देशैभर कांग्रेस महाधिवेशनको चटारो, तर सुनसान छ कोइराला निवास
फरकधार / २ असोज, २०७८

नेपाली कांग्रेसको १४ औ महाधिवेशनको रौनक सबैतिर छ । नेतृत्वमा को पुग्ने भन्ने प्रतिस्पर्धाले गाँउ नगरमा सरगर्मी बढ्दो छ  । धेरैजसो जिल्लाका वडा अधिबेशन सम्पन्न भइसकेका छन् । केहीको बाँकी छन् र गर्ने तयारी भइरहेको छ । नगरको अधिवेशन असोज ९ गतेलाई तोकिएको छ ।  



वडादेखि केन्द्रसम्म नेपाली कांग्रेसको नेतृत्व कसले गर्ने भन्ने चुनावी प्रतिस्पर्धा मात्रै चलेको छैन कांग्रेसलाई कस्तो बनाउने भन्ने नीतिगत बहस समेत भइरहेको छ । 


  
कांगेस नेता तथा कार्यकर्ताहरुको महाकुम्भ सुरु भइरहँदा नेपाली कांग्रेसको उत्पतीको थलोको रुपमा हेरिने विराटनगरको कोइराला निवास भने सुनसान छ । कुनैबेला कांग्रेस नेता तथा कार्यकर्ताहरुले तीर्थस्थलको रुपमा मान्ने कोइराला निवासमा अहिले नगर गाउँ अधिवेशनको चहल पहलको आभाससमेत हुन पाएको छैन । 

कुनै बेला मुलुककै शक्ति केन्द्रको रुपमा परिचित कोइराला निवासबाट आन्दोलन र परिवर्तनको नेतृत्व भएको थियो । २००७ साल, २०३६ साल र २०६२–६३ को आन्दोलनको नेतृत्व प्रदान गरेको कोइराला निवासमा कांग्रेस महाधिबेसन लागेको संकेत समेत पाइँदैन । 



राणाविरोधी आन्दोलनको जग बसालेका पिताजी (कृष्णप्रसाद कोइरालालाई सबैैले पिताजी भन्ने गरेका)का कारण मात्रै होइन, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइरालाको निवास पनि भएका कारण यस घरसँग कांग्रेसको खास सम्बन्ध देखिन्छ । 

तर, कांग्रेसको नेतृत्व परिवर्तनको महत्वपूर्ण यस घडीमा कोइराला निवास हेरालुको जिम्मामा छ । यहाँ न पार्टीका  कार्यकर्ता पुगेका छन् न त नेताहरु नै । कोइराला परिवारका सदस्यले कोइराला निवास नटेकेकै महिनौँ बितेको छ । 

कोइराला निवासमा अहिले नियमित कामबाहेक अरु केही भएको छैन । गाई र गोठको हेरचाह, सरसफाइ, करेसाबारीको रेखदेखमै  सीमित छ, कोइराला निवास । 

निवासमा हेरालुको रुपमा सानै उमेरदेखि बसेका लक्ष्मी सुवेदी र पाना उराँवको परिवार छ । कोइराला निवासको सुरक्षामा खटिएका महानगरका चारजना रक्षक पनि निवासमा नियमित रुपमा जान्छन् ।
 
डा. शेखर कोइराला र हिमांशु कोइराला अहिले कोइराला निवासका मालिक हुन्  । दाजुभाइका बीचमा अंशबण्डा हुँदा शेखर कोइराला र निरुदा (निरञ्जन कोइराला)को भागमा मूल निवास परेको छ । 

निरुदाको मृत्यु भएको र उनका छोरा हिमांशु दिल्लीमा बस्ने गरेकाले घरको संरक्षण डा. शेखरकै जिम्मामा छ । हिमांशुको आउजाउ पातलो छ  ।

महाधिवेशनमा सभापतिको दाबेदारी गरिरहेका डा. शेखर कोइरालासमेत एक महिनायता निवासमा पुगेका छैनन् । कोइराला निवासको रेखदेखमा रहेकी लक्ष्मी सुवेदीले एक महिनायता डा. शेखर कोइराला निवासमा नआएको बताइन् । उनका अनुसार प्रदेश १ मा आएका बेला डा. शेखर निवासमै बस्ने गरेका छन् ।
 
लक्ष्मीले भनिन्,‘शेखरदा एक महिनायता प्रदेश १ मै आउनुभएको छैन, त्यही भएर निवास पनि आउनुभएको छैन ।’ डा. शेखर नआँउदा कांग्रेस नेता तथा कार्यकर्तासमेत निवासमा आएका छैनन् । सुवेदीले थपिन् ‘कोइराला परिवारका सदस्य नै नभएका कारण चहलपहल नभएको हो ।’

कोइराला परिवारका सदस्य आए भने चहल पहल हुने उनीहको विश्वास छ । लक्ष्मीका अनुसार डा. शेखर कोइराला आएको बेला बैठक भेटघाट भइरहन्छ । बिहानैदेखि मानिसहरुको चहलपहल हुन्छ । रातिसम्म पनि मानिसहरु आउने–जाने गरिरहन्छन् ।
 
डा. शेखरको परिवार काठमाडौंमा बसेका कारण कोइरालानिवासमा रौनक हराएको हो । त्यसो त गिरिजाप्रसाद कोइरालाको मृत्यु भएपछि नै कोइराला निवासको रौनक हराएको ठान्छिन्, लक्ष्मी । 

‘सान्दाइ (गिरिजाप्रसाद कोइराला) स्वर्गीय भएपछि नै चहलपहल कम हुँदै गएको छ,’ उनले भनिन्, ‘पहिलेजस्तो त कहाँ छ र ?’ कोइराला निवासको रौनक फर्काउन डा. शेखर कोइराला लाग्नुपर्ने उनको बुझाइ छ । उनले सुनाइन्, ‘कोसिस गर्दै हुनुहुन्छ, अहिले पनि दुःख गर्दै हुनुहुन्छ ।’

१२ वर्षको उमेरदेखि कोइराला परिवारको चहल पहल हेर्दै हुर्केकी हुन्, लक्ष्मी । मुलुकमा भएको राजनीतिक परिवर्तन, कोइराला निवास र कोइराला परिवारको भूमिका नजिकबाट नियाल्ने मौका पाएकी छन्, लक्ष्मीले ।

यस्तो छ कोइराला निवास 

विराटनगरको कोसी अस्पतालको विपरीत पश्चिमपट्टि कोइराला निवास छ । कोइराला निवास  निर्माण भएको एक सय वर्षभन्दा बढी भएको छ । कृष्णप्रसाद कोइरालाले यो घर बनाएका हुन् ।
 
काठ, बाँस, माटो र टिनको छानोबाट बनेको यो घर अहिले पनि पुरानै हालतमा संरक्षणको प्रयास गरिएको छ । उत्तरतिर भने पुरानो घरसँगै जोडेर पक्की दुई तल्ले घर पछि बनाइएको हो । 

यही घरको पहिलो तल्लामा गिरिजाप्रसाद कोइराला सुत्ने गरेका थिए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सुत्ने कोठा, उनले प्रयोग गरेका सामन अहिले पनि जस्ताको जस्तै छ । 

गिरिजाप्रसाद कोइराला सुत्ने कोठामा दुईवटा पलङ छन् । तीमध्ये गिरिजाप्रसाद कोइराला सुत्ने सानो पलङमा कोही पनि सुत्दैनन् ।
 
निवास आएका बेला कहिलेकाहीँ दिउँसोमा डा. शेखरले अर्को पलङमा आराम गर्ने गरेको लक्ष्मी बताउँछिन् । 

डा. शेखरकी आमा नोना कोइरालाले पक्की  घर बनाएको  लक्ष्मी सम्झन्छिन् । उनले थपिन्, ‘यो घर बनाएको पनि जुग भइसकेको छ ।’ 

गिरिजाप्रसाद सुत्ने कोठासँगै बैठक कोठा छ । बैठक कोठामा गिरिजाप्रसादले प्रयोग गर्ने सर–सामान छ । कोही हेर्न र अवलोकन गर्न आए संग्रहालयको रुपमा देखाउने गरिएको छ  । तर, फोटो खिच्न मनाही छ ।


 
बैठक कोठाअगाडि बार्दली छ । यही बार्दलीमा बसेर गिरिजाप्रसाद कोइरालाले औपचारिक बैठक र पत्रकारसँग कुराकानी गर्ने गरेका थिए ।

गोप्य गर्नुपरेमा बैठक कोठाको प्रयोग गरिने गरेको थियो । बार्दलीमा अहिले पनि पुराना काठका कुर्सीहरु नै राखिएका छन् । 
कृष्णप्रसाद कोइरालाले सय वर्षभन्दा अघि बनाएको काठको घर, टिनको छानो र बाँसका भित्तामा माटो लेपन गरिएकाले पुरानो घरलाई जोगाउन निकै मिहिनेत गर्नुपरेको छ ।

धमिराबाट जोगाउन घरलाई हरेक दुई वर्षमा मर्मतसम्हार गर्दै आइएको छ । भुइँतल्लामा सिमेन्ट प्रयोग गरेर ढलान गरिएको छ । माथिल्लो तल्लामा अहिले पनि माटो नै छ । जुन घरले परिवर्तनका बाटो देखायो, राणाविरोधी आन्दोलनको सुुरुवात गर्यो, अहिले परिवर्तनपछि घर सुनसान छ । 

कृष्णप्रसाद कोइरालाले फाटेको भोटो यही घरबाट प्रधानमन्त्री चन्द्रशमशेरलाई पठाएका थिए । फाटेको भोटो प्रतीकात्मक रुपमा पठाएर भोका नांगाहरुको पक्षमा राणा शासन नभएको कृष्णप्रसाद सन्देश थियो । 

कृष्णप्रसादले बनाएको यही घर अर्थात् कोइराला निवासले नेपालको राजनीतिक व्यवस्था र प्रणालीको बाटो डोहोर्याएको मान्छन्, धेरै । 

बिपीले सात सालको क्रान्ति यही घरबाट सम्पन्न गरे भने २०१५ को पहिलो आमनिर्वाचनमा बिपी यही क्षेत्रबाट विजयी भएका थिए । 

यही घरमा बसेर निर्वाचन लडेका बिपी निर्वाचन जित्दै मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । ०३७ को जनमत संग्रहमा पनि कोइराला निवासबाट नै योजना बनेका थिए ।


  
जनआन्दोलन २०४६ र दोस्रो जनआन्दोलन २०६२–६३ मा पनि कोइराला निवासको योगदान नेतृत्वदायी थियो । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला काठमाडौंमा तनाव भएपछि विराटनगरस्थित कोइराला निवास नै आउने गर्थे । उनले महत्वपूर्ण घोषणा कोइराला निवासबाट गर्ने गर्थे । 

अधिकांश जग्गा बिक्री 

कोइराला निवासको जग्गा कोइराला परिवारका सदस्यहरुले बिक्री वितरण गरेका छन् । कोइराला निवासको जग्गा मातृका, बिपी, केशव, तारिणी र गिरिजाले आठ कठ्ठाका दरले पाएका थिए । 

तीमध्ये केशव र गिरिजाको भागमा परेको जग्गा मात्रै अहिले कोइराला परिवारको स्वमित्वमा छ । विराटनगरको मुटुमा रहेको अन्य जग्गामा ठूला–ठूला घर र व्यापारीक प्रतिष्ठान बनेका छन् । 

बिपीका छोराहरु प्रकाश, शशांक र श्रीहर्षले बिपीबाट उनीहरुमा सरेको जग्गाको स्वमित्व बिक्री वितरण गरेका छन् । मातृकाको भागमा परेको कोइराला निवासको जग्गा अहिले एक टुक्रा पनि कोइराला परिवारको नाममा छैन । 

मातृकाका विमल, कमल, विजु, अजु र सञ्जय गरी पाँच भाइ छोरा भए । उनका सुनिता र कविता दुई छोरी छन् ।
 
साहिँला केशवका शेखर र निरञ्जन दुई छोरा र एक छोरी चेतना छन् । उनीहरुले कोइराला निवासको जग्गा बेचेका छैनन् । 

तारिणीका छोरा ज्योतिले पनि धेरैजसो जग्गा बेचेका छन् भने अलिकति मात्रै उनको स्वामित्वमा रहेको कोइराला निवाससँग जानकारहरु बताउँछन् ।
 
गिरिजाप्रसादकी छोरी सुजाताले भने जग्गा बेचेकी छैनन् । उनले कोइराला निवासको ४ कठ्ठा जग्गा जिपी कोइराला फाउन्डेसनलाई दिएकी छन् । फाउन्डेसनको नाममा घर बनिसकेको छ भने गिरिजाप्रसाद कोइराला संग्रहालय पनि निवाससँगै बन्दै गरेको जिपी कोइराला फाउन्डेसन मोरङका सभापति कौशल निरौलाले बताए । 

जग्गा बेचिएकोमा भावुक हुन्थे गिरिजा
 
नेपाली राजनीतिमा नोना कोइरालाको परिचय कोइराला परिवारसँग मात्रै जोडिँदैन । उनी सक्रिय राजनीतिमा थिइन् । तर, राजनीतिमा लागेका परिवारको व्यवस्थापन गर्न घर चलाउने जिम्मा नोनाकै थियो ।
 
पुरुषहरु सबै राजनतिमा लागेका र पटक–पटक सत्ताले दुस्मन ठानेका कारण कोइराला निवासको व्यवस्थापन नोना कोइरालाको काँधमा थियो । 

पिताजीकी साहिँली बुहारी नोनालाई त्यसैले सबैले ‘नोना आमा’ भनेर चिन्छन् । कोइराला निवाससँग नजिकको सम्बन्ध बनाएका विराटनगरका मेयर भीम पराजुली कोइराला परिवारलाई राजनीतिको यो उचाँइमा पुर्याउन नोना आमाको योगदान अविस्मरणीय रहेको सम्झन्छन् । 

उनै नोना कोइरालाले निवासको जग्गा नबेच्न र राष्ट्रियकरण गरेर निवासलाई संग्रहालय बनाउनुपर्ने आग्रह गरेकी थिइन् । जीवनको उत्तराद्र्धमा नोनाले गरेको आग्रहलाई कसैले वास्ता गरेनन् । २०६३ माघमा नोनाको निधन भयो । यसपछि कोइराला निवासलाई राष्ट्रिय संग्रहालय बनाउने योजनामा कोही लागेन । 

तर, नोनाको भावनाविपरीत कोइराला परिवारका सदस्यले आ–आफ्नो भागको जग्गा बेचे । कांग्रेस कार्यकर्ताले जग्गा बेचेकोमा  विरोध गरे । तर, जग्गा बेच्ने निर्णय फिर्ता भएन । यसपछि २०६६ सालको दशैँमा विराटनगर आएका बेला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासमक्ष कांग्रेस कार्यकर्ताले निवासको जमिन बिक्री र निवासको अस्तित्वका बारेमा धेरै प्रश्न उठाएका थिए । 

कार्यकर्ताको भावना देखेर गिरिजा पनि भावुक हुँदै भनेका थिए, ‘अब म फर्केर विराटनगर आउँदिनँ । खोटो कोइराला निवास हेर्न सक्दिनँ ।’ 

यति बोलेर सोझै विमानस्थल पुगेका कोइराला साँच्चै विराटनगर फर्किएनन्, उनको निधन त्यही सालको चैतमा काठमाडौंमा भयो।

आफैँ–आफैँमा प्रतिस्पर्धा 

पिताजीका नाति–नातीना अहिले कांग्रेसको सक्रिय राजनीतिमा छन् । बिपी पुत्र डा. शशांक कोइराला कांग्रेस महामन्त्री छन् । उनी यसपटकको अधिवेशनमा सभापतिको दाबेदारी गरिरहेका छन् । 

यसैगरी, साहिँला केशवका पुत्र शेखर कोइराला पनि यसपटकको अधिवेशनमा सभापतिको दौडमा छन् ।
 
गिरिजापुत्री सुजाता कोइराला पनि कांग्रेसको राजनीतिमा सक्रिय छिन् । यसैगरी बिपी पुत्र प्रकाश कोइराला पनि राजनीतिमै छन् । प्रकाशका छोरा सिद्धार्थ पनि कांग्रेसको राजनीतिमा छन् । 

तर, परिवारका सदस्यबीचमै कुरा नमिल्दा कांग्रेसको राजनीतिमा कोइराला परिवारको वर्चस्व गुम्दै गएको छ । 

कांग्रेस स्थापनादेखि कोइराला परिवारको वरिपरि घुमेको कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाको निधन भएपछि कोइराला परिवारभन्दा बाहिर गएको छ । 

  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार २०:३४:२३,   अन्तिम अपडेट : असोज २, २०७८ शनिबार २०:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया