जब गणेशमानसिंहले भने- सिन्दुर जात्रा गर्दा लाखौं मानिस, भोट चाहिँ जम्मा १२ हजार, यस्ताे पनि हुन्छ ?

आज नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे २५ औँ स्मृति दिवस ।  उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो (जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते)। तत्कालीन सरकारले उनको निधनमा तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । यसअघि तत्कालीन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा शोक मनाउने घोषणा गरेको थिएन । यो घोषणा नै पहिलो थियो । 

जनआन्दोलनपश्चात् तत्कालीन राजा वीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई अस्वीकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएपछि उहाँलाई लौहपुरुषको उपाधि दिइएको थियो । जनआन्दोलन पछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधानमन्त्री पद लिन राजा वीरेन्द्र आग्रह हुँदा सिंहले अस्वीकार गर्नुभएको हो । 

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहलाई लौह पुरुष र त्यागी नेताका रूपमा चिनिन्छ । राणाशासनको अन्त्यका लागि ज्यानको वाजी लगाएका सिंह जीवन पर्यन्त प्रजातन्त्र र मानवअधिकारका पक्षमा लडे । उनले कसैसँग पनि संझौता गरेनन्। आजीवन कारावास सजाय भोगिरहेका सिंहले राणाकालमा ६०१ कोर्रा लगाउँदा समेत माफी माग्नु मागेनन् । बरु जेल तोडेर भाग्नुभयो । 

प्रजातन्त्रको लडाइँमा सिँगो जीवन अर्पण गरेका सिंहले २०४६ सालको आन्दोलनको नेतृत्व गरे । आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न राजाले गरेको आग्रह अस्वीकार गरी त्यागको उच्चतम नमुना समेत बने । जीवनकालमा एकपटक २०१२ सालमा पार्टी सभापतिका लागि उनी उठेका थिए । सभापतिमा हारेपछि फेरि उनले कहिल्यै उम्मेदवारी दिएनन्।

सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउन राजनीतिमा होमिएका थिए । उहाँ तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनका एक नायक थिए । भारतमा अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । 

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संघर्षका हिसाबले बिपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील रहे । 



पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर कारावास भोगे । त्यसपछि पुनः प्रवासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बिपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

२०१५ मा सम्पन्न मुलुकको पहिलो संसदीय निर्वाचनमा काठमाण्डौं क्षेत्र नं १ बाट विजयी भएका सिंह त्यसपछि कहिल्यै चुनावमा उठेनन् । त्यो चुनावमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलाललाई झिनो मत अन्तरमा हराएर उनी विजयी भए । त्यही बेलामा उनले फेरि कुनै पनि चुनावमा प्रतिस्पर्धा नगर्ने प्रतिज्ञा गरेका थिए।



त्यो निर्वाचनमा नेपाली कांग्रेसले कूल १०९ मध्ये ७४ सिटका साथ दुई तिहाईको जित हासिल गरेको थियो । बिपी कोइरालाको नेतृत्वमा गठित सरकारमा गणेशमान सिंह यातायातमन्त्री भए । 

तिनै ताकाको कुरा हो । नेपाली कांग्रेस भक्तपुरका दर्जन नेता सिंहलाई सगुन सहित बधाई दिन भनेर उहाँको चाक्सीबारीस्थित निवासमै पुगेका थिए ।

बधाई दिन जाने टोलीका एक सदस्य हुनुहुन्थ्यो, नेपाली कांग्रेसका पुराना नेता तिलक प्रकाश कायस्थ । त्यो दिन सगुन दिन जाँदाको अनुभव नेता कायस्थले न्यूज एजेन्सी नेपाललाई यसरी सुनाउनुभयो ।

‘गणेशमानजी मन्त्री भएपछिको कुरा हो । भक्तपुरसँग ज्यादै नजिकको सम्वन्ध भएको नाताले हामी पन्ध्र सोह्र जना साथीहरू सगुन दिन भनेर उहाँको चाक्सीबारीस्थित घरमै गएका थियौँ । त्यही बेला उहाँले भन्नु भएको थियो– ‘ह्या तपाईंहरू पनि के को बधाई र सगुनको कुरा गर्नु हुन्छ ? मैले जितेको भनेर तपाईंहरूलाई यो सगुन दिन ल्याउनु भएको होला । प्राविधिक रूपमा जितेको भए पनि वास्तवमा म त हारेको व्यक्ति हुँ । १८ हजार भोट मेरो विरोधमा खसेको छ । मैले १२ हजार मत मात्र पाएँ । म आफूलाई जितेको भनूँ कि हारेको ? प्रकृयागत रूपमा जिते पनि वास्तविक रूपमा म हारेकै हो ।’ त्यसपछि गणेशमानजीले काठमाडौंवासीलाई नराम्रोसँग गाली गर्नुभयो ।’

उहाँको भनाइ थियो, ‘यी दास भइरहेका उपत्यकावासीलाई उद्दार गर्नुपर्छ भनेर मैले ज्यानको वाजी लगाएँ । कहिल्यै चैनसँग बस्न पाइनँ । राणाशासन फाल्न ज्यानको बाजी लगाएँ । राणाहरूले उहिल्यै मार्न खोजेका हुन् । बालबाल बचेँ । मेरो त्यो त्याग काठमाडौंबासीले चिनेको यही हो । मेरो भोट चाहिँ मलाई १२ हजार आयो । अस्ति मेरो सिन्दुर जात्रा गर्दा लाखौं मानिस । यस्ता पनि जनता हुन्छन् । जसलाई दासतावाट मुक्त गरेर मानिस बनाउन मैले लडेँ, उनीहरूले नै मेरो मूल्याङकन गर्न सकेनन् । हिजो मलाई मत नदिने । अहिले जितेपछि मेरो हाइहाइ । लड्दा बाइबाइ । यो स्थिति भएकाले मैले जितेको होइन ।’

त्यही बेला गणेशमानजीले भन्नु भएको थियो, ‘हेर्नुस् म आइन्दा कुनै चुनाव पनि लड्दिनँ र कुनै सरकारी पदमा पनि जान्न ।’ कायस्थका अनुसार त्यसै बेला उनले प्रण गरेका थिए । 

जननिर्वाचित सरकारले राम्रै काम गरिरहेको थियो । राजा महेन्द्रले २०१७ पुष १ गते संसदीय प्रजातन्त्र माथि कु गरे । बिपीसँगै गणेशमानजीलाई ८ वर्ष सुन्दरीजल बन्दीगृहमा राखियो ।

आठ वर्षसम्म उनी भारत प्रवासमा रहे । प्रजातन्त्र वहालीका लागि संघर्ष गरे । गणेशमानजीकै नेतृत्वमा २०४६ सालमा भएको जनआन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गर्‍याे । त्यो बेला अन्तरिम सरकारको प्रधानमन्त्री बन्न राजाबाट भएको आग्रह उनले अस्वीकार गरिदिए । प्रजातन्त्रका लागि जीवनभर त्याग गरेका नेताले मुखमै आएको प्रधानमन्त्री पद अस्वीकार गर्नु चानचुने त्याग थिएन । ततक्षण उनले कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे ।

२०१५ पछि पार्टीको कुनै पनि पदमा उनी लडेनन् र २०४८ र २०५१ को आम निर्वाचनमा समेत उम्मेदवार नै भएनन् ।

पछि २०४६ सालमा राजाले तपाईं नै प्रधानमन्त्री भएर चलाउनु पर्‍याे भनेर प्रस्ताव गर्दा पनि मान्न तयार भएनन् । नेपाली कांग्रेसीले मात्र नभई कम्युनिस्टहरूले पनि भनेका थिए, ‘गणेशमानजी अब तपाईं नेपाली कांग्रेसको मात्र नेता होइन, नेपालको नेता हो, हामी सबैको नेता हो । तपार्इंले देशको प्रधानमन्त्री भएर जानु पर्छ ।’

गणेशमानजीलाई सर्वमान्य नेता मान्नका लागि पहिला सहाना प्रधानले प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्तावमा मनमोहन अधिकारीले समर्थन गरे । यसरी उनी सर्वमान्य नेता भएका हुन् ।
 

  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १४:८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया