कोरोनाविरुद्धको खोप बिक्री गरेको आराेपमा धनुषाबाट दुईजना पक्राउ

धनुषाको सहिदनगर नगरपालिकास्थित एक औषधि पसलबाट कोरोना विरुद्धको खोप सःशुल्क बिक्री गरिएको पाइएको छ । 

सहिदनगर नगरपालिकाको सुशासन समितिले अनुगमन गर्दा वडा नम्बर–३ स्थित यदुकुहामा रहेको श्रीराम हेल्थ केयरबाट बिक्री गर्नका लागि राखिएका जोनसन एण्ड जोनसन १ भायल, भेरोसेल ४ भायल र एस्ट्रोजेनका १ भायल फेला परेको हो ।

सहिदनगर नगरपालिकाको सुशासन समितिको आज बसेको बैठकको निर्णयअनुसार अनुगमन समितिका अध्यक्ष कन्हैया मुखियाको नेतृत्वमा श्रीराम हेल्थ केयर, मञ्जु मेडिकल हल र चौधरी मेडिकल हलको निरीक्षण गर्ने क्रममा सो खोप फेला परेको नगरप्रमुख उदयकुमार यादव बरबरियाले जानकारी दिए ।

बरामद गरिएका खोपहरु श्रीराम हेलथ केयरका सञ्चालक २१ वर्षीय कमलेश मण्डलले प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहामा कार्यरत अहेव देवशरण यादवले आफूलाई दिएको कुरा स्वीकार गरेको नगरप्रमुख यादवले बताए ।
 
निजी औषधि पसलमा सरकारी खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डल र अहेव यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय यदुकुहाको जिम्मा लगाइएको छ भने श्रीराम मेडिकल हलमा सलिबन्दीसमेत गरिएको छ । 

सञ्चालक मण्डलले सो खोप २ हजार ५ सय देखि ५ हजार रुपैयाँसम्ममा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई बिक्री गर्दै आएको बताइएको छ । 



साथै मञ्जु मेडिकल हल र चौधरी मेडिकल हलमा समेत समय नाघेका केही औषधि बरामद भएकोले त्यस्ता औषधिलाई शीघ्र व्यवस्थापन गरी बिक्री वितरण नगर्न समेत निर्देशन दिइएको छ । 



जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले कोरोनाविरुद्धको खोप बिक्री वितरण गरिरहेको आरोपमा मेडिकल सञ्चालक मण्डल र अहेव यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए । 

नियन्त्रणमा लिइएका व्यक्तिहरु दोषी साबित भए कानुनअनुसार कारबाही गरिने उनले बताए ।

  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १८:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया