१९ वर्षदेखि बाबाको अनुहार हेर्ने आशामा बसेका छोराको हातमा जब शवको बाकस पर्‌याे...

डेल्सन थापा मगर ३ वर्षको हुँदा उनको सुनौलो भविष्यको सपना बोकेर बुबा मलेसियातिर हानिए । बुबाले दुई छोरा (डेल्सन र उनका दाजु)को लालनपालन र घरपरिवारको जिम्मेवारी आमाको हातमा सुम्पिएर आफू परदेसिएका थिए । 

घरमा लागेको ऋण र उनीहरूको भविष्य बनाउने सपना बोकेर मलेसिया पुगेका लमजुङ दूधपोखरी गाउँपालिका–६ का गोविन्द थापा २० वर्षपछि घर त फर्किए, तर जिउँदो अवस्थामा होइन, शव बनेर बाकसमा । 

तीन वर्षको हुँदा बिछोडिएका कान्छो छोरा पनि अहिले २२ वर्ष लागिसके । जेठो छोरा पनि उनी मलेसिया हानिँदा जम्मा ५ वर्षका थिए । सुरुवाती दिनहरूमा मलेसियामा काम गर्दै घर परिवारसँग पनि सम्पर्क भइरहन्थ्यो । उनी धन कमाउन विदेश गएको केही महिना परिवारमा खुसी र उत्साह थपियो । उनले नियमित रूपमा पैसा घर पठाउँथे । परिवारले घरमा लागेको ऋण पनि तिर्दै गए । 

दिन–प्रतिदिन खुसीको बहार आइरहेको थियो । डेल्सन पनि बिस्तारै बढ्दै थिए । उनीहरुकी आमा पनि अब बिस्तारै राम्रा र खुसीका दिन आउने प्रतीक्षामा थिइन् । तर, उनीहरूको सपनामा तुवाँलो लाग्न थाल्यो । जति समय लम्बिँदै गयो, गोविन्द त्यति नै सम्पर्कविहीन हुँदै गए । 

पछि फेसबुकमा म्यासेज गर्दा पनि ५–६ दिनमा मात्रै रिप्लाई आउन थाल्यो । त्यसरी बिस्तारै सम्पर्कविहीन हुन थालेको लामो समय हुन थाल्यो । बुबा सम्पर्कविहीन भए पनि उनीहरू आमाको आडभरोसामा बाँचिरहेका थिए । बुबा सम्पर्कविहीन भएपछि आमा पनि बितिन् । आमाले पनि छाडेर गएपछि उनीहरू टुहुरो बने ।

१९ वर्षदेखि मलेसियाको पेनाङमा अवैध रूपमा बसिरहेका गोविन्द अन्ततः सम्पर्कमा आए । डेल्सनले बारम्बार घर आउन दबाब दिइरहे । उनको दबाबपछि गोविन्द घर फर्किन र बाँकी जीवन परिवारसँगै बिताउने सोचमा नेपाल फर्किन तयार भए । तर, दुर्भाग्य उनले नेपाली भूमि टेक्नै पाएनन् । 



यता, छोरा तथा परिवार छिट्टै बुबासँग भेट गर्ने आशामा थियो । उता, गोविन्द घर फर्किनै लाग्दा विमानस्थलमा अकस्मात् बेहोस भएर ढले । विमास्थलबाटै उनलाई तुरुन्तै अस्पताल लगियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अर्को (एम जनरल) अस्पताल रिफर गरियो । 

उनको उपचार चलिरहेको थियो । मलेसियामा रहेका विभिन्न संघ–संस्थाले उनको उपचारका लागि आर्थिक सहयोग संकलन गरिरहेकै थिए । थप उपचारका लागि उनका साथीहरूले जनउद्धार केन्द्रमा निवेदन दिए । त्यसपछि केन्द्रका पदाधिकारीले उनको निरन्तर फलोअप गरिरहे । तर, विडम्बना ! गत सेम्टेम्बर २ तारिखमा उनलाई अस्पतालले मृत घोषणा गरिदियो । 



उनको मृत्युपछि डेल्सनले बाबाको अनुहार देख्न नपाए पनि पार्थिव शरीर नेपाल पठाइदिन आग्रह गरे । बाबाको पार्थिव शरीर नेपाल ल्याउन सक्ने आर्थिक अवस्था उनीसँग थिएन । त्यसपछि उनका फुपूहरूले सहयोग गरे । मलेसियामा रहेको जनउद्धार केन्द्र मलेसियाको पहलमा पनि आर्थिक सहयोग संकलन गरियो । 

आर्थिक सहयोग संकलन त जेनतेन भयो । तर, लामो समय मलेसियामा अवैध रुपमा बसेका कारण उनको शव नेपाल पठाउन ठूलै समस्या पर्यो । पछि नेपाली दूतावासको सहयोगमा उनको शव नेपाल पठाउने वातावरण बन्यो । कानुनी प्रक्रिया पूरा गरेर उनको शव नेपाल पठाइयो । 

शव नेपाल आइपुगेसँगै शनिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । डेल्सनका दाजु पनि अहिले वैदेशिक रोजगारीका लागि दुबईमा छन् । उनले पनि सानैमा देखेका बुबाको भौतिक शरीर सधैँको लागि गुमाए । 

शनिबार गोविन्दको शवसहित अन्य पाँचजनाको शव नेपाल आइपुगेको छ । त्यस्तै, विभिन्न कारणले मृत्यु भएका र मलेसियामै सद्गद् गरिएका १५ जनाको अस्तुसमेत नेपाल आइपुगेको छ । यसअघि पनि एक साताअघि मलेसियाबाट ८ जनाको शव र १४ अस्तु नेपाल ल्याइएको थियो । 

गरिबीका कारण बिदेसिनुपर्ने बाध्यता त छँदै छ, जीवनको अन्तिम समयमा पनि परिवारको साथ नपाउँदा दैनिक कैयौँ नेपाली तड्पिी–तड्पी जीवनको अन्तिम सास फेर्न विवश छन् । जति बाँचिन्छ, आफ्नै देशमा पौरख र पसिना बगाएर परिवारसँगै शान्तिले बाँच्न पाउने अधिकार गरिबले कहिले पाउने ? 

  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १९:३५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया