वैदेशिक रोजगारीमा नेपाली मृत्युको भयावह तथ्यांकः सरकार रेमिट्यान्स बुझ्छ, जनता शव!
फरकधार / ३१ भदौ, २०७८
  • २०७८ साउन ९ गते एकैदिन मलेसियाबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको २४ वटा शव र तीन अस्तु काठमाडौं ल्याइयो । नेपाल वायु सेवा निगमको जहाजमा ती शव नेपाल ल्याइएको थियो । 
  • २०७७ चैत २२ गते तीन देशबाट एकैदिन १५ जना नेपाली कामदारको शव नेपाल ल्याइयो । मलेसिया १२, साउदी अरब दुई र कतारबाट एक जनाको शव ल्याइएको थियो ।
  • २०७७ माघ ११ गते एकैदिन मलेसियाबाट १८ जनाको शव नेपाल ल्याइएको थियो ।  


पछिल्ला आठ महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली युवाको शव नेपाल ल्याइएका केही उदाहरण हुन् यी । दैनिक यस्ता शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइन्छ र सम्बन्धित परिवारलाई बुझाइन्छ । वैदेशिक रोजगारीमा जानेहरुको हबिगत हेर्दा ‘सरकारले रेमिट्यान्समा आँखा लगाइरहेको र जनता चाहिँ आफन्तको शव पर्खिरहेको’ जस्तो भान हुन्छ । 

वैदेशिक रोजगारीबाट बर्सेनि नेपालमा खर्बौं रुपैयाँ रेमिट्यान्स भित्रन्छ, तर त्यो पैसामात्र होइन । नेपाली कामदारको रगत–पसिनाले आर्जेको कमाइ हो । त्यति कमाउन नेपाली युवाले कति दुःख र पीडा सहेका छन् भन्ने कुरामा कमैको चासो छ । 

दुःख र पीडा सहन नसकी वा कामको चाप बढी हुँदा विरामी भएर बर्सेनि सयौं नेपालीले विदेशीभूमिमै प्राण त्याग्ने गरेका छन् । सरकारले यी प्राणको मूल्य नै तोकिदिएको छ– सात लाख रुपैयाँ । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु हुनेको परिवारलाई वैदेशिक रोजगार बोर्डले सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । यो सहायता वैध कामदारको मृत्यु भएमा मात्र परिवारले पाउँछन् । 



बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २९ जना महिला र १ हजार २१३ जना पुरुष गरी कूल १ हजार २४३ जना नेपालीको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ । ‘मृतक कामदारका परिवारलाई गत आवमा ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेका छौं,’ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले फरकधारसँग भने । 

जुन संख्यामा नेपाली कामदारको मृत्यु विदेशी भूमिमा गत वर्ष भएको छ, त्यो अघिल्ला वर्षहरूको भन्दा करिव दुई गुना बढी हो । कोरोना महामारीले विश्वलाई लपेटिरहेका बेला वैदेशिक रोजगारीमा जाने नेपालीको मृत्यु दुई गुनाले बृद्धि भएको तथ्यांकले देखाउँछ । 

बोर्डका अनुसार अघिल्लो आव २०७६/७७ मा वैदेशिक रोजगारीका क्रममा ६५६ जना नेपालीले ज्यान गुमाएका थिए । एक वर्षपछि यो संख्या बढेर १ हजार २४३ पुगेको छ । आव २०७५/७६ मा ७ सय ५३ जना र २०७४/७५ मा ८२१ जना नेपालीको मृत्यु वैदेशिक रोजगारीको क्रममा भएको थियो । केही वर्षयता क्रमशः घट्दै गरेको यो तथ्यांक गत वर्ष आश्चर्यजनक रुपमा बढेको छ । 

तर, कोरोनाका कारण मृत्यु भएर संख्या बढेको भने होइन । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार गत आवमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकामध्ये २३४ जनाको अन्तिम संस्कार परिवारको सहमति लिई सम्बन्धित देशमै गरिएको थियो । तीमध्ये १३१ जनाको मृत्यु कोरोना संक्रमणका कारण भएको थियो । ​

कुन देशमा कतिको मृत्यु ? 

गत आव २०७७/७८ मा सबैभन्दा बढी नेपाली कामदारको मृत्यु साउदी अरबमा भएको छ । बोर्डको तथ्यांकअनुसार साउदी अरबमा गत वर्ष ३६२ जना नेपालीले ज्यान गुमाएका छन् । नेपाली कामदारको मृत्यु हुने दोस्रो ठूलो संख्या मलेसियामा २ सय ८० रहेको छ । 

एक वर्षको अवधिमा कतारमा २३९ जना नेपाली कामदारको मृत्यु भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा गत वर्ष २०८ जना नेपालीको मृत्यु भएको बोर्डको तथ्यांक छ । 

यस्तै, गत वर्ष बहराइनमा ३१, कुवेतमा ५५, दक्षिण कोरियामा १३, अफगानिस्तानमा २, अल्जेरियामा २, ब्रुनाईमा १, चीनमा २, साइप्रसमा २, इजरायलमा १, जापानमा ९, जोर्डनमा ६, लेबनानमा १, मकाउमा ३, माल्दिभ्समा १, ओमानमा ७, पोल्याण्डमा १, पोर्चुगलमा १, रोमानियमा ३, सिसिलिजमा २, सिंगापुरमा १, टर्कीमा ३ र युगान्डामा १ जना नेपालीले कामको सिलसिलामा मृत्यु ज्यान गुमाएका छन् । ​

मृत्यु हुनेमा मोरङ जिल्लाका बढी 

गत आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मोरङका रहेका छन् । सो वर्ष मोरङका ५८ जनाको मृत्यु वैदेशिक रोजगारीको क्रममा भएको थियो । 

मोरङपछि मृत्यु हुनेको ठूलो संख्या धनुषामा रहेको छ । गत वर्ष धनुषाका ५७ जनाको मृत्यु रोजगारीको सिलसिलामा विदेशमा भएको थियो । बोर्डको तथ्यांकअनुसार गएको वर्ष महोत्तरीका ५५, झापाका ५३, दाङका ३३ र कास्कीका ३१ जनाको मृत्यु वैदेशिक रोजगारीको क्रममा भएको थियो । 

यस्तै, अर्घाखाँचीका १७, इलामका ११, उदयपुरका २६, कपिलवस्तुका २२, काभ्रेका १४,  खोटाङका १५, गोरखाका २९, चितवनका ३६, तनहुँका २७, धादिङका १०, नवलपरासी (पश्चिम)का ४०, नुवाकोटका १३, पर्वतका १०, पर्साका १०, पाँचथरका २३, पाल्पाका २३, बर्दियाका १३, बाँकेका १४, बागलुङका १७, बाराका १८, भोजपुरका १५, मकवानपुरका २० र रामेछापका १२ जनाको मृत्यु गत वर्ष विदेशीभूमिमा भएको थियो । ​

किन हुन्छ यति धेरैको मृत्यु ? 

बोर्डका अनुसार आव २०७७/७८ मा वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी मृत्यु विभिन्न रोगका कारण भएको थियो । गत वर्ष विभिन्न रोगबाट ४२७ जनाको मृत्यु भएको थियो । यीमध्ये १३१ जनाको मृत्यु कारण कोरोना भाइरसको संक्रमण बनेको थियो । 

गत वर्ष हृदयघातका कारण १०४ जनाले विदेशीभूमिमा मृत्युवरण गरे । विभिन्न देशमा सडक दुर्घटनामा परी ११९ जना नेपालीको मृत्यु गत आवमा भएको थियो । 

कार्यक्षेत्रमा दुर्घटनामा परी २६, आत्महत्या १४०, हत्या गरेर २, प्राकृतिक मृत्यु १७१ र अन्य कारण २४८ जना नेपालीको मृत्यु गत वर्ष वैदेशिक रोजगारीका क्रममा भएको थियो । ५ जनाको मृत्युको कारण भने खुलेको छैन । 

गत वर्ष विदेशीभूमिमा सबैभन्दा बढी नेपालीको मृत्यु हृदयाघात, आत्महत्या, कोरोना भाइरस र सडक दुर्घटनाका कारण भएको देखिन्छ । ​

११ वर्षको तथ्यांकले के भन्छ ? 

वैदेशिक रोजगार बोर्डको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२०’ मा आव २०६५/६६ देखि २०७५/७६ सम्मको अवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये ७ हजार ४६७ जनाको मृत्य भएको उल्लेख छ । मृत्यु हुनेमध्ये ७ हजार २९६ जना पुरुष र १७१ जना महिला कामदार छन् । 

प्रतिवेदनमा डर लाग्दो तथ्य के छ भने वैदेशिक रोजगारीमा गएकामध्ये ठूलो संख्यामा नेपाली कामदारको मृत्यु हृदयाघात र मुटुसम्बन्धी रोगका कारण भएको छ । ११ वर्षको अवधिमा १ हजार ३ सय जनको हृदयघातबाट र ६०३ जनाको मृत्यु मुटु सम्बन्धी रोगका कारण भएको छ । 

उक्त अवधिमा प्राकृतिक कारण १ हजार ६१३ जनाले विदेशीभूमिमा प्राण त्यागेका छन् । सोही अवधिमा सडक दुर्घटनामा परेर १ हजार ४० जना नेपालीको ज्यान गएको छ । 

विदेशमा गएर आत्महत्या गर्नेको संख्या पनि सानो छैन । उक्त अवधिमा वैदेशिक रोजगारीमा गएका ८९३ जनाले आत्महत्या गरेका छन् । कार्यस्थल दुर्घटनामा परी ६४२ जनाको मृत्यु भएको छ । अन्य कारण १ हजार ३६६ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारीमा गएकाहरुमध्ये सबैभन्दा बढीको मृत्यु हृदयाघात, आत्महत्या र सडक दुर्घटनाका कारण हुने गरेको तथ्यांकले देखाउँछ । ​

कुन देशमा नेपालीको मृत्युको कारण के ? 

वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढीको मृत्यु मलेसिया, साउदी अरब, कतार, युएई, कुवेत, ओमान र बहराइनमा भएको छ ।   

‘नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२०’ मा उल्लेख भएअनुसार मलेसियामा सबैभन्दा बढी नेपालीको मृत्यु हृदयघातका कारण भएको छ । मलेसियामा हृदयघातका कारण ३३० जनाको मृत्यु भएको छ । मुटु सम्बन्धी रोगका कारण १६९, प्राकृतिक कारण २३१, सडक दुर्घटनाका कारण ११८, आत्महत्या गरेर २४०, कार्यस्थल दुर्घटनामा परी १८४ र अन्य कारण १८४ जना नेपाली कामदारको मृत्यु मलेसियामा भएको छ । 

साउदी अरबमा सबैभन्दा बढी नेपालीको मृत्यु प्राकृतिक र सडक दुर्घटनाका कारण भएको देखिन्छ । साउदीमा पछिल्लो ११ वर्षमा प्राकृतिक कारण ५७९, सडक दुर्घटनामा ४६५, आत्महत्या गरेर १०२, कार्यस्थल दुर्घटनामा परी १४०, हृदयघातका कारण १०५, मुटु सम्बन्धी रोगका कारण ५९ र अन्य कारण ११९ जनाको मृत्यु भएको छ । 

कतारमा पनि सबैभन्दा बढी नेपालीको मृत्यु हृदयघातका कारण हुने गरेको ११ वर्षको तथ्यांकले देखाउँछ । प्रतिवेदन अनुसार कतारमा हृदयघातका कारण ४८९, मुटु सम्बन्धी रोगले ७९, प्राकृतिक कारण ११४, सडक दुर्घटनामा परी ८८, आत्महत्या गरेर ८७, कार्यस्थल दुर्घटनामा ११९ र अन्य कारण ११९ जनाको मृत्यु भएको छ । 

युएईमा पनि सबैभन्दा बढी नेपालीको मृत्युको कारण बनेको छ– हृदयाघात । ११ वर्षमा हृदयघातका कारण १३६, मुटु सम्बन्धी रोगका कारण ५३, कार्यस्थल दुर्घटनामा परी २९, प्राकृतिक कारण ९०, सडक दुर्घटनामा ६७, आत्महत्या गरेर ७४ र अन्य कारण २९ जना नेपालीको मृत्यु युएईमा भएको छ । 

कुवेतमा सबैभन्दा बढी ६४ जनाको मृत्यु मुटु सम्बन्धी रोगका कारण भएको छ । उक्त अवधिमा कुवेतमा हृदयघातका कारण ७,  कार्यस्थल दुर्घटनामा परी ५, प्राकृतिक कारण १४, सडक दुर्घटनामा ३०, आत्महत्या गरेर २१ र अन्य कारण ५ जनाको मृत्यु भएको छ । 

ओमानमा हृदयघातका कारण ४, मुटु सम्बन्धी रोगका कारण २, कार्यस्थल दुर्घटनामा परी ३, प्राकृतिक कारण १५, सडक दुर्घटनामा ९, आत्महत्या गरेर ९ र अन्य कारण ३ जना नेपालीको मृत्यु भएको छ । 

प्रतिवेदन अनुसार बहराइनमा हृदयघातका कारण १२, मुटु सम्बन्धी रोगका कारण ३, कार्यस्थल दुर्घटनामा परी ७, प्राकृतिक कारण ३३, सडक दुर्घटनामा परी १३, आत्महत्या गरेर ६ र अन्य कारण ७ जना नेपालीले ज्यान गुमाएका छन् । ​

किन हुन्छ विदेशमा यति ठूलो संख्यामा नेपालीको मृत्यु ? 

‘नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२०’ अनुसार नेपाली कामदारले गन्तव्य मुलुकमा प्रतिकूल कार्य वातावरणमा काम गर्नुपर्ने र स्वास्थ्य सेवामा सीमित पहुँच हुने गरेको छ ।  

‘श्रमिकहरु जोखिमपूर्ण पेशामा काम गर्न बाध्य हुने गरेको छ, जसले गर्दा उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा अंगभंग र मृत्युको जोखिम पनि उत्तिकै हुने गरेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा मृत्यु हुनुको मुख्य तीन कारण औंल्याइएको छ । पहिलो– असमान तापक्रम । उखरमाउलो गर्मीमा काम गरेर फर्केका कामदार एसी चलाएर बस्दा (बढी चिसो बनाउँदा) मृत्यु भएको पाइएको छ । 

दोस्रो, किटनाशक औषधि तथा रासायनिक पदार्थको प्रयोगबाट हुने प्रतिकूल वातावरणीय प्रभावका कारण पनि मृत्यु बढेको प्रतिवेदनमा उल्लेख छ । 

तेस्रो, काम गर्ने वातावरणका कारण पनि बढी मृत्यु हुने गरेको छ । अत्याधिक शारीरिक श्रम, पेशागत सुरक्षाको अनिश्चितता, कार्यस्थलमा हुने हिंसा, बेचबिखन र बाध्यकारी श्रमका कारण कामदारको मृत्यु हुने गरेको छ । 

भाषागत र सांस्कृतिक भिन्नता, स्वास्थ्य सेवामा असमान पहुँच, गन्तव्य मुलुकमा कामदारको वैधानिकता जस्ता कारण पनि नेपालीको मृत्युको कारक बनेको प्रतिवेदनमा औंल्याइएको छ । अनुभव र सूचनाको कमीका कारण पनि सडक दुर्घटनामा परी नेपालीको मृत्यु हुनेको गरेको छ । ​

मृत्यु भएका नेपालीको पोष्टमार्टम हुँदैन 

वैदेशिक रोजगारीका विज्ञ तथा समाजशास्त्री गणेशमान गुरुङका अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको पोष्टमार्टम हुने गरेको छैन । यसकारण सरकारले पेश गर्ने मृत्युको कारणमध्ये २० प्रतिशत मात्र सत्य हुने दाबी उनले गरे । 

‘वैदेशिक रोजगारीमा गएकाको मृत्यु भए गन्तव्य मुलुकमा पोष्टमार्टम हुँदैन । पोष्टमार्टम भए मात्र मृत्युका कारण के हो पत्ता लाग्छ । दुर्घटनामा परेर मृत्यु भएका बाहेकको के कारण मृत्यु भएको हो भन्न सकिने अवस्था छैन,’ गुरुङले फरकधारसँग भने । 

नेपाली कामदारको पोष्टमार्टम गर्ने खर्चको व्यवस्थापन नेपाल सरकारले गरेको छैन । वैदेशिक रोजगार गएकाहरूको मृत्यु भएमा उनीहरुको पोष्टमार्टम गर्नको लागि आवश्यक रकम वीमा मार्फत व्यहोर्ने व्यवस्था सरकारले मिलाउनु पर्ने उनी बताउँछन् । पोस्टमार्टमको व्यवस्था नगरेसम्म नेपालीको मृत्यु रहस्यमय नै भइरहने उनले जनाए । 

सरकारले समय समयमा गन्तव्य मुलुकमा गई नेपाली कामदारको स्वास्थ्य परिक्षण गर्नुपर्ने सुझाव गुरुङको छ । यसको लागि नेपाली दूतावासहरुलाई सक्रिय बनाउनु पर्ने उनले बताए । ​

१३ वर्षमा ९ हजारभन्दा बढिको मृत्यु 

वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो १३ वर्षमा वैदेशिक रोजगारमा गएकाहरु मध्ये ९ हजार ३६५ जनाको मृत्यु भएको छ । आव २०६५/६६ देखि २०७७/७८ सम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । 

यो अवधिमा सबैभन्दा बढी नेपालीको मृत्यु आव २०७७/७८ मा १ हजार २४३ जनाको भएको छ । सबैभन्दा कमको मृत्यु आर्थिक वर्ष २०६५/६६ ९० जनाको भएको थियो । 

यसअघि सबैभन्दा बढीको मृत्यु आव २०७१/७२ मा १ हजार ६ जनाको भएको थियो । 

बोर्डको तथ्यांक अनुसार आव २०७७/७८ मा १ हजार २४३, २०७६/७७  मा ६५६, २०७५/७६ मा ७५३, २०७४/७५ मा ८२१,  २०७३/७४ मा ७५५, २०७२/७४ मा ८१३, २०७१/७२ मा १ हजार ६, २०७०/७१ मा ८८८, २०६९/७० मा ७२७, २०६८/६९ मा ६४६, २०६७/६८ मा ५४९, २०६६/६७ मा ४१८ र २०६५/६६ मा ९० जना नेपालीको विदेशी भूमिमा रोजगारीको सिलसिलामा मृत्यु भएको छ । ​

कोरोना महामारीमा ८८१ शव ल्याइयो 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का अनुसार पछिल्लो १५ महिना अर्थात् कोरोना महामारी सुरु भएपछिको अवधिमा विभिन्न देशबाट ८८१ जना नेपालीको शव उद्धार गरी ल्याइएको छ । यी शव कोरोना बाहेकका कारणबाट मृत्यु भएकाहरुको मात्र हो । 

‘पछिल्ला दिन कोरोनाका कारण मृत्यु भएकाहरुको शव सानो संख्यामा ल्याइएको छ । जति पनि उद्धार गरी ल्याइएका शव छन्, ती सवै कोरोना बाहेकको कारणबाट मृत्यु भएकाहरुको हो,’ सिसिएमसीका प्रवक्ता नुरहरि खतिवडाले फरकधारसँग भने । 

यो अवधिमा मलेसियाबाट ३५४, साउदी अरेबियाबाट १६५, कतारबाट १७५, कुवेतबाट १२, दक्षिण कोरियाबाट ५, बंगलादेशबाट ११, युएईबाट ८३, हङकङबाट ७, सिंगापुरबाट ३, बहराइनबाट १६, चीनबाट ३, टर्कीबाट ३६, भारतबाट ८ जना नेपालीको शव उद्धार गरी नेपाल ल्याइएको छ । 

१३ वर्षमा ७० खर्ब रेमिट्यान्स भित्रियो 

पछिल्लो १३ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरूबाट देशमा करिव ७० खर्ब रेमिट्यान्स भित्रिएको बोर्डले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आव २०७७/७८ मा नेपालमा विभिन्न देशबाट ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । 

अघिल्लो आवको तुलनामा गत वर्ष ९.८ प्रतिशतले रेमिट्यान्स बृद्धि भएको छ । अघिल्लो आव २०७६/७७ मा नेपालमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंक तथ्यांकले देखाउँछ । यस्तै, आव २०७५/७६ मा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो । 

कोरोना महामारीका कारण गत वर्ष नेपाल भित्रने रेमिट्यान्स थोरै घटेको थियो । गत आव पनि विश्वलाई कोरोना महामारीले लपेटेको थियो र नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम रोकिए पनि नेपाल भित्रने रेमिट्यान्स भने बढेको देखिन्छ । 

‘वैदेशिक रोजगारीबाट ५६ प्रतिशत घरधुरीले नियमित रुपमा विप्रेषण पाइरहेको तथ्यलाई मान्दा र प्रति घरधुरी औसत परिवार संख्या ४.८८ को आधारमा नेपालमा हाल ३० लाख ३९ हजार घरधुरीका १ करोड ४८ लाखभन्दा बढी मानिस वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा आश्रित रहेका छन्,’ बोर्डले यस वर्षको आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । ​

उत्पादनमुलक क्षेत्रमा रेमिट्यान्स किन लगानी भएन ? 

वैदेशिक रोजगारीका विज्ञ तथा समाजशास्त्री गणेशमान गुरुङ अझै लामो समय वैदेशिक रोजगारीबाट भित्रने रेमिट्यान्स नेपालको उत्पादनमुलक क्षेत्रमा लगानी हुन नसक्ने बताउँछन् । 

‘यहाँ धेरै रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा लगानी भएन भन्छन् । म उनीहरुलाई भन्छु– वैदेशिक रोजगारीमा जाने व्यक्ति कस्ता छन् त्यो बुझ्नु पर्यो,’ गुरुङको बुझाई छ, ‘हाम्रोबाट खाडी राष्ट्र र मलेसिया जानेहरू अधिकांश राम्रोसँग खान नपुग्नेहरु छन् । उनीहरुको पहिलो आवश्यकता परिवारको पेट भर्नु हो । उनीहरुले कसरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सक्छन् ?’ 

धेरैको आरोप छ– रेमिट्यान्सले उपभोग्य वस्तुको आयात बढायो, उत्पादन बढाएन, रोजगारी सृजना गरेन । यसमा सहमत छैनन् गुरुङ । 

‘उनीहरु आफ्ना आधारभूत आवश्यक पुरा नभएका कारण विदेश गएका हुन् । उनीहरुको पहिलो काम भनेकै आधारभूत आवश्यकता पुरा गर्ने हो,’ उनले भने । 

गुरुङका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीले कमाउन थालेपछि सबैभन्दा पहिला आपूm जाँदाको ऋण तिर्छ । त्यसपछि उसले परिवारको खानामा खर्च गर्छ । तेस्रो स्टेजमा उसले घरको छाना खरको छ भने जस्ताको हाल्छ । चौथो स्टेजमा सरकारी स्कुलमा पढ्दै गरेका छोराछोरीलाई बोर्डिङ स्कुलमा पठाउन थाल्छ । पाँचौं स्टेजमा आफ्नो गाउँ नजिकको सहरमा घडेरी किन्छ । छैठौं स्टेजमा उसले घर बनाएर परिवार सार्छ । 

‘रोजगारी बढाउँछु, उत्पादन बढाउँछु, सरकारलाई ट्याक्स तिर्छु भनेर अधिकांश नेपाली वैदेशिक रोजगारीमा गएका होइनन् । उनीहरु घरमा राम्रोसँग दुई छाक खान नपुगेर गएका हुन् । अनि यस्तो गरिव जनतासँग त्यति ठूलो आशा कसरी राख्न सकिन्छ ?,’ गुरुङले भने । ​

२८ वर्षमा ५५ लाखभन्दा बढी गए वैदेशिक रोजगारीमा 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पछिल्लो २८ वर्षमा ५५ लाख ३० हजार ५५५ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न राष्ट्र पुगेका छन् । आव २०५०/५१ देखि २०७७/७८ को अवधिमा उनीहरु वैदेशिक रोजगारीमा गएका हुन् । 

एकै वर्ष सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा आव २०७०/७१ मा गएका थिए । सो वर्ष ५ लाख १९ हजार ६३८ जना नेपालीले रोजगारीको सिलसिलामा आफ्नो मातृभूमि छाडेका थिए । सबैभन्दा सानो संख्यामा आव २०५१/५२ मा २ हजार १३४ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । 

  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार २१:४७:४२,   अन्तिम अपडेट : असोज १, २०७८ शुक्रबार १२:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया