बागमती प्रदेशमा गठबन्धन
बागमती प्रदेश: पाण्डेका २ सम्भावना, बानियाँका ३ दाउ

बागमती प्रदेशको सरकार अल्पमतमा परिसकेको छ । तर गठबन्धनले निर्णय गर्न नसक्दा सरकार अझै टिक्ने देखिन्छ । गठबन्धनको भागबण्डामा बागमती प्रदेशको सरकार कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा बागमती प्रदेश सरकारविरुद्ध गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउन सकेको छैन । 

सरकार परिवर्तन गर्न ३० दिनसम्म अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने समय कुर्नुपर्छ । जसको लागि सरकारको ८ दिन गईसकेको छ । भदौ २३ गते औपचारिक रुपमा पार्टी विभाजनपछि ३० दिन भित्र सरकारले विश्वासको मत लिनुपर्ने अवस्थामा भदौ मसान्तसम्म सरकार आफ्नै लयमा छ भने विपक्षी गठबन्धनले कुनै प्रयास गर्न सकेको छैन । 

सरकार परिवर्तन गर्न अविश्वासको प्रस्ताव लगेर विशेष अधिवेशन बोलाउनु पर्‍यो । त्यसका लागि गठबन्धनका तर्फबाट मुख्यमन्त्री तोकेर अविश्वासको प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । 

यस्तै प्रदेश प्रमुखलाई गठबन्धनमा बहुमत रहेको भन्दै आफ्नो सरकारको दाबी पेस गर्ने अर्को विकल्प छ । तर उक्त विकल्पका लागि पनि मुख्यमन्त्री तोक्नुपर्ने भएकोले प्रदेश सरकार परिवर्तन गर्न मुख्यमन्त्रीको टुंगो नलाग्दा यो विकल्प पनि ढिलाई हुने देखिएको छ ।
  
बानियाँका ३ दाउ

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ कुन पदमा उम्मेदवारी दिन्छन् भन्ने सर्वत्र चासोको विषय छ ।

नेकपा एमालेको दबदबालाई तोड्दै दोस्रो संविधानसभाको निर्वाचनमा मकवानपुरको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएर राष्ट्रिय राजनीतिमा उदाएका बानियाँ पार्टीको महाधिवेशन नजिकिँदै गर्दा आफू र आफ्नो नेतृत्वलाई कसरी वडादेखि केन्द्रसम्म स्थापित गर्न सकिन्छ भनेर रणनीति बनाउन व्यस्त छन् । 



प्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेका बानियाँले तत्कालीन वाम गठबन्धनलाई तोड्दै २०७४ सालमा भएको संसदीय निर्वाचनमा बाग्मती प्रदेश सदस्यमा निर्वाचित भएका थिए । लगत्तै उनी प्रदेश संसदीय दलको नेतामा चयन भए । संसदीय दलको नेता भएको करिब चार वर्षको अवधिमा विपक्षी दलको भूमिकामा रहेको कांग्रेस अहिले सत्तापक्ष हुने निकट पुगेको छ । 

मुख्यमन्त्री बन्ने



बागमती प्रदेशको सत्तारुढ नेकपा एमाले अहिले औपचारिक रुपमा फुटिसकेको छ । यस्तो अवस्थामा वर्तमान अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार केही समयभित्र परिवर्तन हुने निश्चित छ । 

करिब चारवर्ष प्रदेशसभामा विपक्षी दलको रुपमा सरकारको विरोध गरिरहेको कांग्रेस यसै महिनाभित्र सत्तापक्षको बेञ्चमा बस्ने निश्चित छ । यस्तो अवस्थामा अहिले केन्द्रीय गठबन्धनमा रहेको कांग्रेस, माओवादी केन्द्र र नवगठित नेकपा (एकीकृत समाजवादी) सहितको प्रदेश सरकार गठन हुनेछ । 

माओवादीले देशभरको तीनवटा प्रदेश सरकारको नेतृत्व गरिसकेको अवस्थामा मुख्यमन्त्रीमा दाबी नगर्ने बताइसकेको छ । यस्तो अवस्थामा कांग्रेस वा नेकपा (एस) मध्ये एउटा दलले प्रदेशको नेतृत्व गर्ने पक्का छ । प्रधानमन्त्री देउवा नजिक रहेको र माओवादीको समेत पूर्ण साथ र सहयोग पाइरहेका कारण बानियाँका मुख्यमन्त्रीमा दाबी कायम छ ।  

कांग्रेसको प्रदेश सभापति

बागमती प्रदेशको राजधानी हेटौंडा भएको र हेटौंडामै पार्टी कार्यालय स्थापना गरेर प्रदेशको ६६ वटै निर्वाचन क्षेत्रमा कांग्रेसलाई क्रियाशील बनाउन आफू तयार रहेको औपचारिक रुपमा बानियाँले बताइसकेका छन् । उनले प्रदेश सभापतिमा उम्मेदवार दिन आफूले आन्तरिक तयारी गरिरहेको बताए ।

‘आन्तरिक तयारी गरिरहेको छु । छलफलकै क्रममा रहेकाले अन्तिम निर्णयमा पुगिसकेको छैन । केही समयभित्र कुन पदमा उम्मेदवारी दिने निश्चिन गर्नेछु’, उनले भने । तर बागमती प्रदेशमा देउवा पक्षभन्दा इतर समूह बलियो रहेका कारण चुनाव जित्ने निश्चित भएमात्र उनी अगाडि बढ्ने गर्ने आन्तरिक कसरतमा रहेको बुझिन्छ ।

अन्तिम विकल्प : जिल्लामै दोहोर्‍याउने

बागमती प्रदेशको मुख्यमन्त्री र पार्टीको प्रदेश सभापति हुन नसकेको खण्डमा उनी जिल्लामै नेतृत्व दोहोर्‍याने गरी कसरत गरिरहेका छन् । ‘आवश्यक पर्दा जिल्ला सभापति पनि बन्ने छु । जिल्लामा कार्यबाहक दिएर प्रदेशमा चुनाव लड्न पनि सकिन्छ । धेरै विकल्पहरु छन्’, उनले भने । 

जिल्लामा पार्टीभित्र आफ्नो पकड बलियो रहेका कारण सजिलै चुनाव जित्नेमा उनी ढुक्क देखिन्छन् । तर, अघिल्लो महाधिवेशनमा बानियासँग रहेका केही नेताहरु स्थानीय तह र प्रदेशको चुनाव पछि चिडिएका छन् । तर, नवप्रवेशी कांग्रेसहरु उनको साथमा रहेका छन् । 

पाण्डेका २ सम्भावना 

नेकपा (एकीकृत समाजवादी) का नेता तथा बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे सत्तारुढ गठबन्धनका प्रभावशाली नेता हुन् ।

पाण्डेको प्रत्यक्ष हस्तक्षेप नेकपा (एकीकृत समाजवादी) को निर्णयमा हुने गर्दछ । तत्कालीन नेकपा एमालेभित्र पनि प्रभावशाली छवि बनाएका पाण्डे मुख्यमन्त्री हुने दाउमा धादिङबाट प्रदेशमा चुनाव उठेका थिए । तर एमाले अध्यक्ष केपी ओलीले टिममा नपरेको भन्दै डोरमणि पौडेललाई सिनियर नेताहरु पन्छाउँदै मुख्यमन्त्री बनाएका थिए । गठबन्धन बलियो भएको अवस्थामा राजेन्द्र पाण्डेका अन्य दुई विकल्प छन् । 

मुख्यमन्त्री बन्ने

नेकपा (एकीकृत समाजवादी) का नेता तथा बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एसले नै गर्ने र मुख्यमन्त्री आफैं बन्ने दाबी गर्छन् । 

उनले बागमती प्रदेशमा मात्रै नभई प्रदेश–१ मा समेत गठबन्धनका तर्फबाट नेकपा एसले नै नेतृत्व गर्ने दाबी गरे । गठबन्धनका तर्फबाट ६ वटा प्रदेशमध्ये नेपाली कांग्रेसले दुई, नेकपा माओवादी केन्द्रबाट २ र नेकपा (एकीकृत समाजवादी)बाट २ मुख्यमन्त्रीको भागबण्डा भएको भन्दै उनले गण्डकी र कर्णालीमा काँग्रेसले नेतृत्व गर्ने भन्दै कर्णालीमा माओवादीले कांग्रेसलाई छोड्ने निर्णय भइसकेको उनले बताए । 

यस्तै लुम्बिनी र सुदूरपश्चिममा नेकपा माओवादीको मुख्यमन्त्री भएकोले बागमती र प्रदेश–१ मा नेकपा (एकीकृत समाजवादी) ले नै पाउने उनले दाबी गरे । नेता पाण्डेले बागमती प्रदेशमा गठबन्धनमा कुनै समस्या नभएको भन्दै मुख्यमन्त्रीकै दौडमा रहेका नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले सहज रुपमा छोड्ने दाबी समेत गरे ।

नेकपा एसको महासचिव

पाण्डेले कुनैपनि हालतमा बागमती प्रदेशको नेतृत्व गर्न कसरत गरिरहँदा उनी पार्टीभित्रै महत्वपूर्ण जिम्मेवारीमा समेत आउन सक्छन् । पाण्डे निकट स्रोतले भन्यो, ‘उहाँ मुख्यमन्त्री बन्ने पक्कापक्की भईनसकेको अवस्थामा उहाँलाई पार्टीले ठूलै जिम्मेवारी दिन्छ । तर पहिलो प्राथमिकता मुख्यमन्त्री नै हो ।’

पाण्डेले मुख्यमन्त्री नपाएको अवस्थामा नेकपा एसको महासचिव दाबी गर्ने नेकपा एसका एक नेताले जानकारी दिए । ति नेताका अनुसार बाग्मतीमा मुख्यमन्त्री पाण्डे भए पार्टीको महासचिव बेदुराम भुसाल हुन्छन् । त्यस्तो नभएको अवस्थामा पाण्डे महासचिव बन्न सक्छन् । 

  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार ७:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया