गत २३ भदौबाट सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर विरोधका कारण चल्न सकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले एमालेबाट छुट्टिएर गएका १४ जना सांसदहरुको कारबाहीलाई बेवास्ता गरेपछि एमाले यतिबेला सभामुखमाथि खनिएको छ ।
यसबीचमा सभामुख सापकोटाले सर्वदलीय बैठक पनि बोलाए । संसदको अवरोध हटाउनकै लागि सभामुखले पहल गरिरहँदा एमालेले भने बैठक नै बहिस्कार गरेको छ । नेकपाकालीन बेलादेखि नै सभामुख सापकोटासँग रुष्ट भएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले झनै द्वन्द्व चर्काइरहेका छन् ।
यो अवस्थामा यतिबेला दुवै पक्ष एक अर्कासँग झुकिहाल्ने अवस्था देखिएको छैन । एमाले सांसद र सभामुख दुबै कडा रुपमा प्रस्तुत भइरहँदा पछिल्ला दुईवटा बैठकमा भने एमाले सांसदले लचकता अपनाएका छन् भने सभामुख सापकोटाले संवादको प्रक्रिया केही हदसम्म सुरु गरेका छन् ।
यद्यपि अहिले नै यी दुई पक्ष एक अर्कामा मिलेर जानसक्ने स्पष्ट संकेत देखिइसकेको छैन ।
कारबाही गरेका सांसदहरुको सूचना टाँस हुनुपर्ने वा राजीनामा दिनैपर्ने एमाले अडानकाबीच अब सभामुख सापकोटाका अघि भएका विकल्पहरुको बारेमा चर्चा हुन थालेको छ ।
नवौं अधिवेशन सुरु भएपछि २३ भदौयता प्रतिनिधिसभाका ९ वटा बैठक बसिसके । सबै बैठकमा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले अर्को बैठक आगामी असोज ४ गतेका लागि आह्वान गरेका छन् ।
अब सभामुखका अगाडि के छन विकल्प ?
पहिलो : एमालेसँग वार्ता गर्ने
सभामुख सापकोटाका सामू पहिलो विकल्प भनेकै असन्तुष्ट प्रतिपक्षी दल एमालेसँगको वार्ता हो । सदनमा निरन्तर अवरोध जनाइरहेको एमालेले सभामुख सापकोटा आफूहरुसँग वार्ता गर्ने अनिच्छुक रहेको संचारकर्मीलाई बताइरहेको छ ।
सभामुख पद सत्तापक्ष र प्रतिपक्षीको बिचमा रहेर भूमिका खेल्नपर्ने बताउँदै आएको एमालेले यो बीचमा एकपटक मात्रै सभामुखसँग वार्ता गर्यो । प्रमुख सचेतक विशाल भट्टराईलाई राखेर सभामुख सापकोटाले कन्भिन्स गराउन खोजेका पनि थिए । यद्यपि उनको त्यो प्रयास सफल हुन सकेन ।
एमालेलाई आफ्नो व्यवहार शुद्ध भएको प्रमाणित गराउनै पनि सभामुखले पहल गर्नैपर्ने बाध्यता छ । तर, संसदको गतिरोध अन्त्य गर्नैका लागि बोलाइएको सर्वदलीय बैठक नै बहिस्कार गरको एमालेसँग वार्ताबाट मात्रै समाधान हुने कुरा फलामको चिउरा चपाएजस्तै गाह्रो छ । अब एमालेका मात्र सांसद राखेर छलफल गर्दापनि सहमति जुटेन भने सभामुखले सत्ता र प्रतिपक्षी दलसँग बसेर छलफल गर्न सक्नेछन् ।
प्रतिपक्षीका माग र सत्तापक्षको आवश्यकतालाई ध्यानमा राख्दै सोही बैठकमा सभामुखले निर्णय लिन सक्छन् । तर, सभामुखले पहिला कारबाहीको सूचना टाँस नगरी बोलाइएको बैठक एमालेले अस्वीकार गर्ने निश्चितजस्तै देखिएको छ । यो अवस्थामा सभामुखलाई झनै असजिलो देखिन्छ ।
दोस्रो : कारबाहीको सूचना टाँस गर्ने
एमालेले भनेजस्तै १४ जना कारबाही गरिएका नेताहरुको सूचना सभामुख सचिवालयले टाँस गर्ने अर्को विकल्प हो । तर, यो विकल्पमा जान नसकिने कानुनविद्हरुले बताउँदै आएका छन् ।
एमालेबाट छुटिएर गएका ती सांसदहरुले अहिले नयाँ दल बनाइसकेका छन् । नयाँ दलमा मान्यता पाइसकेपछि फेरि सभामुखले सूचना टाँस गर्न नपाइने तर्क संविधानका जानकारहरुको छ । तर, एमालेको पहिलो शर्त नै कारबाहीको सूचना टाँस गराउनपर्ने छ । यो विषय समाधानका लागि सभामुखले पहल गरेर पनि सम्भव नहुने देखिन्छ ।
तेस्रो : पेलेरै जाने
४ दिनमा ९ पटक बसेको अधिकांश बैठकमा एमालेको अवरोध कायमै थियो । तर, सभामुख सापकोटा भने पेलेरै अघि बढे ।
सोहीअनुसार प्रतिस्थापन विद्येयक पास भयो । र नयाँ बजेट पनि सरकारले नाराबाजीकै बीचमा सुनायो । सँगै अन्य विधेयकहरु पनि बैठकमा पेस भएका छन् । यद्यपि पास हुन बाँकी छन् ।
भदौ २३, २५, २७ र २९ गतेको बैठकमा एमालेले विरोध जारी राख्यो । सुरुका दुई दिनमा भन्दा पछिल्ला दुई दिनमा एमालेले संयमितता अपनाएको थियो । २५ गतेको बैठकमा त सभामुख सापकोटामाथि हमला नै होलाजस्तो भएको थियो ।
तर, सभामुखले ती बैठक पनि एमालेको अवरोधका बीच अगाडि बढाए । मंगलबारको बैठकमा त सभामुखले एमालेले गरेको नाराबाजीलाई देखेको नदेखै गरेर बैठक अगाडि बढाए । के अब सभामुख सापकोटाले सधैं यसरी नै नाराबाजीकै बीचमा पेलेरै बैठक अगाडि बढाउलान् ? सबैको चासो यसमा छ यतिबेला ।
चौंथो : राजीनामा दिने
नेकपाकालीन बेलादेखि नै सभामुखमा सापकोटालाई मान्न एमालेले आनाकानी गरिरहेकै थियो । नेकपाकालीन बेलामा सभामुखकै कारण कयौंपटक असजिलो खेपेका ओली अहिले झनै आक्रामक छन् ।
त्यतिबेलाका सभामुख कृष्णबहादुर महरा संसद भवनमै कार्यरत एक महिलासँगको सम्बन्धमा मुछिएर राजीनामा दिँदा कसलाई सभामुख बनाउने भन्नेमा नेकपामा ठूलो मतभेद देखिएको थियो ।
माओवादीले एकताकै बेलामा भएको सहमतिको बुँदालाई समाएर सभामुखमा सापकोटालाई घुसाउन सफल भए प्रचण्ड ।
सभामुखमा अग्नि सापकोटाको नाम ओलीलाई पटक्कै चित्त नबुझे पनि उनी स्वीर्कान बाध्य बनेका थिए । तर, संसदमा सभामुख भएको घोषणा भइसकेपछि सुरुमा ओलीलाई नै खुसी पार्न सापकोटा दौडिएको दृश्य भाइरल भएको थियो । सभामुखको राजीनामा पटकपटक माग गर्दै आएको एमालेलाई तत्कालै सभामुखले राजीनामा देलान भन्नेमा ढुक्क छैन ।
तर, प्रतिपक्ष दलले राजीनामा मागेकै भरमा यतिबेला उनले राजीनामा दिइहाल्ने अवस्था पनि देखिँदैन ।
पाँचौ : महाअभियोग फेस गर्ने
एमालेले पटकपटक महाअभियोगको डर देखाउँदै चुनौती थपिदिइरहेको छ, सत्ता गठबन्धनलाई ।
यद्यपि विपक्षी दलले चाहँदैमा मात्र सभामुखलाई महाअभियोग लगाएर हटाउन सहज छैन । विधानमा भएको प्रावधानले पनि त्यसै भन्छ ।
सभामुखले पद अनुकूलको आचरण नगरे कुनै पनि सांसदले महाअभियोगको निवेदन दर्ता गराउन सक्ने प्रावधान छ । तर, त्यसलाई दुई तिहाई सांसदले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।
माओवादी केन्द्र हुँदा बहुमत पुर्याएका ओली अहिले खुम्चिँदै ‘फुच्चे’ एमालेमा परिणत भएका छन् । प्रतिनिधिसभामा एमालेको उपस्थिति न्यून छ । आफ्नै पार्टीबाट फुटेर गएकाहरुको विवादले नै संसद अवरोध कायम छ । यसैबीच दुई तिहाई सांसदले सभामुखको महाअभियोगमा हस्ताक्षर गराउन निकै हम्मेहम्मे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।