\
कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ सुरु भएको छ ।
कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ नेपालको सयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजबाट दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम सुरु भएको हाे ।
दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्बराज खड्काले जानकारी दिए ।
समृद्ध कर्णालीको आधार, स्वस्थ हरित न्यायपूर्ण पुनर्उत्थानका लागि दिगो विकास भन्ने मूल नाराका साथ सुरु भएको सप्ताहमा कर्णाली प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्यमाथि बहस संचालन गरिने छ ।
कर्णाली प्रदेशको समग्र विकासको लागी विभिन्न सरोकारवालाहरूसँगको गहन छलफल, बहस, दिगो विकास लक्ष्यको कार्यान्वयनमा प्रभावकारी भूमिका लगायतका विषयमा समेत छलफल हुने आयोगले जनाएको छ ।
सप्ताह कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यकोे कार्यान्वयन स्थितिमा उच्च स्तरीय नीतिको चर्चा, कोभिड-१९ को घरेलु खाद्य सुरक्षा र जीविकापार्जनमा परेको असरको छलफल, दिगो विकास लक्ष्य र उपलब्धि, नीति, मुद्दाहरू, निहितार्थ, प्राथमिकताहरू, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य र पोषणमा आगामी कार्यदिशा वारेमा छलफल लगायतका कार्यसूची रहेको छ ।
समुदघाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभाका सदस्यहरू, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरू, कर्णाली प्रदेश जिल्ला समन्वय समिति महासंघ, प्रदेश नगरपालिका तथा गाउँपालिका महासंघका प्रमुखहरू तथा युएन एजेन्सी, कर्णाली प्रदेश गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधिहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेकाे थियाे ।
जनताको आर्थिक समृद्धि भएमात्र प्रदेशको विकास सम्भव : मन्त्री महेन्द्रबहादुर
कार्यक्रममा बाेल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धि भएमात्र कर्णालीको समग्र विकास हुने बताए ।
कर्णालीवासीलाई आर्थिक रूपमा सम्पन्न बनाई आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम, सडक,सिँचाइ, स्वास्थ्य, शिक्षा लगायतका महत्वपूर्ण क्षेत्रमा जोड दिएको बताए । जनताको आर्थिक उत्पादन वृद्धि गर्न प्रदेश सरकारले जनमुखी कार्यक्रम संचालन गरिएको दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।