हत्यामा नाता सम्बन्ध : श्रीमान् श्रीमतीबाटै हुन्छ सबैभन्दा बढी हत्या

पछिल्लो समयमा भएका धेरैजसो हत्याकाण्डमा नातेदारकै संलग्नता बढी पाइएको छ । प्रहरी मुख्यालयको एक तथ्यांकअनुसार देशमा आफ्नै परिवारभित्रबाट आफन्तको हत्या गर्ने काम भइरहेको छ । 

पुस महिनाको अन्तिम साताको कुरा हो, टोखाको । यहाँको एक अपार्टमेन्टमा श्रीमान/श्रीमती मृत अवस्थामा फेला परेको समाचार आयो । प्रहरीको टोली लगत्तै घटनास्थलमा पुग्यो । 

यो घटनामा श्रीमतीले श्रीमानको हत्या गरेर आफू आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । पेसाले दुबैजना इन्जिनियर रहेका जोडीमा आपसी विवाद हुँदा श्रीमती सुदीक्षा गिरीले आवेगमा आएर श्रीमान् उमेश केसीको हत्या गरिन् । 

श्रीमती गिरीले लोहोरोले टाउकोमा हानी श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानमा देखियो । 

यो घटनाको ठीक एक महिनापछि अर्को घटना भयो । जुन घटना यो घटनाको उल्टो थियो । अर्थात् यहाँ श्रीमानबाट श्रीमतीको हत्या भयो । 

करिब आठ महिना अगाडिको कुरा हो, वीरगञ्जको । माघ महिनामा वीरगन्जमा आफ्नै श्रीमानबाट श्रीमतीको हत्या भयो । वीरगन्ज बस्दै आएका भारतीय नागरिक असरफ अन्सारीले श्रीमती मनु थापाको हत्या गरे ।



प्रहरी अनुसन्धानमा घाँटी थिचेर थापाको हत्या भएको खुल्यो । सामान्य विवाद अर्थात् आपसी मनमुटाव हुँदा अन्सारीले श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्यो । दुबैले प्रेम विवाह गरेको डेढ वर्षमै श्रीमानले श्रीमतीको हत्या गरे।

नातेदारबाट कति हत्या ?



प्रहरी मुख्यालयको आँकडामा पछिल्लो समय रगतको र खास नाताबाट धेरै हत्या हुने गरेको पाइएको छ । तीन आर्थिक वर्षमा प्रहरीमा नातेदारबाटै डेढ हजार भन्दा बढी हत्याका घटनाको मुद्दा दर्ता छ । 

प्रहरी अभिलेखमा आव ०७५/०७६ देखि ०७७/०७८ सम्ममा १ हजार ७३५ वटा नाताबाट भएको कर्तव्य ज्यानको मुद्दा दर्ता छन् । ०७५/०७६  मा ६५९ वटा मुद्दा दर्ता छ भने त्यसपछिको वर्षमा ५५५ वटा नाताको आधारमा भएको कर्तव्य ज्यानको घटना भएको प्रहरी अभिलेख छ । 

यसैगरी आब ०७७/०७८ मा ५२१ वटा नातेदारबाट हत्याका घटना भएको प्रहरी रेकर्डमा उल्लेख छ । 

यही तीन वर्षको बीचमा ६०८ जनाको नातेदारबाट हत्या भएको प्रहरी रेकर्ड छ । प्रहरी अभिलेखअनुसार आव ०७५/०७६ २०९, ०७६/७७ मा २०१ र ०७७/०७८ मा १९८ वटा आफ्नैबाट आफ्नोको हत्या भएको छ ।

श्रीमान÷श्रीमतीबाट एक–अर्काको हत्या बढी 

हिन्दू धर्ममा विवाहको धेरै महत्व छ, जसले गर्दा अग्निलाई साक्षी मानेर सात फेरा पनि लिइन्छ । यसको अर्थ गम्भीर छ । हिन्दू धर्मका अनुसार यो सम्बन्धलाई कुनै पनि परिस्थितिमा तोड्न पाइदैन । अर्थात् यहाँ सम्बन्ध तोड्नमा पनि रोक लगाइएको छ, जसले गर्दा यो धर्मको अझ विशेष छ । 

तर सात जुनीसम्म सँगै बाँच्ने मर्ने कसम खाएर एक बन्धनमा बाँधिएकाहरु नै पछिल्लो समय एक–अर्काको हत्यारा बनिरहेको प्रहरी तथ्यांक छ । 

प्रहरी तथ्यांकमा नातामा पर्नेहरुबाट भएको हत्यामध्ये सबैभन्दा बढी श्रीमान÷श्रीमतीले एक अर्का हत्यारा बनेको देखिन्छ । ०७५/०७६ देखि ०७७/०७८ सम्ममा नातेदारबाट भएको कुल हत्या ६०८ जनामध्ये २८५ जना श्रीमान÷श्रीमतीले एक–अर्काको हत्या गरेका छन् । यो तथ्यांक हेर्ने हो भने नातेदारबाट भएको कुल हत्यामध्ये लगभग आधी जतिको हत्या श्रीमान/श्रीमतीले एक–अर्कालाई गरेको हत्याको संख्या पुग्छ ।

३५ थरीका नाताबाट आफ्नैको हत्या 

श्रीमान÷श्रीमतीसँगै अन्य नातेदारबाट हुने हत्याहरु पनि डरलाग्दो नै छ । प्रहरी अभिलेखमा यो तीन वर्षमा ३५ थरी शीर्षकका नातेदारबाट आफ्नोको हत्या भएको छ ।

श्रीमानले श्रीमती, श्रीमतीले श्रीमान, बाबुआमाले छोराछोरी, छोराले आमाबाबु, छोरा बुहारीले आमाबाबु, छोरीले आमाबाबु, सासु ससुरा, आमाले नवजात शिशु, आमाले छोराछोरी, सौतेनी आमा र बाबुले छोराछोरी, आफन्तले ज्वाई जेठान, बाबुले छोराछोरी, घरपरिवारले घरपरिवारका सदस्य, मामाले भान्जा/भान्जी, भान्जाले मामा, काकीले भतिज/भतिजी, दाजुले भाइ/बहिनी, भाइले दाजु/दिदी/बहिनी, बहिनीले दाजुभाइ, दिदी–भिनाजुले भाइ,बहिनी,सालो,साली, भतिजले काका, काकी र आफन्त, भतिजीले काका, काकी र आफन्त, जेठाजु/जेठानीले भाइबुहारी, बुहारीले सासु, ससुरा जेठानी जेठाजु, देवरले भाउजु, दाजुभाउजुले भाइ/दिदी/बहिनी, छोरी ज्वाइँले ससुरा, हजुरबुवा हजुरआमाले नाति/नातिना, नन्दले भाउजु, सालाले भिनाजु, नाति/नातिनाले हजुरबुवा हजुरआमा, भिनाजुले साला/साली, सासु/ससुराले ज्वाइँ,छोरी बुहारी, ज्वाइँले सासु ससुरा, सौताले सौता र धर्मबाबु आमाले छोरा/छोरीको हत्या गरेको प्रहरी अभिलेखमा छ ।   

छोराछोरीबाट आमाबाबुको हत्या

यो हत्यामा श्रीमान/श्रीमतीको हत्यापछि अन्य चार थरीका हत्या पनि डरलाग्दो छ । जो एकदम रगतले गरेको हत्यामा पर्छ । नाताबाट हुने हत्याको दोस्रो नम्बरमा छोराछोरीले आमाबाबुको गर्ने हत्या परेको छ । यो हत्याका घटना तीन वर्षमा ५५ वटा भएका छन् । यसैगरी यहीबीचमा तेस्रो नम्बरमा घरपरिवारले २८ जना सदस्यहरु मारेको तथ्यांक छ । चौथोमा भने आमाले २७ जना नवजात शिशु मारेको तथ्यांक छ भने पाँचौ बाबुआमाले पनि २६ छोराछोरीको हत्या गरेको अभिलेख छ । यो सबै गरेर रगतको नाता भएकाहरुबाटै १३६ जनाको हत्या भएको प्रहरी आँकडामा देखिन्छ ।

कारणहरु

नेपाल प्रहरीका अनुसार यी हत्याहरु मुख्यतः चार कारणले हुने गरेको पाइएको छ । प्रहरी मुख्यालयका प्रवक्ता वसन्तबहादुर कुँवरले नातेदारबाट आफ्नैको हत्या खासगरी घरेलु हिंसा, अवैध सम्बन्ध, मानसिक रोगी र आर्थिक समस्या कारण हुने गरेको पाइएको बताए । उनका अनुसार परिवारभित्र हुने घटनाहरु अहिलेसम मुलतः यही कारणले हुने गरेको प्रहरी आंकलन छ ।

यता सुरक्षाविद्हरुका अनुसार यस्ता घटनाले पछिल्लो समय हाम्रो समाज हिंस्रक हुँदै गइरहेको म्यासेज दिइरहेको छ । सुरक्षा मामिलाका जानकार पूर्वडिआइजी हेमन्त मल्लकाअनुसार पछिल्लो समय नेपाली समाजमा उदण्ता बढ्दै गएको विभिन्न घटनाक्रमले देखाइरहेको छ ।

त्यसैले यसको म्यासेज राम्रो नरहेको उनी बताउँछन् । मूलतः अनुशासनको कमीले यस्ता घटना हुने गरेकाले यो न्यूनीकरणका लागि नैतिक शिक्षाको पाठ्यक्रम लागू गर्नुपर्ने जरुरी रहेको उनको सुझाव छ ।
 

  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार ९:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया