Mon, 17 Dec, 2018


त्यो दसैँ, यो दसैँ : शक्ति गौचनको निचोड - दसैँ साथीभाइभन्दा पनि परिवारको लागि हो
फरकधार / कात्तिक १, २०७५

मेरो बाल्यकाल भारतमा बित्यो । ड्याडी इन्डियन आर्मीमा हुनुहुन्थ्यो, त्यसैले म पनि उतै हुर्किएँ ।

त्यहाँ दसैँमा टीकाअघि नवदुर्गा थानमा धूमधामले पूजा गरिन्थ्यो । रातभरि निकै रमाइलो हुन्थ्यो, तर नेपालको जस्तो पिङ खेल्ने भने हुँदैनथ्यो । 

नवमीको रात सबैभन्दा रामइलो हुन्थ्यो । हामी सबैजना परिवारसहित रातभरि घुम्थ्यौँ । तर, दसैँको दिन भने हामी जहिले पनि भैरहवामा मामाघर आउँथ्यौँ ।

सबैभन्दा रमाइलो कुरा भनेको सानोमा दसैँको ठीक अगाडि एक्जाम हुन्थ्यो । त्यसको रिजल्ट पनि आएको हुन्थ्यो । ड्याडीले एक्जाम राम्रो गरेको र दसैँ आएको मौकामा एकैपटक सपिङ गर्दिनुहुन्थ्यो । 

सामान्यतया दसैँमा मेरो रोजाइको भन्दा पनि ममी ड्याडीले चाहिने सामान नै धेरै किनिदिनुहुन्थ्यो । तर, एउटा दसैँमा चाहिँ मेरै रोजाइको दसैँ उपहार किनेको थिएँ । 

कुन वर्ष भन्ने त अहिले याद भएन । तर, त्यो वर्ष फाइनल एक्जाम पनि दिएको थिएँ । रिजल्ट राम्रो आयो । त्यसपछि ड्याडीले मलाई नयाँ ब्याट किनिदिनुभयो । नयाँ ब्याट पाउँदा मलाई औधी खुसी लागेको थियो । 

तर, इन्डियामा हुँदा दसैँको वेला नेपालमा जस्तो साथीसँग हिँड्ने, घुम्ने गरिन्नथ्यो । हामी जब मामाघर आउँथ्यौँ, त्यसपछिचाहिँ रमाइलो हुन्थ्यो ।

मामाका चार दिदिबहिनीबाट सातजना भान्जी थिए, भान्जा भनेको म मात्रै । मामाका छोराछोरीसँग निकै रमाइलो प्रतिस्पर्धा हुन्थ्यो, दक्षिणाको विषयमा । 

एक्लो भान्जो भएर होला, सबैले मलाई माया गर्थे । माया मात्रै होइन, दक्षिणा दिने वेलामा पनि सबैले मलाई नै धेरै दिन्थे । मामाका छोराछोरी दक्षिणा कम भयो भनेर रिसाउँथे । त्यो वेला कतिसम्म पैसा पाइयो भन्ने त याद छैन, तर २०–२५ रुपैयाँ पाउँदा नि निकै धेरै पाएजस्तो हुन्थ्यो । 

क्रिकेटमा लागेपछिको दसैँ 

त्यसपछि पनि दसैँमा कुनै त्यस्तो फरक भने भएन । तर, दसैँका वेला खेलका कारण विदेशमा हुँदा भने नेपालको दसैँ मिस हुन्थ्यो । 

१८ वर्षको क्रिकेट करिअरमा अहिलेसम्म दसैँकै दिन म्याच परेको त याद छैन, तर दसैँको वरिपरि परेको खेलका कारण विदेशमा भने भएको छु । 

विदेशमा हुँदा सबैको ध्यान खेलमा हुन्थ्यो । हामी सबै खेलमै फोकस हुन्थ्यौँ । त्यहाँ रमाइलो गर्ने ध्यान कसैको पनि हुँदैनथ्यो ।

वास्तवमा खेलाडीको लागि दसैँ भनेको खेल जित्दा आउने हो । विदेशमा बिताएको एउटा दसैँ याद छ । त्यतिवेला हामी कहाँ थियौँ भन्ने पनि याद भएन । तर, दिनभरि म्याच प्राक्टिस थियो । राती सबैजना रुममा आयौँ । सबै थाकेका थियौँ । त्यसैले, आफ्नो–आफ्नो बेडमा गयौँ ।

म त्यो वेला फेसबुक चलाउँदैनथेँ । त्यसो त, फेसबुकमा अलि धेरै समय बिताउन थालेको दुई वर्षजति न भयो । त्यतिवेला भाइबर भने प्रयोग गर्थें । 

त्योे दिन बेलुका बेडमा जाने वेला घरमा फोन गरेँ । घरमा सबैसँग बोलेँ । दसैँ कस्तो भयो, को–को आउनुभयो, यस्तै गफ गरेको थिएँ । ममीलाई दसैँको फोटो पठाउनू भनेँ र फोटो हेरेर बसेँ । 

दसैँको दिन भए पनि टिमका साथीहरूमाझ भने अहिलेसम्म रमाइलो गरेर दसैँ मनाएको मलाई सम्झना छैन ।

त्यतिवेला घरमा हुँदा रमाइलो गरेको, खाना खाएको भने खुब मिस भयो । हामी कहीलेकाहीँ दसैँको वेलामा टीका लगाउन गाउँ डुल्दा राती ११ पनि बज्थ्यो । त्यस्ता कुराहरू खुब मिस हुन्थ्यो ।

नेपालमा हुँदा पनि दसैँ त्यस्तो विशेष हुँदैनथ्यो, सामान्य तरिकाले नै मनाइन्थ्यो । घरमा सबैजना भेला हुन्थ्यौँ । ठूलाको हातबाट टीका लगाउने, त्यो भइ नै हाल्यो । त्यही हो, दसैँको वेला रमाइलो नै हुन्थ्यो । 

दसैँ नै एउटा त्यस्तो पर्व हो, जसले वर्षभरि टाढा भएको परिवारलाई मिलाउँछ ।

दसैँको वेला टीका लगाउनेलाई पनि जति सक्यो धेरैको हातबाट टीका लगाउन मन लाग्ने, लगाइदिनेलाई पनि जति सक्यो धेरैलाई टीका लगाउन मन हुने रहेछ । त्यसैले, दसैँको वेला सकेसम्म धेरैजनाको हातबाट टीका थाप्ने नै ध्यान हुन्थ्यो । 

घरमा टीका लगाएपछि गाउँमा अन्य आफन्तको घरमा टीका थाप्नका लागि निस्किन्थ्यौँ । बिहान निस्केपछि हामीले टीका लगाउने घर नै १३–१४ वटा हुन्थे । सबै घरमा पुगेर टीका लगाउँदा राती भइसकेको हुन्थ्यो । 

नेपालमा हुँदा पनि खेलका कारण घर जान नपाएको दिन पनि थियो । त्यसो त, काठमाडौंमा मेरा धेरै आफन्त हुनुहुन्छ । तर पनि दसैँको वेला भने घरमा नै जान मन लाग्थ्यो । 

खेलका लागि विदेशमा हुँदाभन्दा नेपालमै भएर घर जान नपाउँदा दसैँ धेरै मिस हुन्थ्यो । टिममा भएको वेला धेरै अभ्यास काठमाडौंमै हुन्थ्यो । हामीलाई दसैँको दिन मात्रै बिदा दिइन्थ्यो । त्यसैले घर पुगेर फर्किन सकिँदैनथ्यो । तर, एकपटक त्यस्तै काठमाडौंमा भएको वेला घर आएर टीका मात्रै लगाएर फर्केको छु । 

सबैभन्दा रमाइलो दसैँ

मलाई दुईवटा दसैँ सबैभन्दा रमाइलो लागेको छ । सानोमा दसैँ रमाइलो भयो होला, तर त्यसवेला दसैँको टीकाभन्दा पनि पैसा धेरै पाएकोमा खुसी लाग्यो होला ।
मलाई गत वर्षको दसैँ र बिहे गरेको वर्षको दसैँ निकै रमाइलो भएको थियो । 

पोहोर साल हामीले तीन वर्षपछि दसैँ मनाउन पाएका थियौँ । यो बीचमा विभिन्न पारिवारिक कारणले गर्दा दसैँ मनाउन पाइएको थिएन । त्यसैले पनि त्यो दसैँ रमाइलो लागेको हो । 

टीका लगाउँदा लगाउँदै राती ११ बजिसकेको थियो, तर मेरो नजिकको साथीको घरमा हामीलाई कुरिरहनुभएको थियो । त्यसैले हामी जसरी पनि त्यहाँ पुग्नुपर्ने थियो । हामी सबै परिवार जाँदै थियौँ । हामी पुगेपछि उहाँहरू ज्यादै खुसी हुनुभयो ।

त्यस वर्ष सबैभन्दा धेरै २० घरमा टीका लगाउन पुगेका थियौँ । त्यसैले पनि रमाइलो भएको होला । 

बीचमा टीका नलगाएकाले पनि पोहोर साल टीका लगाउन निकै उत्साह थियो । त्यो ग्यापपछिको चाहना र उत्साहले गर्दा पनि होला, मलाई अघिल्लो दसैँ निकै उत्साहप्रद लाग्यो । 

अर्काे रमाइलो भएको दसैँ भनेको मेरो बिहे गरेको वर्ष हो । २०६१ सालको कुरा होला यो । 

बिहेपछि पहिलोपटक दसैँ मनाउन ससुराली जाँदै थियौँ । बिहेअघि राम्रोसँग चिनजान नभएकाले पनि मलाई त्यहाँ जान निकै अप्ठ्यारो लागेको थियो । त्यो दिन केही बेठिक हुन्छ कि भन्ने ठूलो चिन्ता थियो मनमा ।

कसरी नयाँ मानिसलाई रेस्पेक्ट गर्ने, कसरी प्रस्तुत हुने भन्ने कुराले धेरै प्रेसर भएको थियो मलाई । तर त्यहाँ पुगेपछि भने सबै ठीकठाक भयो, निकै रमाइलो भयो दसैँ ।  

सबैभन्दा नराम्रो लागेको दसैँ 

मेरो जिन्दगीको सबैभन्दा महत्वपूर्ण व्याक्ति मेरो बुबा गुमाएको वर्ष मलाई दसैँभर निकै नमज्जा लागेको थियो । 

२०७३ साल माघ १४ गते मेरो बुबा बित्नु भयो । अर्काे वर्षको दसैँमा टीका लगाउनुभन्दा पनि ड्याडलाई निकै मिस भएको थियो । 

यो वर्षको योजना

पोखरा प्रिमियर लिग आउँदै छ, अब त्यसमा फोकस हुनुपर्छ । त्यसको लागि निस्कनुभन्दा अगाडि घरमै दसैँ मज्जाले मनाउने योजना छ । ममीको हातबाट टीका लगाउने र गाउँमा मान्यजनको हातबाट टीका लगाउने हो । ससुराली पनि भैरहवामै छ, ससुराली पनि जाने योजना छ ।

श्रीमतीको बाबा–ममी पहिले नै बित्नुभएको थियो । उनी ठूलोबुबा, ठूलीआमासँग बसेकी हुन् । उहाँहरू नै मेरो ससुरली हो, त्यहाँ अरु आफन्त पनि आउनुहुन्छ । उहाँहरूसँग टीका लगाउने योजना छ । 

तर, अहिलेसम्म क्रिकेट टिमसँग भने दसैँ मनाएको छैन । दसैँ भनेको साथीभाइसँग भन्दा पनि परिवारसँग मनाउने हो जस्तो लाग्छ । टिमका साथीहरू पनि दसैँमा आफ्नै परिवारसँग जान्छन् । यो साथीभाइको भन्दा परिवारको लागि मनाइने चाड हो । 

दसैँ भनेको आफूभन्दा ठूलाको आशिर्वाद लिने चाड हो । दसैँमा टीका थाप्दा ममाथि पनि कसैको विश्वास छ, त्यसको लागि भए पनि मैले राम्रो गर्नुपर्छ भन्ने खालको अनुभूति हुन्छ । यसमा राम्रो गर्न सक्छु भन्ने कन्फिडेन्स पनि बढ्छ । दसैँको वेला हुने खानपिन त आफ्नो ठाउँमा छ नै, त्यो सेकेन्डरी कुरा हो । 

बाल्यकालको त्यो दसैँ पनि निकै रमाइलो थियो, धेरैजनाको हातबाट टीका लगाउनुपर्छ, त्यसले धेरै पैसा जम्मा हुन्छ भन्ने थियो । अहिलेको दसैँमा पनि टीका नै महत्वपूर्ण हुन्छ । जतिजति ठूलो हुँदै गयो, जिम्मेवारी र आशिर्वाद नै महत्वपूर्ण हुँदै जाने रहेछ । 



यो पनि नछुटाउनुहोस्