खुलेन साँफे–मार्तडी सडक : यात्रुलाई सास्ती, खाद्यान्न अभाव

बन्द भएको तीन महिनाभन्दा बढी समय हुँदासमेत साँफे–मार्तडी सडकखण्ड सुचारु हुन सकेको छैन । बाजुराको अम्कोटको पहिरोका कारण जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य सडकखण्ड अवरुद्ध भएको तीन महिनाभन्दा बढी भएको छ । जेठ दोस्रो सातादेखि सदरमुकाम मार्तडीमा यातायात सञ्चालन हुन सकेको छैन ।

साँफे–मार्तडी सडकखण्डको बुढिगंगा नगरपालिकाको बल्दे अम्कोटकोमाथिबाट पहिरो बग्ने र त्रिवेणी नगरपालिकाको पैमाको भीरबाट पहिरो आएर तलतिर बूढीगंगा नदीको सडक कटान गर्दै चार वर्षदेखि बर्खायाममा सडक अवरुद्ध हुँदै आएको छ ।

यस सडकमा हिउँदेयाममा जोखिम मोलेर जेनतेन यातायातका साधन सञ्चालन भए पनि ६ महिनासम्म सदरमुकाम मार्तडीको यातायात सेवा ठप्प हुन्छ । भत्किएको सडक सञ्चालनका लागि कुनै पनि निकायसँग छलफल हुन सकेको छैन । जिल्लाको नेतृत्व गर्ने नेताहरुले कुनै पनि पहल नगरेको बाजुरावासीको गुनासो छ ।

साँफे–मार्तडी सडकअन्र्तगत तिपाडादेखि ओम्कोटसम्म पूरै भास्सिएको छ । निर्माण सकिएको दुई वर्ष नपुग्दै बाजुरा सडक क्षतविक्षत भएको हो । चार वर्षअघि झन्डै ७० करोडको लागतमा निर्माण भएको सडकको कतिपय ठाउँमा नामोनिसान नै मेटिएको छ । 



बाजुरा त्रिविणी नगरपालिका–९ पैमा घर भएका भानुभक्त पाध्याले बाजुरा र अछामको मध्यभाग भएर बग्ने बूढीगंगा नदीले धेरै क्षति पुर्याएको बताए । ‘पैमाको पहिरोले साँफे–मार्तडी सडकलाई पनि असर गरेको छ । पारि पहिरो खस्ने, वारितर्फ नदी हानिने हुँदा अम्कोट क्षेत्र पूरै दरा परिसकेको छ,’ उनले भने, ‘बाजुरा सदरमुकाम जोड्ने सडकका लागि केन्द्र सरकारको पहल आवश्यक छ ।’ 

जबरजस्ती हिउँदेयाममा पुरानै सडक प्रयोग हुने, तर त्यो सडक वर्षायामा खतम हुने परिपाटी हरेक वर्ष हुने गरेको उनले गुनासो गरे । 



सडक अवरुद्ध बनेपछि स्थानीय बल्देदेखी तिपाडासम्म आउनका लागि ज्यानको जोखिम राखेर आवतजावत गर्ने गर्छन् । बल्दे अम्कोटको पहिरो पार गर्न करिब १५ देखि २० मिनेट लाग्छ । ज्यानै दाउमा राखेर पिठ्युँमा भारी बोक्दै सामान ओसारपसार गर्ने बाध्यता छ । 

बर्खाका बेला सडक भत्किएपछि सदरमुकामा मार्तडीसँग बाजुरा जिल्ला सदरमुकाम र धेरै स्थानीय तहसँगको सम्बन्ध टुटेको छ । ‘बल्दे अम्कोटको सडक सञ्चालनका लागि न त दीर्घकालीन योजना छ, न त वैकल्पिक पहल हुन नै सकेको छ ।’ 

बर्खाका चार महिना सडक पूरै अवरुद्ध हुने गरेको बाजुराका सञ्चारकर्मी गंगाराम पण्डित बताउँछन् । ‘बर्खा सुरु भएपछि मार्तडीवासीको दुःखका दिन सुरु हुन्छन्,’ उनले भने, ‘नागरिकको पीडा कुनै पनि निकायले सुन्न सकेको अवस्था छैन ।’

सडक बन्द हुँदा खाद्यान्न अभाव

सडक बन्द भएपछि बाजुरामा खाद्यान्न अभाव भएको छ । ३ महिनाभन्दा बढी समयदेखि सडक सुचारु नहुँदा खाद्यान्न ढुवानी हुन नसकेको छैन । मौज्दात रहेको खाद्यान्नसमेत सकिएपछि जिल्लामा खाद्यान्न अभाव भएको हो । मौज्दात चामल सकिएपछि बाजुराको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी भदौ २८ गतेदेखि नै बन्द गरिएको छ । सडक सुचारु नहुँदासम्म खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी बन्द रहने जनाइएको छ ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका निमित्त कार्यालय प्रमुख सन्तोष विकका अनुसार शाखामा हाल प्राकृतिक विपद्का लागि भनेर ६० क्विन्टल मात्र चामल मौज्दात गरिएको छ । ‘६० क्विन्टल चामल प्राकृतिक प्रकोपका लागि छुट्याइएको छ,’ उनले भने,‘सो चामल बेच्न पाइँदैन, सडक सुचारु नभएसम्म खाद्यान्न ढुवानी गर्ने वातावरण पनि छैन ।’ मौज्दात चामल सकिँदा बाजुराका आमसर्वसाधारणलाई समस्या भएको उनले बताए ।

जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा पनि प्राकृतिक विपद् र जिल्ला कारागारमा रहेका कैदीलाई खान खुवाउन छुट्याइएको ७० क्विन्टल चामल मात्र रहेको जनाइएको छ ।

यो आर्थिक वर्षको लगभग ५–६ दिनभित्र ढुवानी सेक्टरको स्वीकृत हुने र त्यसपछि सके छिट्टै चामल ढुवानी गर्ने पहल गरिने खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका निमित्त कार्यालय प्रमुख विकले बताए । 

गहुँ १ सय ५० क्विन्टल मौज्दात रहेकाले गहुँ बिक्री वितरण यथावत् रहेको विकले बताए । 
 

  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार २१:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया