नेकपा एसको कार्यालय उद्घाटन
एमाले अब कमाउनिस्टहरुको कब्जामा : न्यौपाने

नेकपा (एकीकृत समाजवादी) ले मकवानपुरमा पार्टी कार्यालय स्थापना गरेको छ । हेटौंडा उपमहानगरपालिका– ४, शीतल महलचोकस्थित पार्टी कार्यालयको आज बिहीबार एकीकृत समाजवादीका केन्द्रीय सदस्य, बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले रिबन काट्दै कार्यालय उद्घाटन गरेका हुन् ।  

कार्यालय उद्घाटन गर्दै पार्टी केन्द्रीय सदस्य न्यौपानेले नेताहरुको रगत पसिनाले निर्माण गरिएको पार्टी बिसर्जनवादीका हात पुगकोले एकीकृत समाजवादी पार्टी निर्माण गर्नुपरेको बताए । 

‘हामीले समाजवादका आधार निर्माण गर्न थाल्यौं, उहाँहरुले त्यसलाई भत्काउन थाल्नुभयो । हामी त्यो पार्टीमा बस्न सकेनौं’, न्यौपानेले भने । उनले जनतामा आधारित, सिद्घान्तनिष्ठ, बलियो देशव्यापी कम्युनिस्ट पार्टी निर्माण गरिएपनि बलियो कम्युनिस्ट पार्टीलाई छियाछिया पारिएको बताए । 

न्यौपानेले भने, ‘जनक्रान्तिको उपलब्धिबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको रक्षा गर्न हामी लाग्यौं । उहाँहरु त्यो उपललब्धिलाई छिन्नभिन्न बनाउने काममा लाग्नुभयो ।’ 

उनले अहिले एमाले मुद्दा, इमान नभएको कमाउनिस्टहरुको डब्फा बनेको आरोप लगाए । उनले एमाले संसद देख्नै नसक्ने पार्टी बनेको बताउँदै भने, ‘आफ्नो वर्चश्व रहेको संसद विघटन गर्ने, वर्चश्व नभए घेराबन्दी गर्ने, दंगा फसाद गरेर गुरिल्ला युद्धझैं सभामुखमाथि हमला गरी संसद चल्न नदिने पार्टी भनेको एमाले हो ।’ 

केपी ओली नेतृत्वको एमाले पार्टी संसद विरोधी भएको जनताले बुझेकाले संसदको सर्वोच्चताको विरोधीले अब कुन मुखले भोट माग्ने भन्दै उनले प्रश्न गरे । ‘समाजवादको मुद्दा ध्वंस गर्ने, प्राप्त उपलब्धि ध्वस्त पार्ने ? अब के मुद्दा लिएर जनताको माझमा जाने ?’, उनले भने, ‘पाँच वर्षलाई दिइएको जनमत तीन वर्षमै दुई–दुई संसद विघटन गर्नेले चुनावमा जनतासँग के भनेर भोट माग्ने ?’ 



अब एमालेले सर्वहारा, श्रमजिवी जनताको प्रतिनिधित्व नगर्ने भन्दै नेता न्यौपानेले सो पार्टीले जमानत जोगाउन पनि नसक्ने दाबी गरे । आफूहरु आबद्घ पार्टी एकीकृत समाजवादी अहिले सानो भएपनि सही मुद्दा भएकाले भविष्यमा ठूलो हुने बताए । 

‘माओत्सेतुङले भनेझैं सही मुद्दा भएमा प्राप्त नभएको सत्ता प्राप्त हुन्छ, गलत मुद्दा भएमा प्राप्त भएको सत्ता पनि गुम्छ’, उनले भने, ‘हामीसँग सही मुद्दा भएकाले सत्ता प्राप्त गर्छौ । हामी नेताको पछि होइन, नीति, विधि र पद्दतिको पछि लाग्नुपर्छ ।’  



उनले नयाँ पार्टीलाई जनताको पार्टी बनाउन लागिपर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘निराश नबनी जाँगरिलो हुँदै, हाँस्दै रमाउँदै पार्टी निर्माणमा लाग्नुस् ।’ 

उनले भुल, भ्रम र लोभबाट गलत बाटोमा लागेकाहरु पनि एकीकृत समाजवादीमा फर्किने आशा व्यक्त गरे । यस्तै, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले आफूहरुसामू हिजो जनताका बिचमा गएर गरिएको प्रतिबद्घता पूरा गर्ने दायित्व आइपरेको बताए । यसका लागि उच्च मनोबलका साथ आफूहरु जुट्ने पनि बताए । 
‘हाम्रो पार्टीलाई मकवानपुरमा एक नम्बर पार्टीका रुपमा स्थापित गराउन चाहन्छौं’, अध्यक्ष पाख्रेलले भने, ‘अब हामी जिल्लाको दश वटै पालिका, १०२ वटै वडामा पार्टीको कार्यक्रम लिएर जानेछौं । 

कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु ललित बस्नेत, मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल लगायत थिए । 

यसैबीच, पार्टी जिल्ला कमिटिको शपथग्रहण आगामी असोज ९ गतेका लागि तय गरिएको छ । यो दिन पार्टी नगर कमिटी समेत घोषणाको तयारी गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए । पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा सो दिन अनेमसंघ, युवासंघ, अनेरास्ववियूको जिल्ला कमिटि घोषणा गरिने तयारी भएको उनले बताए । 
 

  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १३:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया