप्पणी गरेको बताउँछन् ।
आहुतिले भने, ‘पार्टीभित्र आएको अन्तर्विरोधलाई हल गर्नका लागि त्यसो भनेका हुन् । सबैले मन्त्री बन्न पर्यो भनिरहेका छन्, अनि तिनीहरुलाई गालि गर्न पर्यो नि त ! किनभने, उनलाई आफ्नै मान्छे मात्र मन्त्री बनाउनुपरेको छ । अनि गालि गर्नुपर्यो नि, त्यही गरेका हुन् । उनले ४९ जनालाई नै मन्त्री चाहिएको छ भनेर थर्काइरहेका हुन्।’
आकांक्षीहरुको मुखमा बुझो लगाउन प्रचण्डले त्यस्ता अभिव्यक्ति दिएको हुन सक्ने उनको भनाइ छ । आहुति थप्छन्, ‘आकांक्षीहरुको मुखमा बुजो लगाएर आफ्नो मान्छे राख्ने गरी गरिएको तयारी पनि हो त्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।