के नेपालमा कोरोनाको तेस्रो लहरको जोखिम टरेको हो ?

जनस्वास्थ्यविद् तथा चिकित्सकहरूले गत असारमै कोरोनाको तेस्रो लहर फैलने चेतावनी दिएका थिए । त्यो पनि मिति नै तोकेरै । तीजपछि तेस्रो लहरको महामारी फैलिने र त्यसले बालबालिकालाई बढी प्रभावित पार्ने उनीहरूको चेतावनी थियो । 

विज्ञको चेतावनीपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई तयारी गर्न परिपत्रसमेत गर्‍यो । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई तेस्रो लहरको पूर्वतयारी गर्न भन्दै गरेको परिपत्रमा भनिएको थियो– ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ दृष्टिगत गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन,  शैय्यालगायतका पूर्वाधारहरू तथा सेवाहरू चुस्तदुरुस्त राख्नुहुन अनुरोध समेत छ ।’

तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै स्वीकृत श्ययाको कम्तीमा २० प्रतिशत श्यया कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न अनुरोध गरिएको थियो । उक्त परिपत्रपछि अधिकांश अस्पतालले त्यसको तयारी थाले । 

दोस्रो लहरको महामारी नियन्त्रण गर्न गत बैशाख १६ गतेदेखि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो, यो अहिले हटिसकेको छ । अहिले २५ जना भन्दा बढी मानिसहरू एकै ठाउँमा भेला हुन नपाउने बाहेक सबै प्रतिबन्ध फुकुवा भइसकेको छ । 

तीज सकिएसँगै तेस्रो लहरको चेतावनी दिएका विज्ञहरूले अब महामारी धेरै टाढा नरहेको प्रतिक्रिया दिइरहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले तेस्रो लहरको जोखिम कायमै रहेको बताए । 

‘अहिलेसम्म भीडभाड कम थियो । त्यसैले संक्रमण कम देखियो । अब तीज सकिएपछि दसैं–तिहारसँगै भीडभाड बढ्छ । त्यसपछि संक्रमण बढ्छ,’ डा. मरासिनीले भने । कोरोना भाइरसविरुद्धको खोप ७० देखि ८० प्रतिशतलाई नलगाउँदासम्म संक्रमणको जोखिम उच्च नै हुने उनको भनाइ छ । 



गत वर्षको पुसको अन्तिमबाट सुरू भएको खोप अभियान पनि ८ महिना पूरा भइसकेको छ । अहिलेसम्म ५८ लाख ७७ हजार ७९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ५२ लाख ४३ हजार २३६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक सर्वेक्षणअनुसार खोपको पूर्ण मात्रा लगाएका ९० प्रतिशतमा एन्टिबडी बनेको छ । एक मात्रा खोप लगाएका ८० प्रतिशत व्यक्तिमा एन्टिबडी बनेको देखिएको थियो । कोरोना संक्रमित भएका ६८.६ प्रतिशतमा कोरोना एन्टिबडी बनेको देखिएको थियो ।  



७० देखि ८० प्रतिशतसम्मले खोप नलगाउँदासम्म यसको जोखिम कायमै रहने जनस्वास्थ्यविद् डा. रमेश आचार्यले बताए । ‘केही समय संक्रमण न्यून भयो भन्दैमा जोखिम कम भयो भन्न मिल्दैन । अबको केही समयमा तेस्रो लहर आउन सक्छ,’ उनले भने । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारी एन्टिबडी बनेका कारण संक्रमणदर घट्दै गएको बताउँछन् । खोप लगाएका र यसअघि नै संक्रमित भएकाहरूका कारण एन्टिबडी बन्ने क्रम बढेकाले संक्रमणको दर घटिरहेको उनको भनाइ छ । 

उनले तेस्रो लहर आएर पनि कम हुन थालिसकेको बताए । ‘अहिले दोस्रो लहर सकिएर तेस्रो लहर पनि क्रमिक रूपमा कम हुन थालेको छ । दसैं–तिहारपछि फेरि संक्रमण बढ्न सक्छ । तर, पहिलाको जसरी धेरै बढ्दैन कि भन्ने हाम्रो अनुमान हो,’ उनले भने ।  

असोजको अन्त्यतिर फेरि संक्रमण बढ्ने देखिए पनि यसअघिको जसरी भयावह अवस्था नआउने डा. अधिकारीको भनाइ छ । अहिलेसम्म एक करोड भन्दा बढीले खोप लगाइसकेका छन् । १८ वर्षमाथिका दुई करोड १७ लाख ५७ हजार भन्दा बढीलाई खोप लगाउने योजना सरकारको थियो ।

तर, बालबालिका लागि समेत खोपको विकास भइसकेको छ । अब सरकारले बालबालिकाका लागि मोडर्ना र फाइजर खोप किन्ने प्रक्रिया अघि बढाएको छ । चाँडै नै फाइजर खोप प्राप्त हुने र बालबालिकालाई लगाइने सह–प्रवक्ता अधिकारी बताउँछन् । 

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार १९:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया