कुर्था–जयनगर रेलमा झेल : छोपिएको रेल नांगियो, खिया लाग्न थाल्यो, सञ्चालनको छैन कुनै छाँटकाँट !

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा रेल सञ्चालनका लागि नेपाल सरकारले ०७७ असोज २ गते दुई सेट डेमो ट्रेन जनकपुरधाम ल्याएको थियो । 

सो रेल ल्याएको आज एक वर्ष पूरा भएको छ । तर, रेल नेपाल ल्याएको एक वर्ष बिते पनि सञ्चालनमा कहिले आउँछ भन्ने कुराको टुंगोे अझै लाग्न सकेको छैन । 

६ वर्ष लामो प्रतीक्षापछि कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन तामझामका साथ जनकपुरधाम ल्याइएको थियो । 

रेल जनकपुरधाम ल्याइएपछि यहाँका जनता खुसी भएका थिए । व्यापारीहरु उत्साहित भएका थिए । जनतासहज रुपमा यात्रा गर्न पाउनेमा खुसी थिए भने व्यापारीहरु व्यापार वृद्धि हुने आशामा उत्साहित भएका थिए । 

रेल जनकपुरधाम आएको बेला जनकपुरधाममा भीड नै लागेको थियो । रेल  जनकपुरधाम ल्याइँदा उत्साहित हजारौँ नेपाली रेल्वे स्टेसनमा जम्मा भएका थिए । कोरोना संक्रमणको त्रासकै बीच ल्याइएका नेपाली झण्डाको रंगमा रंगिएका रेल हेर्नका लागि हजारौँ मानिसको भिड जम्मा भएको थियो । सबैको मुखमा मुस्कान र अनुहारमा खुसी देखिन्थ्यो । तर, सो बेलाको खुसी केही क्षणका लागि मात्रै रहेछ भन्ने अहिले धेरैको मनमा परेको छ ।



८५ करोडको लागतमा किनिएका ती रेल सेट ट्रायलपछि धनुषाको इनर्वा स्टेसनमा त्रिपालले ढाकेर राखियो । त्रिपालले ढाकेर राखिएका रेलका पाल च्यातिँदै गए पनि सञ्चालनका लागि कुनै पहल भएको छैन । नयाँ रेलमा खिया लाग्न थाल्यो, छोपिएको रेल नांगिन थाल्यो, तर सञ्चालनको साइत अझै जुरेको छैन । 


 
गत वर्ष आजकै दिन डेढ महिनाभित्रै रेल सञ्चालनमा आउने दाबी गरिएको थियो । भारतसँग खरिद गरेर ल्याइएका ती रेल खुला आकाशमुनि नै राखिएकाले खिया लाग्न थालेको छ । यसका साथै रेल नगुड्दा ठाउँ–ठाउँमा रेल्वे लिकका क्लिपसमेत चोरी भइरहेका छन् ।



सरकारले विगत लामो समयदेखि चाँडै रेल सञ्चालन हुने भन्दै आए पनि कर्मचारी व्यवस्थापनको अभावले रेल गुड्ने मिति अझै अनिश्चित देखिन्छ । 

नेपालमा रेलमा काम गर्ने दक्ष जनशक्तिको अभाव देखिएपछि भारतमाथि नै भर पर्नुपर्ने अवस्था देखिएको भन्दै विगत लामो समयदेखि रेल सञ्चालमा झेल हुँदै आएको छ । भारतले पनि नेपाल सरकारले प्राविधिक विषय मिलाउन नसकेका कारण रेल सञ्चालनमा ढिलाइ भइरहेको जनाएको छ ।

भारत सरकारका रेलमन्त्री पियुष गोयलले नेपाल सरकारलाई रेल सञ्चालनको लागि पठाइएको जनशक्ति स्वीकृत नभएका कारण रेल सञ्चालनको समय निश्चित नभएको बताएका थिए । भारतीय जनता पार्टी बिहारबाट राज्यसभामा प्रतिनिधित्व गरिरहेका सांसद सुशीलकुमार मोदीले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गोयलले नेपाल सरकारले आवश्यक प्रक्रिया पूरा नगरेकाले रेल सञ्चालनमा ढिलाइ भएको बताएका थिए ।


उनले रेल सञ्चालनका लागि मानक परिचालन प्रक्रिया (एसओपी) तयार गरी विदेश मन्त्रालयद्वारा नेपाल रेल्वेलाई पठाइसकिएको जानकारी दिएका थिए । तर, हालसम्म नेपालबाट कुनै प्रतिक्रिया नआएकाले कहिलेदेखि सुरु हुने भने निश्चित हुन नसकेको उनले लिखित रुपमै जानकारी गराएका छन् ।

नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली केही महिनाअघि धनुषाको ढल्केवरमा एक कार्यक्रममा आएका बेला चाँडै नै रेल उद्घाटन गर्न जनकपुर आउने प्रतिबद्धता जनाएका थिए ।
 
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा रेल सञ्चालनका लागि ०७७ असोज २ गते दुई सेट डेमो ट्रेन जनकपुरधाम ल्याइएको थियो । सो रेलमा १ हजार २ सय देखि १ हजार ३ सय जनासम्म यात्रुले यात्रा गर्नसक्ने रेल विभागले जनाएको छ । नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरधामसम्म रेलसेवा सञ्चालनमा थियो ।

कुर्थाबाट जयनगरसम्म ३५ किलोमिटर रेलमार्गको निर्माण कार्य दुई वर्षअघि नै सकिएको थियो । भारत सरकारको सहयोगमा ५ अर्ब ४८ करोड भारतीय रुपैयाँको लगानीमा पूर्वाधार निर्माण भइसकेको छ भने नेपालले आफ्नै लगानीमा ८५ करोडमा १६ सय एचपीको दुई इलेक्ट्रिक इन्जनसहितको डेमो रेल किनिसकेको छ । 

यता, रेल्वेका नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले कर्मचारी अभाव, संरचना हस्तान्तरण तथा कानुन अभाव हुँदा रेल सञ्चालन रोकिएको बताए । ‘अब धेरै समय लाग्दैन, सक्दो चाँडै सञ्चालनको तयारी छ, सबै प्रक्रियापश्चात् केही दिनमै चल्छ,’ उनले भने । 

सर्वसाधारण निराश !

नेपालमा रेलको ब्रोडगेज इन्जिन आएको समाचार सुनेलगत्तै सर्वसाधारणमा उत्साह छाएको थियो । तर, एक वर्षपछि पनि रेल गुड्न नसक्दा जनतामा निराशा छाएको जनकपुरधामका स्थानीय नरेश रायले बताए । 

स्टेसन एरियामा कपडा पसल सञ्चालन गरेका व्यापारी प्रदीप साहले रेल्वे सञ्चालनमा आएपछि व्यापार बढ्ने अपेक्षा गरेका थिए । उनी विगत दुई वर्षदेखि रेल चल्ने आशामा सटर भाडा तिर्दै आएका छन् । तर, सञ्चालनको छाँटकाँट नदेखेपछि अहिले उनी निरास बनेका छन् । उनले रोजगारी सिर्जना हुने अपेक्षा पनि राखेका थिए । तर, एक वर्षसम्म पनि रेल नगुडेपछि आशा मार्न थालेका छन् ।

  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १७:८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया