धनुषाका एक जनप्रतिनिधिमाथि घेरा हालेर कुटपिट

धनुषाका एक जनप्रतिनिधिलाई बाटोमा घेरा हालेर कुटपिट गरिएको छ । बिहीबार आफ्नो गाउँ धनौजीबाट जनकपुर आउने क्रममा धनौजी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य  रहेका नेकपा एकीकृत समाजवादीका स्थानीय नेता रामकुमार महतोलाई बाटोमै घेरा हालेर कुटपिट गरिएको हो ।

महतो एकीकृत समाजवादीको क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलामा सहभागी हुन जनकपुरधाम आउने क्रममा बाटोमा सोही वडाका कार्यालय सहयोगी राम पुजन मुखिया र वडाध्यक्ष रामदुलार मण्डलका भतिजा प्रदीप मण्डलले घेरा हालेर कुटपिट गरेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए । 

उनले धनौजी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष रामदुलार मण्डलको निर्देशनमा योजनाबद्ध ढंगले महतोलाई लछारपछार गरी कुटपिट गर्दा लुगाफाटा समेत च्यात्तिएको बताए । साहले तत्काल उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

यता,  पीडित वडा सदस्य महतोले घटनाबारे प्रहरीलाई समेत जानकारी गराइसकेको बताइएको छ ।

वडा सदस्य महतोले धनौजीको वडा नम्बर ३ स्थित झोझी कटैयाका कृषकका लागि आएका बीउविजनको रकम, गरिब तथा विपन्न परिवारका लागि कम्बल वितरणका लागि आएको रकम, आँखा उपचारका लागि आएको रकम, दुर्गा मन्दिर निर्माणका लागि आएको रकमलगायत विकास निर्माणका विनियोजित बजेटको रकम गत आर्थिक वर्षमा नै निकासा भए पनि वडाध्यक्ष रामदुलार मण्डलले हालसम्म वितरण नगरेको र विकास निर्माणका काम गर्न पनि आनाकानी गरेको आरोप लगाउँदै विगत एक सातादेखि वडा कार्यालयमा तालाबन्दी गरी वडा सदस्यहरु आन्दोलन गर्दै आएको जानकारी दिए ।

उनले सोही झोंकमा आफूमाथि वडाध्यक्ष मण्डलले कुटपिट गर्न लगाएको आरोपसमेत लगाए ।





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १९:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया