नातिले गहना लुट्न हँसियाले हजुरआमाको गरे हत्या

बझाङमा कानको मुन्द्रा लुट्न नातिले हजुरआमाको हत्या गरेका छन् । हँसियाले हानेर बझाङको दुर्गाथली गाउँपालिका–५ की ८५ वर्षीया रीखीदेवी जप्रेलको उनका नाति सुवास जप्रेलले हत्या गरेको जानकारी प्रहरीले दिएको छ । 

रीखी भदौ २७ गतेदेखि बेपत्ता थिइन् । उनका छोरा सोही वडाका अध्यक्ष रामबहादुरले उक्त कुरा प्रहरीलाई जानकारी दिए । रीखीदेवी रामबहादुर बस्ने घरभन्दा करिब १ सय मिटर टाढा रहेको घरमा २३ वर्षीय नाति सुवाससँग बस्दै आएकी थिइन् । 

‘म र मेरी बज्यै (हजुरआमा) सँगै एउटै घरमा बस्थ्यौँ । भदौ २७ गते बिहान ८/९ बजेको समयमा मैले उनलाई हँसियाले हानेको थिएँ । हँसिया प्रहारपछि रगतम्य भएकी बज्यैको कानमा रहेका २ र नाकमा रहेको १ गरी ३ वटा गहना निकालें । मेरो कपडामा पनि रगत लागेको थियो । मैलै त्यो कपडा फुकालेर शौचालयमा राखेर बजार गएँ । दिउँसो बजारमा त्यो सुन बेचेर आएपछि साँझ करिब ७ बजेतिर बज्यैको शवलाई घिसार्दै बारीमा लगे र खाल्डो खनेर पुरें,’ सुवासले प्रहरीसँगको बयानमा भनेका छन् । 

२३ बर्षीय सुवासलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउपछि सुवासका सहोदर काका देवराज जप्रेलले उनी विरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरेका छन् । सोही अनुसार अदालतबाट ७ दिन म्याद थप अनुमती लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक उपरीक्षक रुपक खड्काले बताए । 

प्रहरीले यसरी पक्राउ गर्यो सुवासलाई 

हराएकै दिन वडाअध्यक्ष समेत रहेका रामबहादुरले सबै आफन्तकहाँ सोधीखोजी गरिसकेको र घरको तेस्रो तलामा रगतका छिटा फेला पारेको भन्दै प्रहरीलाई जानकारी दिएका थिए । साथै उनले घरको बारीमा खनेको जस्तो आलो माटो समेत फेला पारेको भन्दै प्रहरीलाई बताएका थिए । 



घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी बझाङको टोली भदौ ३१ गते गाउँमा पुग्यो । प्रहरी टोलीले सुक्ष्मरुपमा घटनास्थलको अनुसन्धान गर्दा घरको तेस्रो तलामा घटना घटेको तथ्य फेला पा¥यो । साथै हत्यापश्चात शव तानेर घरको पूर्वतर्फ रहेको बारीमा लगेको प्रमाण समेत प्रहरीले फेला पारेको थियो । 

नभन्दै उक्त आलो माटो भेटिएको ठाउँमा खन्दा रीखीदेवीको शव फेला प¥यो । उक्त घटनापछि रामबहादुरका छोरा अर्थात रीखीदेवीका नाति सुवास बेपत्ता थिए । प्रहरीले उनीमाथि नै शंका गर्यो । मोबाइल लोकेसन हेर्दा सुवासको मोबाइल सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित  लौवादेव डाँडामा देखाइरहेको थियो । त्यसपछि प्रहरी टोलीले उनलाई त्यहीँबाट पक्राउ गरेको थियो । 



जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार सुवासलाई सोधपुछ गर्दा हजुरआमाले नाक र कानमा लगाएको गहना लुट्न हत्या गरेको स्वीकार गरेका छन् ।
 

  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १५:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया