चीनलाई एक्लाउने तयारी, ‘अकस’ गैरजिम्मेवार सम्झौता : बेइजिङ

चीनले पछिल्लो समय गरेको अकल्पनीय प्रगतिबाट संसारका धनी देशहरू त्रस्त छन् । कोरोना महामारीले संसारका प्रायः सबै देश आर्थिक संकटको सामना गरिरहँदा चीन भने अर्थतन्त्र मजबुत पारिरहेको थियो । महामारीकै अवस्थामा पनि त्यो विशाल मुलुकले आर्थिक वृद्धि कायम राख्न सफल भयो । कसरी यस्तो सम्भव भयो ? यो प्रश्नले सबैभन्दा बढी चिन्तित महाशक्ति अमेरिका हुन पुगेको देखिन्छ । 

चीनको प्रगतिसँग बेखुसी हुने मुलुकहरूको संख्या बढिरहेको छ । हाम्रो दक्षिणी छिमेकी भारत पनि चीनको प्रगतिबाट चिन्तित छ । अमेरिकाले त कोरोनाअघि नै चीनलाई तह लगाउन ‘ट्रेड वार’ नै सुरु गर्‍याे । अमेरिकामा चीनबाट निर्यात भइरहेका कयौं वस्तुहरूमा भन्सार शुल्क अत्यधिक वृद्धि गरियो । त्यतिमात्र होइन, थुप्रैखाले चिनियाँ एप्सहरूका प्रतिबन्धसमेत लगायो । अमेरिकाकै सिको गर्दै भारतले समेत टिकटकलगायतका एप्समा प्रतिबन्ध लगायो । 

चीनसँग सम्बन्ध चिसो हुने मुलुकमा अमेरिका र भारतमात्रै छैनन्, अस्ट्रेलिया, फ्रान्स, बेलायत, क्यानडा पनि देखिएका छन् । चीन मित्रताका लागि नयाँ देशको खोजीमा जुटेको त छ, तर विश्वसनीय देश पाइरहेको छैन । मुख्य कुरा चीनले बेल्ट एन्ड रोड इनिसियटिभलगायतका आफ्ना विभिन्न महत्वाकांक्षी परियोजना लागू गर्न चाहिरहेको छ । यो परियोजनामार्फत् उसले आफ्ना उत्पादनहरु संसारभर फैलाउने चाहना राखेको बुझ्न सकिन्छ । यही कुरामा विमति राख्छन्- अमेरिका, अस्ट्रेलिया, भारतलगायतका देशहरू । 

आपस सहयोग, भाइचारा, लेनदेन, आतंकवादको विरोध, एकजुटताजस्ता विषयलाई केन्द्रमा राखेर संसारमा थुप्रै संगठनहरू स्थापित भएका छन् । यीमध्ये अधिकांश संगठनहरूमा चीनलाई एक्लाउने प्रयास हुँदै आएको देखिन्छ । हालै अमेरिका, बेलायत र अस्ट्रेलियाबीच एक ऐतिहासिक सुरक्षा सम्झौता भएको छ । 

‘अकस’ नामक उक्त सम्झौतालाई लिएर चीनले तीव्र आलोचना गर्दै सो कदम ‘गैरजिम्मेवार’ हुनुका साथै यी मुलुकहरुले राखेको ‘सानो सोच’ रहेको बताएको छ । चीनले तीन देशबीच भएको सम्झौतालाई ‘शीतयुद्धको मानसिकता’ समेत करार गरिदिएको छ । यसअघि पनि बेलायत, अमेरिका र अस्ट्रेलियाले एक विशेष सुरक्षा सम्झौताको घोषणा गरेका थिए ।

यो सम्झौताको आधारमा अमेरिकाले अस्ट्रेलियालाई पनडुब्बी (सबमरिन)को प्रविधि पनि उपलब्ध गराउने छ । कतिपय विश्लेषकहरू नयाँ सुरक्षा सम्झौतामार्फत् एसिया प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई निस्तेज पार्न खोजिएको बताउँछन् । चीनले पछिल्लो समय आर्थिक, प्राविधिकलगायतका क्षेत्रमा गरेको प्रगतिमा ब्रेक नलगाउने हो भने आफ्नो वर्चस्व गुम्ने खतरा देखेर उनीहरुले यो कदम चालेको विश्लेषकहरूको बुझाइ छ ।



एसिया प्यासिफिक क्षेत्रमा ‘सुरक्षा’ वर्षौंदेखि विवादको कारण बन्दै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान भन्छन्, ‘अन्तर्राष्ट्रिय रूपमा हतियार प्रसार रोक्ने प्रयासमा यही कारण धक्का लागेको छ ।’ उनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौता ‘अकस’को आलोचना गरे । 

चिनियाँ सरकारी मिडियाले यो सम्झौताको आलोचना गर्दै सम्पादकीय आलेख नै प्रकाशित गरेको छ । ग्लोबल टाइम्समा प्रकाशित एक लेखमा यो सम्झौता गरेर अस्ट्रेलियाले स्वयंलाई चीनविरोधी बनाएको आरोप लगाइएको छ ।



५० वर्षपछि अन्य देशसँग प्रविधि साझा गर्दै अमेरिका

अमेरिकाले पहिलो पटक ५० वर्षपछि सबमरिन प्रविधि (टेक्निक) कुनै अर्को देशसँग साझा गर्न लागेको हो । यसअघि अमेरिकाले यस्तो प्रविधि बेलायतसँग मात्रै साझा गरेको थियो । यस्तो सबमरिन महिनौंसम्म पानीमा रहन सक्ने र लामो दूरीमा मिसाइल प्रहार गर्न सक्ने हुन्छ । 

अमेरिकी राष्ट्रपति जो बाइडने, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले संयुक्त भर्चुअल प्रेस कन्फरेन्समा अकस सम्झौताबारे जानकारी दिएका थिए । सम्झौताका बखत उनीहरुले चीनको सोझै नाम नलिए पनि पटकपटक क्षेत्रीय सुरक्षामा चिन्ता प्रकट गरेका थिए । एसिया सोसाइटी अस्ट्रेलियाका गाय बोकेन्स्टिन भन्छन्, ‘यो सम्झौताले तीनवटै देशले चीनको आक्रामक कदमको मुकाबिला गर्न सुरुआती पाइला चालिरहेको स्पष्ट पार्छ ।’ हालैका वर्षहरुमा दक्षिण चीन सागरजस्ता विवादित क्षेत्रमा तनाव बढाएको आरोप बेइजिङमाथि लाग्दै आएको छ ।

उता, चीन भने उक्त क्षेत्रमा आफ्नो सदियौ पुरानो अधिकार रहेको दाबी गर्छ । यही दाबीलाई थप मजबुत बनाउन चीनले तीव्र गतिमा त्यहाँ सैन्य उपस्थिति बढाइरहेको छ ।

चीन-अस्ट्रेलियाबीचको बिग्रँदाे सम्बन्ध

अस्ट्रेलिय चीनको ठूलो व्यापार साझेदार मुलुक हो । वषौंदेखि ती दुई देशबीच सम्बन्ध राम्रो रहँदै आएको थियो । तर, हालैका वर्षहरूमा भने दुई देशबीच राजनीतिक तनाव निकै बढेको छ र सम्बन्धमा गहिरो खाडल बन्न पुगेको छ ।

चीनमा रहेका उइगर मुसलमानमाथिको दमनको विरोधमा अस्ट्रेलिया बोल्नु, हुवावेका केही प्रविधि प्रतिबन्ध लगाउनु र कोरोना महामारीको उत्पत्तिबारे चीनको भूमिकाको आलोचना गर्नुजस्ता क्रियाकलाप अस्ट्रेलियाले गरिरहेको छ । यही कारण पनि दुई देशबीचको सम्बन्ध चिसिएको हो । कतिपय पश्चिमी मुलुकसमेत हिन्द प्रशान्त क्षेत्रमा चीनको तीव्र गतिको लगानीबाट चिन्तित बनेका छन् ।

(बिबिसीमा आधारित)

  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १३:६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया