मदन भण्डारीको हत्याको पछाडि राजनीतिक कारण छ : रामबहादुर थापा बादल
फरकधार / ३१ भदौ, २०७८

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले एमालेका स्वर्गीय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको हत्या किन भयो ? भनी प्रश्न गरेका छन् ।



काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको विस्तारित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै थापाले सो प्रश्न गर्दै यसको पछाडि राजनीतिक कारण भएको उल्लेख गरे ।

सम्बोधनको क्रममा उनले भने, ‘मदन आश्रितको हत्या किन भयो ? त्यसको पछाडि राजनीतिक कारण छ । कमरेड मदन भण्डारीले जुन राजनीतिक विचार अगाडि सार्नुभयो । त्यो राजतन्त्रको विरुद्धमा थियो । गणतन्त्रको पक्षमा थियो । एउटा चर्चित भाषण हामीलाई स्मरण हुन्छ । राजाले श्रीपेच फुकालेर राजनीतिक प्रतिस्पर्धामा आउनुस् भनेको चर्चित भाषण छ ।’ 



नेकपा एमाले नेपालको कम्युनिस्ट आन्दोलन, समाजवादी आन्दोलनको नेतृत्वको रूपमा कसरी सुढृढ गर्ने भन्ने दायित्व बोकेको पार्टी भएको बताएका छन् । 



‘उद्घोषक कमरेडले भनेजस्तै नेकपा ‘एमाले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हो’ भन्ने कुरा एउटा जिम्मेवारीको रूपमा दिइएको छ । र यहाँ उपस्थित कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने जिम्मेवारी दिइएको छ । म यसलाई प्रशिक्षणको रूपमा त लिइदैँन’, उनले भनेका छ्न, ‘म आफ्ना धारणाहरू ‘एमाले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हो’ भन्ने विषयमा राख्नेछु । यसले एमालेलाई आगामी दिनमा सुढृढ गर्नेमा र समाजवादी आन्दोलनको नेतृत्व निर्माण गर्नेमा मैले यसलाई प्रस्तुत गर्ने जमर्को गरिरहेको छु ।’

उनले प्रशिक्षण सम्बोधन सुरु गर्दै भनेका छन्, ‘कमरेडहरू, मानव जातीको उत्पत्तिको इतिहासलाई नियालेर हेर्दा लाखौं वर्षमा गणना गरिएको छ । झण्डै ६० लाख वर्ष मानव जातीको उत्पत्तिको समयलाई लिइएको छ । यसै क्रममा पार्टीहरूको इतिहास पनि यसै क्रममा आउँदछन् । पार्टी भनेको वर्गहरूको समुदायको एउटा संगठित अभिव्यक्ति हो । त्यस कारणले कम्युनिस्ट पार्टीको जनमतको इतिहास लामो छैन । पूँजीवादको उत्पतिसँगै श्रमिकहरूको पार्टी र सर्वहाराको पार्टीको पनि उत्पति भयो । र माक्सले आफ्नो सिद्धान्त प्रतिपादन गर्दा, कम्युनिस्ट घोषणापत्र लेख्दा आदिम युगदेखिको इतिहास वर्गको इतिहास हो ।’

इतिहासका कुराहरूलाई सम्झँदै अघि बढ्नपर्ने बताएका थापाले अघि भने, ‘इतिहासका कुराहरू लेख्दै हामीले इतिहासमा पढेका छौं र बुझेका छौं । सर्वहारा वर्गको अग्रदस्ता नेकपाको स्थापनको इतिहास लामो छैन । २००६ सालदेखि ०७८ सालसम्म झण्डै ७२ वर्षको इतिहास छ । नेकपाको इतिहास नेपालको इतिहास भनेको वर्गसंघर्षको इतिहास हो । नेपालको निर्माणदेखि यहाँसम्म र कम्युनिस्ट पार्टीको स्थापनादेखि यहाँसम्म आइपुग्दा वर्गसंघर्षको इतिहास पनि त्यही रूपमा अघि बढेको छ । पार्टी किन आवश्यक छ ? पार्टीको औचित्य के हो ? भन्नेमा माक्सवादले हामीलाई सिकाउँछ । पार्टी एउटा क्रान्तिकारी नेतृत्व हो । यो बिना सामाजिक रुपान्तरण संभव छैन । त्यो हिसाबले वर्गहरूले आफूलाई राजनीतिक पार्टीको रूपमा संगठित गरे । पार्टी भनेको यो वा त्यो वर्गको विचार त्यसको लाइन कार्यदिशा र नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति हो ।’

उनले अघि भने, ‘आज नेपालमा नेकपा एमाले भन्ने पार्टीको निष्कर्षअनुसार नेपालको श्रमजिवीहरूको संगठित अभव्यिक्ति हो  भन्ने रूपमा पार्टीले संश्लेषित गरेको छ । कम्युनिस्टहरूले जहिल्यै पनि पार्टीलाई यही रूपमा बुझेका हुन्छन् ।’

  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १४:२५:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया