बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सर्वोच्च अदालतको फैसलापछि पनि एमालेमा फर्कन नपाउँदा निकै पीडा भएकाे सुनाएकी छन् ।
काठमाडौं जिल्ला कमिटीले प्रज्ञा भवनमा आयोजित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै यस्ताे अनुभव सुनाएकी हुन्।
मञ्चबाट भाषण गर्दै अनुभव सुनाइरहँदा शाक्यले यसलाई पीडा पोखेको रूपमा नलिन समेत आग्रह गरेकी थिइन् ।
उनले भनिन्, ‘सर्वोच्च अदालतले फैसला गरेपछि हामी छुट्टियौं । तर, हामी नेकपा एमालेभित्र यो हामीले दुःख गरेको पार्टी हो भनेर सजिलै त्यहाँभित्र प्रवेश गर्न पाएनौं । लामो समय हामी बाहिर बस्न पर्याे ।’
उनले अघि भनिन्, ‘तर, हामी नेकपा एमाले हुन सकेनौं । अनि जिन्दगीमा आफ्नो अनुभव सुनाउने हो भने कमरेडहरू, मलाई पीडा पोख्यो भन्ने नठान्नुहोला । म रातभरि कतिपय बेलामा सुत्न पनि सकिनँ । किन यस्तो भयो होला कम्युनिस्ट आन्दोलन ? किन हामी एकजुट हुन सकेनौं होला ? भनेर मलाई निन्द्रा लागेन । मलाई सधैं पीडा भयो।’
उनले कम्युनिस्ट पार्टी स्थापनाका कालदेखिको स्मरण सुनाउँदै भनिन्, ‘कमरेड पुष्पलालले एउटा घर बनाइदिनुभयो । ५ जनाबाट दुःख गरेर कम्युनिस्ट आन्दोलन स्थापित भयो । हामी सबै त्यो घरमा बसेर अटाउँदै, खुसी हुँदै अघि बढ्यौं । क्रमश विशाल रूप लियो । विभिन्न जिल्लामा कमिटी बन्दै गयो । एमाले विस्तारै कम्युनिस्ट पार्टीको रूपमा स्थापित बन्दै गयो ।’
‘मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको सरकारले नेकपा एमालेलाई स्थापित गर्याे । आफ्नो गाउँ, आफैं बनाऔं भन्ने एमालेको कार्यक्रमले हामीलाई अघि बढायो । नेकपा एमाले महासागर बनेको छ, विशाल बनेको छ । संगठनात्मक रूप लिँदै देशभित्र मात्र होइन देशबाहिर पनि विशाल रूप लिएको छ’, उनको भनाइ थियो।
साथै, ०७५ जेठ ३ गते पार्टी एकताको घोषणा हुँदै गर्दा आफू छक्क परेको पनि बताइन् । उनले भनिन्, ‘०७५ जेठ ३ गते माओवादीसँग एकता भयो । हामीलाई खुसीको दिन थियो । विशाल मूलधारबाट कम्युनिस्ट एकता गरेर मुलुकको विकास गर्ने भनेर हामीले एमाले र माओवादी केन्द्रबीच एकता भयो । त्यो दिन तपाईं हामी सबै खुसी थियौं । अचानक भयो, छक्क पनि पर्याे । एमाले र माओवादी केन्द्र एकैचोटी एकता होला भनेर हामीले सोचेका थिएनौं ।’
त्यो बेलाको असन्तुष्टि बताउँदै उनले भनिन्, ‘तर त्यो बेला ३ महिनाभित्र सिंगो कमिटीहरूलाई पुनर्गठित गर्नुपर्छ भनेर भनिएको थियो । तर, अस्तव्यस्त भयो । कमिटीविहीन भयो । अनेकौं विचारबाट प्रभावित हुनपुग्यो । त्यसपछि नेकपा एमाले कमजोर हुँदै गयो । खासगरी नेकपा कमजोर भयो ।’
त्यसपछि ०७८ जेठ १ गते आफू खुसी भएको बताइन् । ‘०७८ जेठ १ गते म साँच्चै खुसी भएँ । १० जना साथीहरूको एउटा कार्यदल बन्यो । त्यो कार्यदलमा १० बुँदे सहमति भयो । बल्ल हामी नेकपा एमालेभित्र बस्न पायौं भनेर खुसी भयौं । भित्र पस्न पाएको दिनमा हिजाेको सबै कुराहरू बिर्सेँ कमरेडहरू ।’ उनले अघि भनिन्, ‘किनभने मेरो समर्थन थियो, त्याग थियो, हजारौं हजार कमरेडहरूको त्याग थियो । कम्युनिस्ट आन्दोलनबाट देश र जनताको सेवा गर्छु भनेर अघि बढ्दा फेरि एमाले हुन पाउँदा खुसी लाग्यो । तर, जे होस् आज हामी नेकपा एमालेमा छौं । मलाई लाग्छ अब नेकपा एमालेभित्र कहिल्यै पनि यस्तो नहोस् । टुक्रिने, फट्ने विभाजित हुने अनि एमाले एक भएको हेर्न चाहने ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।